समावेशी शिक्षासम्बन्धी अभिमुखीकरण

सुर्खेत: प्रदेश तथा स्थानीय तहमा बालिका तथा समावेशी शिक्षा सञ्जाल विस्तार र क्षमता विकाससम्बन्धी तालिम आयोजना गरिएको छ । सोमवारदेखि सुरु भएको तालिम बिहीवार समापन भएको हो ।

नेपाल सरकारको शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गत शिक्षा तथा मानव स्रोत विकास केन्द्रले आसमान नेपाल, पिन, ब्रिटीस काउन्सील, सेभ द चिल्ड्रेन र भिएसओको आर्थिक सहयोग तथा सहकार्यमा तालिम आयोजना गरेको थियो ।

बालिका तथा समावेशी शिक्षासम्बन्धी स्थानीय तहको भूमिकाका विषयमा अभिमुखीकरण गर्न तालिम आयोजना गरिएको आसमान नेपाल सुर्खेतका कार्यक्रम संयोजक सुनिता बोहोराले जानकारी दिइन् । बालिका तथा समावेशी शिक्षाका लागि पालिकामा गठन भएका पदाधिकारीलाई यसको काम कर्तव्य र अधिकारसम्बन्धी जानकारी गराउनु कार्यक्रमको मुख्य उद्देश्य रहेको बोहोराले बताइन् ।

उनका अनुसार मुख्य गरी नेपाल सरकारले निर्माण गरेको बालिका तथा समावेशी शिक्षासम्बन्धी कार्यक्रम अन्तर्गत कसरी समुदाय तहमा महिला तथा बालिकाको शिक्षामा सहभागिता बढाउन सकिन्छ भन्ने विषयमा केन्द्रीत थियो ।

तालिमममा सुर्खेत, दैलेख, जुम्ला, कालीकोट, अछाम, बाँके र जाजरकोट लगायतका जिल्लाहरूका स्थानीय तहका उपप्रमुख÷उपाध्यक्ष सहित शिक्षा शाखा र महिला तथा बालबालिका शाखाको सहभागिता रहेको थियो । तालिमको औपचारिक उद्घाटन कर्णाली प्रदेश समाजिक विकास मन्त्रालयका शिक्षा महाशाखा प्रमुख जवलाल हमालले गरेका थिए ।

प्रकाशित मितिः   ८ मंसिर २०८०, शुक्रबार ०५:०१