माघ १६, एबी नेगेटीभ

जीवनमा धेरै कुरा गुमाएको छु । कति पाएको गुमाएँ हुँला भने कति नपाएरै गुमे होलान् । जीवन सरलता कहिल्यै भएन, र चाहिनँ पनि । सधैं हिरो बन्ने सोच । नेतृत्व गर्ने सोच । यही सोचले कहाँदेखि कहाँ पु¥यायो ? पत्तो पाउन सकिरहेको छैन । साथीभाई कोही यसलाई प्रगति ठम्याउँछन्, सधैं साथ दिने आफन्तहरू अझै हौसाउँछन् । तर म प्रायः दोधारे अनुभवमा रुमलिएको आफूलाई पाउँछु । म, आफैभित्र एउटा उत्तर खोजिरहन्छु, आखिर किन ? के का लागि ? र, कसका लागि ? भरोसाको उत्तर कहिल्यै पाएको छैन । कहिल्यै भेट्याएको छैन । र आफै मनलाई बुझाउँछु, ‘तेरो हिरो बन्ने सोच’को लागि । समाजमा ‘बा’ को नाम होइन आफ्नो नामको लागि । मलामीको संख्या बढाउनका लागि र सकात्मक समाज परिवर्तनमा योगदानका लागि ।

लेखक तथा पर्यटन व्यवसायी कर्ण शाक्यको स्वकीय सचिव हुँदाको समय ‘म’ मा रहेको मेरो घमण्डको नतिजा हो, मेरो वर्तमान । ठूलो रुखको छहारीमा पुनम हुर्कन सक्दैन, यदि हुर्कियो भने पनि के औचित्य भन्ने सोचले फेरि सुर्खेत फर्किएँ । पर्यटनमा केही गर्ने सोच र अरु पनि केही योजनाहरू । बाटोमा आएको पारिवारिक अवस्थाको कारण मैले मेरा सबै सपनाहरूलाई यथार्थमा बदल्न सकिनँ । आँट त गरेकै हुँ तर ? अँह, बाध्यताको भूमरीमा पेटको अगाडि सामाजिक सपनाहरू बलात्कार हुनु पनि स्वभाविक नै हो ।

माघ १६, २०७३ मेरा लागि गर्वको दिन अवश्य बनेको छ । ‘सुर्खेतको लागि केही गरिरहेको छु’ भन्ने शब्दहरूले मलाई पटक–पटक सन्तुष्टी दिन्छन् । माघ १६ पनि पहिले त सामान्य दिन नै थियो । उही दैनिकी । ढिलो उठेँ । लगभग ८ बजेतिर । होइन होइन, साढे नौ भएको थियो । मुख नै नधोइ बाइक समाएँ र कफी सप लम्किएँ । कफी हाउस क्याफेमा डबलसट एक्सप्रेसो । खाली पेटमा डबलसट एक्सप्रेसोको पनि मज्जा फरक छ । स्वास्थ्यको हिसाबमा यसरी दैनिक रूपमा खाली पेट डबलसट एक्सप्रेसोको सेवन नराम्रो मानियता पनि म भने बेग्लै अनुभूत गर्छु । एउटा स्वतन्त्रताको । एउटा आत्मविश्वास अनि सँगै संकल्प पनि ।

‘गो सुर्खेत डट कम’ सार्वजनिक गरेको लगभग २ महिना भयो । सुर्खेतलाई अन्तर्राष्ट्रियस्तरमा नहोला तर देशमा त चिनाउन सक्छु नि भन्ने सोचको साथ सुरु गरेको हुँ । जसको कारण देशका हरेक नागरिकलाई सुर्खेत भन्दा ‘लोकेसन’ देखाउन नपरोस् । आर्थिक अभाव तथा विविध कारणवश गो सुर्खेतले मैले सोचेजती गती लिन सकिरहेको छैन । र, मेरो नामबाट सञ्चालित पुनम फाउन्डेसनको आयोजनामा गो सुर्खेत डटकमको सहकार्यमा सुरु गरिएको रगत समूह विवरणले पनि मनमा हर्षका भावहरू निकालिदिन्छन् । यो लेख यसै सन्र्दभमा रहेर हर्ष साट्न तथा सहयोग आव्हानको लागि नै लेखेको हुँ भन्दा फरक नपर्ला । र, आज २७ माघ २०७३ रातीको साढे एक बजे उठेर यो लेख लेखिरहेको छु, किनकी म चाहन्छु ‘सुर्खेतमा रगत अभावका कारण कसैले पनि ज्यान गुमाउन नपरोस् ।’

