धुलियाविट–भेडाबारी सडक

ठेक्का सम्झौताको म्याद थप्ने तयारी

कर्णालीका पहुँचमार्ग–९


 

 

सुर्खेत: मदन भण्डारी राजमार्गअन्तर्गत सुर्खेतको धुलियाविट–भेडाबारी सडकको सम्झौता अवधि सकिन एक महिना मात्रै बाँकी छ । जबकी सम्झौताअनुसार सडकको काम सम्पन्न गर्न भने अझै ४५ प्रतिशत बाँकी नै छ ।

आउँदो पुस १३ गते ठेक्काको सम्झौता सकिँदै छ । तर हालसम्मको प्रगति ज्यादै न्यून छ । दुई वर्षभित्र निर्माण गर्ने गरी २०७८ असार २८ गतेदेखि योजना सुरु भएको थियो । अहिलेसम्म ५५ प्रतिशत मात्र कार्यप्रगति भएको देखिन्छ । वित्तीय प्रगति ४८ प्रतिशत हासिल भएको छ ।

धुलियाविट–भेडाबारी ३५ किलोमिटर सडक स्तरोन्नतिका लागि एक अर्ब ९४ करोड ८४ लाख २३ हजार ६ सय रूपैयाँ लागत अनुुमान गरिएको छ । ठेक्का सम्झौता भने एक अर्ब तीन करोड २३ लाख ७८ हजारमा भएको छ । लागत अनुुमानभन्दा ४१ प्रतिशत कममा निर्माण कम्पनीसँग सम्झौता भएको हो । निर्माणको जिम्मा कालिका के एस बेदान्सी जेभी कैलालीले लिएको छ । अहिलेसम्म ४७ करोड बजेट मात्र खर्च भएको मदन भण्डारी राजमार्ग कार्यालय सुर्खेतले जनाएको छ ।

यो दुई वर्षमा साढे पाँच किलोमिटर सडक मात्र कालोपत्रे भएको छ । २९ किलोमिटर सडक कालोपत्रे गर्न बाँकी छ । एक किलोमिटर सडक कालोपत्रेका लागि तयार पारिएको, दुई किलोमिटरमा वेस निर्माण गरिएको, पाँच किलोमिटरमा सव–वेस निर्माणको काम सम्पन्न भएको राजमार्ग कार्यालयले जनाएको छ । अहिले सडकमा वेस र सव–वेसको काम भइरहेको कार्यालयका इन्जिनियर रामसागर हरिजनले जानकारी दिए । जनशक्ति परिचालन गरेर हुने नाला, पर्खाल, कल्भर्टजस्ता कामहरू सकिएर अब कालोपत्रे लगायतका काम गर्न मेशिनरी उपकरण प्रयोग हुने कामहरू बाँकी रहेको उनले जनाए ।

तोकिएकै मितिमा काम सम्पन्न नहुने भएपछि मदन भण्डारी राजमार्ग योजना कार्यालय सुर्खेतले म्याद थप गर्ने तयारी समेत गरेको छ । अझै डेढ वर्ष म्याद थप गर्ने मनसायमा कार्यालय रहेको छ । कार्यालयका इन्जिनियर हरिजनले काम सम्पन्न गर्न अझै एक वर्ष लाग्ने बताए । उनले भने, ‘सम्झौताको म्याद सकिन एक महिना मात्र बाँकी छ । ४५ प्रतिशत काम बाँकी रहेकाले म्याद थप गर्न लागिएको हो ।’

पछिल्लो समय सडक निर्माणको काम भने धमाधम अघि बढेको उनको भनाइ छ । बोटेचौरदेखि चिङ्गाडसम्मको करिब २५ किलोमिटर सडकखण्डको स्टक्चरको काम ९५ प्रतिशत सकिएको छ । उक्त खण्डमा ८५ प्रतिशत ग्रावेलको काम सम्पन्न भएको छ । ‘अब मेसिनको काम मात्र बाँकी छ,’ उनले भने, ‘राजमार्गमा कालोपत्रे भइरहेको सडक दुई लेनको बन्नेछ । अहिले औषत चार मिटर चौडाइ रहेको सडकलाई स्तरोन्नति गरेर नौ मिटर बनाउन लागिएको हो ।’

सडक क्षेत्रमा पर्ने रुख कटानको काम भने अन्तिम चरणमा पुगेको आयोजनाले जनाएको छ । केही ठाउँमा रुख कटानको काम सकिएलगत्तै निर्माणको थालिएको आयोजनाका इन्जिनियर हरिजनले जानकारी दिए । सुर्खेत र गुर्भाकोट खण्ड तथा लेकवेशी खण्डमा रुख कटानको काम सकिएको छ । अहिले रुख कटान सकिएका ठाउँमा निर्माणका काम भइरहेको उनको भनाइ छ । आयोजनाको आधा क्षेत्र जंगल पर्ने भएकाले अहिले रुख कटानसँगसँगै निर्माणको काम थालिएको हो ।

स्तरोन्नति भइरहेको सडक खण्डले पूर्वी सुर्खेतका मुख्य व्यापारिक केन्द्रहरूलाई जोेड्छ । यस क्षेत्रमा वीरेन्द्रनगर, लेकवेशी र गुुर्भाकोट नगरपालिकाका भू–भाग पर्दछन् । राजमार्ग अन्तर्गत ३५ किलोमिटर क्षेत्र पूर्वी सुर्खेतमा रहेको छ । पहिल्यै बनेका सडकलाई जोडेर स्तरोन्नतिको काम भइरहेको हो ।

नेपालका पूर्व–पश्चिम जोड्ने राजमार्गहरूमध्ये मदन भण्डारी राजमार्गलाई चौथो राजमार्गका रूपमा घोषणा गरिएको छ । यो राजमार्गले एक हजार दुई सय किलोमिटरमा पूर्व–पश्चिम जोड्ने छ । विभिन्न दश वटा टुक्रे सडकलाई एकीकृत गरी पूर्वदेखि पश्चिमसम्म पु¥याउने गरी मदन भण्डारी राजमार्ग बनाइएको हो ।

 

प्रकाशित मितिः   १७ मंसिर २०८०, आईतवार १२:११