डोकोमा बिरामी बोक्नुपर्ने बाध्यता टर्‍यो

हातमा बिरामी बोक्ने स्ट्रेचरलाई पाएपछि उनले ओल्टाइपोल्टाइ गरिन् । निकैबेर स्ट्रेचरलाई हेरिन् । उनको अनुहारमा खुशीका धर्साहरू देखिन्थे । गाउँका आफ्ना सहकर्मीहरूसँग खुशी साटिन् । नयाँ पाएको स्ट्रेचर समातेरै उनले भनिन्, ‘अब गाउँमा कोही पनि अकालमा मर्ने छैनन्, गर्भवती र बच्चालाई सजिलै अस्पतालसम्म पु¥याउन सकिने भयो ।’

पश्चिम सुर्खेतको विकट गाविस छाप्रेमा कार्यरत महिला स्वास्थ्य स्वयम्सेविका याममाया केसीले मंगलवार जब बिरामी बोक्ने स्ट्रेचर पाइन्, तब उनको खुशीको सीमा नै रहेन । गाउँमा सडक नपुगेको र समयमा नै अस्पतालसम्म लैजान नसक्दा गाउँमा गर्भवती र बच्चाको मृत्यु भएको घटना सम्झदैं उनले भनिन्, ‘गाउँमा गाडी पुगेको छैन, बिरामी हुँदा डोकोमा बोक्नुपर्ने बाध्यता थियो । बाटो राम्रो नहुँदा बिरामीले बीचमै ज्यान गुमाउँथे, तर अब स्ट्रेचर राखेर अस्पतालसम्म पु¥याउन सजिलो भयो ।’

छाप्रेकी याममाया मात्र होइनन्, पश्चिम सुर्खेतका सबै गाविसमा कार्यरत महिला स्वास्थ्य स्वयम्सेविकाहरूको मुहारमा खुशी छाएको थियो । यातायातको पहुँच नहुँदा डोकोमा बिरामी बोक्न बाध्य पश्चिम क्षेत्रका सबै गाविसका वडामा नै पुग्ने गरी स्ट्रेचर वितरण गरिएको छ । स्ट्रेचर पाएपछि जिल्लाको पश्चिम क्षेत्रमा कार्यरत स्वयम्सेविकाहरू हर्षित भएका हुन् । स्वास्थ्य स्वयम्सेविका मञ्जु सापकोटाले भनिन्, ‘गाउँका बिरामीलाई अस्पताल पु¥याउनै मुस्किल थियो, एम्बुलेन्सको त सम्भावना नै छैन । यस्तो बेलामा हामीले स्ट्रेचर पाएका छौं, अब धेरै बिरामीले समयमा नै उपचार पाउनेछन् ।’ अब गाउँमा बिरामीलाई डोकोमा राखेर बोक्नुपर्ने बाध्यतासमेत टरेको उनको भनाइ छ । गाउँमा हालसम्म एउटा पनि स्ट्रेचर नभएको भन्दै उनले निःशुल्क रूपमा स्ट्रेचर पाउँदा धेरै जनालाई मृत्युबाट बचाउन सकिने उल्लेख गरिन् ।

नेपाल स्वास्थ्यकर्मी संघ सुर्खेतले निर्वाचन क्षेत्र नम्बर ३ का सबै गाविसमा स्ट्रेचर वितरण गरेको हो । संघका जिल्ला अध्यक्ष राजेश बुढाले क्षेत्र नम्बर ३ मा तीन सय चार वटा स्टे«चर निःशुल्क वितरण गरिएको बताए । साथै उनले अब आफूहरूले जिल्लामा कार्यरत सबै स्वयम्सेविकाको हातमा यो महिनाभित्र स्ट्रेचर उपलब्ध गराउने जानकारी दिए । यसले अब ग्रामीण क्षेत्रका बिरामीको उपचारमा सजिलो हुने उनको भनाइ छ । स्टे«चर नेपाली कांग्रेका नेता तथा क्षेत्र नम्बर १ का सांसद पूर्णबहादुर खड्काको पहलमा वितरण गरिएको हो । बावियाचौरमा मंगलवार स्टे«चर वितरण गर्दै नेता खड्काले भने, ‘यो हाम्रो सानो प्रयास हो, यसले गाउँका बिरामीलाई राहत मिल्नेछ । अब जिल्लामा कसैले पनि उपचार नपाएर ज्यान गुमाउनुपर्ने अवस्था आउने छैन, हामी सबै गाविसमा स्ट्रेचर पु¥याउनेछौं ।’ बिरामीलाई अस्पतालसम्म लैजान समस्या भएकै कारण आफूहरूले स्ट्रेचर उपलब्ध गराएको उनको भनाइ छ । साथै उनले भने, ‘राम्रो काम जसले गरे पनि हुन्छ, जनताले सुविधा पाउनुपर्छ । हामी जनताको चाहना अनुसार काम गर्नेछौं ।’

सो अवसरमा पश्चिमका बासिन्दाले नेता खड्कासँग विकास निर्माणको पहल गरिदिन आग्रह गरेका थिए । नेता खड्काले आफूले पश्चिम जोड्ने सडक कालोपत्रे गर्नका लागि आवश्यक पहल गर्ने वचन दिए । यसका लागि सबै दलहरूसँग समन्वय गरेर काम गर्ने उनको भनाइ छ । सो अवसरमा क्षेत्र नम्बर ३ का सांसद तप्तबहादुर विष्टले स्ट्रेचरले धेरैको ज्यान जोगिने विश्वास व्यक्त गरे । साथै उनले आफू पश्चिम क्षेत्रको विकास निर्माणमा लागिरहेको बताए ।

यस्तै अर्का सांसद लालबहादुर घलेले विकासमा साझा प्रयास आवश्यक रहेको बताए । कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला सचिव टोपबहादुर रावतले अब विकास र जनताको पक्षमा काम गर्नेहरू मात्र सफल हुने बताए । कार्यक्रममा पश्चिमका सबै गाविसमा कार्यरत महिला स्वास्थ्य स्वयम्सेविकालाई स्ट्रेचर वितरण गरिएको थियो । केही दिनमा नै क्षेत्र नम्बर २ मा पनि स्ट्रेचर वितरण हुने बताइएको छ ।

प्रकाशित मितिः   ४ फाल्गुन २०७३, बुधबार ११:२३