गो सुर्खेत डटकम वेभसाइटमा सुर्खेतमा रहनुभएका केही व्यक्तिहरू तथा उहाँहरूसँंग भएको रगत विवरण बारे जानकारी राखेको छु । जसबाट मानिसहरूले आवश्यक परेको समयमा रत्तदातासँग सिधैं सम्पर्क गरी रगतका लागि सहयोग माग्न सक्नेछन् । एउटा हटलाइन नम्बर बनाएको छु ९८२२४५१४८८ । यो रगत अभावको समयका लागि मात्र हो । २४ घण्टा म यो नम्बरमा सम्पर्कमा रहिरहेको छु । साथीभाइ, इष्टमित्र होइन सिर्फ रगत अभावको लागि मात्र ।

सुर्खेतस्थित नेपाल रेडक्रस क्षेत्रीय अस्पताल शाखाका कर्मचारीहरूले तत्काल रगत अभावका समयमा एउटा विकल्पको रूपमा मलाई फोन गरिदिनुहुन्छ । खुशी लाग्छ । र, माघ १६ मा पनि फोन आयो । रगत समूह थियो, एबी नेगेटिभ । एक त नेगेटीभ रगत । प्रायः कमै मात्रामा पाइन्छ । मैले फोनमै सुनाए, ‘दाइ गाह्रो छ, हामीसँग कति समय छ ?’ बर्दियाकी २८ वर्षीय सरस्वती बुढा । पेटमा भएको बच्चाको मृत्यु भइसकेको थियो । अब बच्चा फालेर आमाको स्वास्थ्य सुरक्षित गर्नुपर्ने । जसको लागि एक प्वइन्ट रगत आवश्यक पर्नसक्ने सम्भावना भएको जानकारीले मेरो प्रेसर न्यून त अवश्य नै भएको थियो ।

म सँग विवरणमा सो रगत समूहमा एक जना मात्र व्यक्ति हुनुहुन्थ्यो र उहाँ सो दिन सम्पर्कविहीन । तनाव । सुरु भयो रगत खोजीको मिसन । सधैं सहकार्य गरिरहने वीरेन्द्रनगर–१० का गौरव रेग्मी भाइ पनि आत्तिएको अवस्था मलाई अझै याद छ । उसको डराएका स्वरहरूले मेरो शरीरमा झन् काँडा उमार्थे । चिनजानका सबैलाई फोन गरियो । फेसबुकमा स्टाटस पनि लेखियो । अह, केही भएन । प्रहरी तथा सैनिक कार्यालयहरूमा पनि खबर गरियो तर सो रगत समूह भएको व्यक्ति, जसले उक्त महिलालाई रक्तदान गर्नसक्ने व्यक्ति फेला पार्न सकिएन । एउटा महिलाको ज्यानको सवाल छ । हजुरलाई उनीहरू अन्तिम विकल्पको रूपमा हेरिरहेका छन् तर हजुरले सहयोग गर्न चाहँदा चाहँदै पनि बिरामी महिलाको ज्यान गएमा ? यो घटनाले भविष्यभर पोलिरहनेछ । होस् नहोस् गल्ती औंलाइरहनेछ र बाँकी रहनेछ पश्चाताप मात्र । यस्तै सोचहरू आइरहेका थिए, मेरो मनमा ।

