टिकटक खतराको घण्टी थियो ?
टिकटक एक चाइनिज ‘भिडियो सेयरिङ्ग’ एप हो । सन् २०१६ मा सुरुवात भएको टिकटकका संस्थापक जाङ्ग यीमीङ हुन् । उनले चीनमा बाइट डान्स भन्ने इन्टरनेट टेक्नोलोजी कम्पनी स्थापना गरेका छन् । यसको स्थापना सन् २०१२ मा भएको थियो ।
बढ्दो विज्ञान र प्र्रविधिलाई मानव सभ्यताको चुनौती र वरदानको रूपमा लिन सकिन्छ । समय यस्तो आइसक्यो, विज्ञान र प्रविधिले निमेषभरमै संसारभरमा चलिरहेका घटनालाई आँखा अगाडी ल्याएर राखिदिन्छ । प्रविधिले हामीलाई आफूले नजानेका कुराहरूलाई जान्नका लागि सहयोग गरिरहेको छ । विज्ञान र प्रविधि यति उन्नत भयो कि अहिलेको समयलाई ‘एआई’ अर्थात् आर्टिफिसियल इन्टिलिजेन्सको युग भनिन्छ । एआईले टेक्निकल कामहरू यति छिटो सम्पन्न गर्छ कि यो देखेर यसको निर्माण गर्ने वैज्ञानिक पनि ए आईलाई भविष्यको चुनौती मान्न थालेका छन् ।
के हो आर्टिफिसियल इन्टेलिजेन्स ?
आर्टिफिसियल इन्टेलिजेन्स भनेको मानिस र जनावरमा हुने प्राकृतिक इन्टेलिजेन्स जस्तो नभई मेसिनले प्रदर्शन गर्ने इन्टेलिजेन्स हो । यसले मानिसको हस्तक्षेप विना मेसिनलाई सोच्न सक्ने बनाउँछ । यसरी मेसिनले आफैं निर्णय लिन सक्छ । च्याट जिपिटी त्यसको ज्वलन्त उदाहरण हो । मानिसले दिएको सामान्य निर्देशनमा आर्टिफिसियल इन्टेलिजेन्सले मानिसले सोचेभन्दा उन्नत प्रदर्शन गर्दछ ।
केही समय अगाडि हामी आर्टिफिसियल इन्टेलिजेन्स भन्नाले विकसित देशहरू रोबोट हुन्छन् । तिनी रोबोटहरूले यसरी यसरी काम गर्दछन् भनेर देखेको वा सुनेको मात्र थियौं । तर, अहिलेको समयमा आर्टिफिसियल इन्टेलिजेन्स भन्नाले रोबोट मात्र नभइ पुरै टेक्नोलोजीको दुनियाँ नै समेटिएको छ ।
रोबोटकै उदाहरण हेर्ने हो भने पनि केही समय अगाडी नेपाल आएकी रोबोट सोफिया आर्टिफिसियल इन्टेलिजेन्सको राम्रो उदाहरण हुन् । उनले मानिस जस्तै बोल्न, दोहोरो कुरा गर्न, वस्तु पहिचान गर्न र मानिसले जस्तै दिमाग खियाउने किसिमका उत्तर दिन सक्छिन् ।
वास्तवमा आर्टिफिसियल इन्टेलिजेन्सको प्रयोग हाम्रो दैनिकी बनेको छ । हामीले दैनिक प्रयोग गर्ने गुगल म्याप, वर्षाैदेखि गुगलले प्रश्न सोध्न बित्तिकै दिँदै आएको उत्तर, हामीलाई मनपर्ने सामानहरू हामीले प्रयोग गर्ने सोसल साइटमा अगाडी देखिनु यिनी सबै आर्टिफिसियल इन्टेलिजेन्सका कमाल हुन् । अहिले त विकसित देशहरूमा चालक बिना नै गाडी एक ठाउँबाट अर्काे ठाउँ सजिलै यात्रुहरूलाई लगेर जान सक्छ ।
यदि आर्टिफिसियल इन्टेलिजेन्सको परिभाषालाई अझै सरल बनाउने हो भने मानिसमा भएको इन्टेलिजेन्सलाई प्रोग्रामिङ मार्फत मेसिनमा नक्कल गरिसकेपछि जब यसले मानिसले जस्तै सोच्न र क्रियाकलाप गर्न थाल्छ, त्यसलाई नै आर्टिफिसियल इन्टेलिजेन्स भनिन्छ ।
आर्टिफिसियल इन्टेलिजेन्समा कुनै मानविय संवेग र संवेदनाहरू हुँदैनन् । यो एउटा कम्प्युटर विज्ञानको हाँगा मात्र हो । तर, यो जसको दैनिक जीवनमा प्रयोगमा आइरहेको छ, यसको लागि सबथोक अर्थात् वरदान पनि साबित भएको हुनसक्छ ।
केही महिना अगाडिको कुरा हो दक्षिण भारतिय नायिक रस्मीका मन्दनाको एउटा भिडियो सामाजिक सञ्जालमा भाइरल भयो । उनको जताततै आलोचना हुन थाल्यो । केही हप्ता उक्त भिडियो सामाजिक सञ्जालमा धेरै हेरिने र शेयर गरिने भिडियो बन्यो । अन्तिममा उक्त भिडियो ‘डिपफेक’ हो भन्ने पत्ता लाग्यो । डिपफेकको मतलब हो, अन्य कुनै दोस्रो व्यक्तिको अनुहारमा पहिलो व्यक्तिको अनुहार दुरुस्तै हुने गरि राख्नु । यो पनि आर्टिफिसियल इन्टेलिजेन्सको प्रयोग गरेर बनाईएको थियो । त्यसैले पछिल्लो समय प्रविधिले जति रातारता फड्को मारिरहेको छ । त्यति नै हामी सचेत र जागरुक हुन आवश्यक देखिन्छ ।
