मदन भण्डारी राजमार्ग

बड्डीचौर–खम्बागाडे सडकमा ढिलाइ

कर्णालीका पहुँचमार्ग–८


 

सुर्खेत: मदन भण्डारी राजमार्ग अन्तर्गत पश्चिम सुर्खेतको बड्डीचौर–खब्बागाडे खण्डको कामले गति पाउन सकेको छैन । समयमा निर्माण नहुँदा सर्वसाधारणले सास्ती खेप्न परेको छ । ठाउँ–ठाउँमा जीर्ण सडकलाई निर्माण कम्पनीले फोडेर ग्राभेल गरेपछि सर्वसाधारणले झनै सास्ती खेप्न परेको चौकुने गाउँपालिका वडा नं. २ की सिता विकले गुनासो गरिन् । उनले भनिन्, ‘बाटोमा पैदल हिँड्डूल गर्न समस्या भइरहेको छ । सडक निर्माणले सहज नभइ सास्ती हुनेगरेको हो । सडकमा कहिले हिलो हुन्छ, भने कहिले धुलो हुन्छ ।’

हालसम्म उक्त सडक खण्डको १८ प्रतिशत मात्र भौतिक प्रगति भएको छ । वित्तीय प्रगति १३ प्रतिशत हासिल भएको छ । साढे १२ किलोमिटरमा सडक खण्डका लागि प्रदेश सरकारले ४२ करोड बजेट विनियोजन गरेको छ । उक्त खण्डमा अनक जयदेवी जेभी बाँकेले ४२ करोड ४७ लाख ६१ हजार रूपैयाँमा प्रदेश सरकारको पूर्वाधार विकास निर्देशनालयसँग सम्झौता गरेको हो । २०७९ देखि काम सुरु भएको थियो । २०८१ असार १५ गतेसम्म काम सम्पन्न गर्नुपर्नेछ । हालसम्म कामको प्रगति निकै न्यून छ । सम्झौता अवधि सकिन केही समय मात्र बाँकी रहँदा ८२ प्रतिशत काम गर्न बाँकी नै छ । अहिले सम्म साढे दुई करोड बजेट मात्र खर्च भएको छ ।

हाल उक्त खण्डमा बाटो फराकिलो बनाउने, नाला निर्माण, ग्याबिन, कल्भर्टलगायतका काम भइरहेको पूर्वाधार विकास निर्देशनालयका इन्जिनियर हरिशर्मा धितालले जानकारी दिए । उनका अनुसार लक्ष्य अनुसार काम अघि बढ्न सकेको छैन । यो सडक खण्डमा सात किलोमिटर जंगल क्षेत्र परेको छ । रूख कटानको अनुमति नआएकाले उक्त क्षेत्रमा काम गर्न नसकिएको शर्माले बताए । ‘रूख कटानको अनुमति नहुँदा काम गतिमा अघि बढ्न सकेको छैन,’ उनले भने, ‘सात किलोमिटर क्षेत्रमा पर्ने आठ सय रुखमा टाँचा लगाएका छौँ । अहिले उक्त खण्डमा काम नै सुरु भएको छैन ।’ समयमा रूख कटान आदेश नभएर काममा ढिलाइ भइरहेको उनको भनाइ छ । यहि गतिमा काम भए निर्माण अवधि थप दुई वर्ष पर धकेलिने निर्देशनालयको अनुमान रहेको छ ।

मदन भण्डारी राजमार्ग अन्तर्गत पश्चिम सुर्खेतको ४५ किलोमिटरको सडकलाई तीन खण्डमध्ये दुई वटा खण्डमा काम भइरहेको छ । जसमध्ये दुई वटा खण्डमा काम भइरहेको हो । सम्झौताअनुसारकै समयावधिभित्र निर्माण सम्पन्न गर्ने गरी बड्डीचौर–खम्बागाडे र विद्यापुर–बल्दे सडक खण्ड निर्माणको काम अघि बढाइएको हो ।

विद्यापुर–बल्दे सडक खण्डमा अहिले बाटो कटिङ्क, स्टक्चर निर्माणको काम धमाधम भइरहेको छ । २२ किलोमिटर सडक खण्ड निर्माणका लागि एक अर्ब २१ करोड रूपैयाँमा काम सम्पन्न गर्नेगरी बानियाँ मोतिदान डि.एस. जेभी काठमाडौंले ठेक्का सम्झौता गरेको छ । सम्झौताअनुसार २०७९ फागुन १७ गतेदेखि सुरु भएको काम २०८२ फागुन १६ गतेसम्म सम्पन्न गरिसक्नुपर्नेछ । अहिलेसम्म कामको १२ प्रतिशत भौतिक प्रगति भएको छ भने दश प्रतिशत वित्तीय प्रगति भएको छ ।

राजमार्गको जंगल क्षेत्रमा पर्ने रुख कटानका लागि अनुमति आइसकेको मदन भण्डारी राजमार्ग योजना कार्यालय सुर्खेतले जनाएको छ । यो सडकखण्डमा आधाभन्दा बढी जंगल क्षेत्र परेको कार्यालयका इन्जिनियर रामसागर हरिजनले बताए । उनले भने, ‘क्याविनेटबाट रुख कटानको आदेश आएपनि वनबाट अनुमति नहुँदा रुख कटानको काम सुरु भएको छैन । अन्य काम धमाधम भइरहेका छन् ।’

सडक आयोजना अन्तर्गत ट्रयाक खोल्ने र चौडा बनाउने काम भइरहेको उनले जानकारी दिए । उनका अनुसार जनशक्ति परिचालन गरेर हुने नाला, पर्खाल, कल्भर्टजस्ता काम धमाधम चलिरहेका छन् ।

दुई वटा खण्डको काम भइरहे पनि राजमार्ग अन्तर्गत खम्बागाडे–विद्यापुर सडक खण्डको काम भने अघि बढ्न सकेको छैन । उक्त खण्डमा कामको सम्झौतासमेत भएको छैन । सो क्षेत्रमा पनि रुख कटानको अनुमति भने आइसकेको छ । राजमार्गको तीन वटा सडक खण्डमध्ये दुई वटा खण्ड मदन भण्डारी राजमार्गले गर्नेछ । त्यस मध्येको खम्बागाडे–विद्यापुर सडक खण्डको दश किलोमिटरको काम सञ्चालन भएको छैन । सम्झौताको प्रक्रिया अघि बढेको कार्यालयले जानकारी दिएको छ ।

 

प्रकाशित मितिः   १६ मंसिर २०८०, शनिबार ०५:०५