फोनहरू मध्ये, पत्रकार कमल पन्तलाई पनि फोन गएको थियो । उहाँबाट ज्वाला कम्प्यूटरका दाजु प्रवासकुमार शाक्यसँग सम्पर्क भयो । साँझको आठ बजिसकेको थियो, प्रवास दाजुसँगको सम्पर्क पश्चात् केही घण्टापछि सुर्खेत लाटीकोइली निवासी सीता (नाम परिवर्तन) को रगत समूह एबी नेगेटीभ रहेको पत्ता लाग्यो र सँगै फोन नम्बर पनि । सम्पर्क गरें । सीतासँग भएको सम्पूर्ण कुराहरूको बारे म शब्दमा वयान गर्न पनि सक्दिन र उहाँको स्वतन्त्रताको कदर गर्दै म लेख्न सकिन पनि । उहाँको भाव एकदमै नकारात्मक थियो । फोनमा उहाँ कहिले नेपालगन्जमा छु भन्नुहुन्थ्यो त कहिले हस्पिटलमा बिरामी कुरिरहेको पनि । कहिले मंगलगढी नजिकै छु पनि भन्नुहुन्थ्यो । कहिले रातीको समय अस्पताल जान नसक्ने बताउनुहुन्थ्यो । कारण थियो, म अपरिचित व्यक्तिसँग रातीको समयमा घरबाट बाहिर निस्कदा समाजले एउटी महिलालाई हेर्ने नजर । ‘गाडी ल्याएर आउँछु, संगै एउटी महिला पनि’ भन्दा अलि केही मान्नुभयो र आउने बेला फोन गर्न अह्राउनुभयो । जब लिन जान थालें फोन सम्पर्कविहीन थियो । खै केही बुझ्न सकिनँ । आशाको डोरी खिइदै गएको अनुभूति भयो तर विश्वास टुटिसकेको भने थिएन । अन्तिम आशालाई म कसरी छोड्न सक्छु ? महिलाको ज्यानको सवाल छ । बिरामीको अभिवाभक तथा रेडक्रसका कर्मचारीबाट बारम्बार आइरहेको फोनमा म सान्त्वना दिइरहेको थिएँ । भरोसा दिइरहेको थिएँ । भरोसा कसरी तोड्न सक्थें र ? संयोगवस् फोन लाग्यो र जबरजस्ती ठेगाना मागें, हुइकिएँ । न कुनै गाडि न कुनै महिला । यति गर्दा रातीको १० बजिसकेको थियो ।

प्रवास कुमार शाक्य, उहाँलाई म मनैदेखि सम्मान गर्न चाहन्छु । मेरो एक कल फोनको भरमा राती साढे १० बजे उहाँ आफ्नी धर्मपत्नीसँग कम्मल ओढेर बाइकमा आउनुभयो । रक्तदाताको घरमा हामीसँगै गयौं । रक्तदातालाई जबरजस्ती मध्यपश्चिम क्षेत्रीय अस्पताल कालागाउँ लियौं र रक्तदान गरायौं । प्रवास दाजुसँग यो मेरो पहिलो भेट थियो । र पहिलो भेटमै उहाँ मनमा वास गर्नुभएको छ । प्रवास दाजुको सहयोग कदरयोग्य छ । सायदै रक्तदाताको स्वतन्त्रतापूर्वक बाँच्न पाउने अधिकारमा मैले हलचल मच्चाएको पक्कै हुँ । जसको कारण अपराधी ठहराउँदा पनि मलाई कुनै आपत्ती छैन । तर एक महिलाको ज्यान बचाउन पाउँदा म माघ १६ मेरा लागि गर्वको दिन ठान्दछु । यो घटनाले मलाई समाजमा रहेका स्वार्थीपन तथा नकारात्मक पक्षलाई नजिकबाट केलाउने मौला धेरै दियो । मानिसहरूमा मानवता विस्तारै हराइरहेको मलाई भान भइरहेको छ ।

यो लेख मेरो व्यक्तिगत विचारहरूको रूप हो । यहाँ मैले मेरा वितृष्णाका भावहरू सायदै देखाएको छु, सायदै मैले मेरा सपनाहरूको दृश्यांकन गरेको छु र सायदै समाजमा रहेका नकारात्मक सोचहरूलाई औंला ठड्याएको पनि छु । क्षेत्रीय अस्पताल शाखा सुर्खेतमा रहेको रेडक्रसका कर्मचारी दाजुहरूलाई धेरै–धेरै धन्यवाद, गौरव भाई, कमल दाजु, प्रवास दाजु र विषेश गरी रक्तदान गर्ने दिदी सीता (नाम परिवर्तन) लाई धेरै–धेरै धन्यवाद दिन चाहन्छु र मेरो अभियानमा भविष्यमा पनि यस्तै साथको आशा राखेको छु । आगामी दिनहरूमा पनि यस्ता घटनाहरू भइरहनेछन् । माघ १६, घटनाले थप प्रेरणा पक्कै थपिएको छ ।

प्रकाशित मितिः   ३ फाल्गुन २०७३, मंगलवार १४:०१