यसबाट के थाहा हुन्छ भने प्रविधिको विकास आजका दिनसम्म जति भएको छ यो आश्चर्यजनक छ नै सँगसँगै भविष्यमा यसले मानिसलाई झन आश्चर्यचकित पार्नेछ ।
विकसित देशमा विज्ञान र प्रविधिको विकास चरम चुलीमा पुगेको छ । उनीहरू घण्टौ लाग्ने काम केही मिनेटमा सम्पन्न गरेर बढी उत्पादनशील भएका छन् । तर, हाम्रो देशमा जहाँ सामाजिक सञ्जालको प्रयोग दुरूपयोगका बारेमा भर्खर थाहा हुँदैछ । यस्तो देशमा जुन प्ल्याटफर्मबाट सुचना छिटो भन्दा छिटो प्राप्त हुन्छ । उक्त प्ल्याटफर्म टिकटक बन्द गर्ने सरकारको निर्णय उपयुक्त हुन सक्दैन । सरकारले सामाजिक सञ्जालका प्ल्याटफर्ममा विकृती फैलिएको देखेमा त्यसको नियमनका बारेमा सोच्ने हो । काम गर्ने हो ।
टिकटक बन्द हुनुको पछाडी राजनीति गर्नेहरू सरकारले यसमा पनि राजनीति हुन लागेर बन्द गरेको हो भन्छन् भने सामान्य नागरिकहरू यो अभिव्यक्ति स्वतन्त्रता माथिको लगाम हो भन्छन् । सबैले आफूलाई लागे र बुझे जतिको मत दिने त हो नि, यहाँ पनि ठ्याक्कै त्यस्तै भएको छ । टिकटक बन्द भएको सम्बन्धमा वकिलहरूले अदालतमा रिट हाले । त्यसको परिणाम अदालतले सरकारको निर्णय नै सहि भनेर सदर गर्याे ।
नेपाल सरकारले सामाजिक सद्भाव र वातावरणमा खलल पुर्याउन भूमिका खेलेको भन्दै टिकटक बन्द गर्ने निर्णय गरेको थियो । तर, टिकटक ‘ब्यान’ हुनुका फाईदा र बेफाईदा दुबै छन् । यसलाई सरकारले नियमनको पाटोमा जोड दिएको भए राम्रो हुन्थ्यो भन्ने धेरैको तर्क छ ।
अहिलेसम्म सामाजिक सञ्जालको लोकप्रिय माध्यम टिकटक ब्यान गर्ने देशहरू अफगानस्तान, अष्ट्रेलिया, बेल्जियम, क्यानडा, डेनमार्क, ईयू, फ्रान्स, भारत, लाट्भिया, द नेदरल्यान्ड्स, न्यूजिल्यान्ड, नर्वे, पाकिस्तान, ताइवान, यूके र अमेरिकामा टिकटक माथि आंशिक वा पूर्ण प्रतिबन्ध लगाइएको छ ।
पछिल्लो समयमा टिकटक लाइभमा बसेर आफ्नो वस्त्रहरू खोल्ने, रातभरी पानीमा बस्ने, रातभरी बाहिर सुत्ने, लाईभमा अनावश्यक पनिष्मेन्टहरू दिने जस्ता क्रियाकलापहरू भईरहेका थिए । र, विगत लामो समय देखि टिकटकमा भाईरल हुनका लागि जथाभावी बोल्ने एउटा संस्कार जस्तै बन्न गएको थियो । त्यसैले पनि यो कतै न कतै नियन्त्रण बाहिर जानसक्छ भन्ने आकलन गरेर नेपाल सरकारले यस्तो निर्णय गरेको हुनुपर्छ ।
नेपालमा टिकटक ब्यान भएपछि विभिन्न तरिकाहरू अपनाएर अझै कतिपयले टिकटक चलाइरहेका छन् । आफ्नो व्यवसायका बारेमा विज्ञापन गरिरहेका छन् । धेरै टिकटक क्रियटर छन्, जसले अझै पनि निरन्तरता दिइरहेका छन् । यसको अर्थ हो, बन्द भन्दैमा सबै नरोकिने रहेछन् । कतिपयले टिकटकबाट राम्रो आर्थिक आम्दानी गरिरहेका छन् । उनीहरूका लागि टिकटक आम्दानीको एउटा माध्यम बनेको थियो ।
टिकटक ब्यान भएपछि टिकटक जस्तै एउटा नेपाली एप ‘रमाइलो’ सार्वजनिक भयो । यत्तिको दिमाग चलाउन सक्ने नेपालीहरूले अब च्याट जिपिट जस्तो एप पनि बनाउन लाग्ने कि ? भन्ने सवाल उठ्छ । किनभने जब च्याट जिपिटी लञ्च भयो तब सबैभन्दा बढी च्याट जिपिटीको प्रयोग गर्नेमा नेपाल अगाडी थियो । यदि च्याट जिपिटी जस्तो प्रश्नहरूको उत्तर नेपालीमै दिने एप बनाउने हो भने विद्यार्थीहरू कक्षाको गृहकार्य गर्ने झम्झटबाट मुक्त भइ सिर्जनशिल र बढी उत्पादनशील हुनमा समय लगानी गर्थे ।
प्रकाशित मितिः १६ मंसिर २०८०, शनिबार ०५:०४
आदर्शविक्रम सिंह ।