कहिलेसम्म विस्थापित ?

वर्तमान समयमा राजनीतिको कुरा सबैको मुखमा झण्डिएको छ । गाउँ–गाउँमा सिँचाइको लागि सानो कुलो खन्दाको समेत त्यहाँ राजनीतिको प्रभाव परेको हुन्छ । कुन नेताले ल्यायो ? कुन पार्टीको सरकार भएको समयमा आएको ? यस्ता कुरा तथा हाम्रा व्यवहारहरूले हामीलाई कता तिर धकलिरहेको छ ? हाम्रो समाजलाई कुन दिशा दिइरहेको छ ? चलनचल्तीमा आएका सोसियल साइटहरूले पनि यसलाई बढाउनमा प्रत्यक्ष भूमिका पक्कै खेलिरहेका छन् ।

नागरिकहरूको व्यवहार तथा हाम्रो सामाजिक पक्ष कत्तिको सामाजिक छ मापन गर्न आवश्यक रहेको छ ? हामी कत्तिको सामाजिक छौं ? यहाँ घर भाडामा पनि पार्टीको मिलान गरिन्छ । बिहे त विरलै हुन्छन् जो अन्य पार्टीका हुन् । सामुदायिक वन तथा सामाुदायिक विद्यालय पनि पार्टीगत भावना बोकिरहेका हामी पाउन सक्छौं । शिक्षालाई पार्टीगत रूपमा वर्गीकरण गर्ने गरेको पनि पाइन्छ । एउटा असल शिक्षक विद्यालयमा अन्यहरूसँग पार्टीको भावना नमिल्दा सरुवा भइ जानुपरेको अवश्य नै छ । यस्त उदाहरणहरू हाम्रो समाजमा व्याप्त रूपमा रही रहेका छन् ।

प्रसंग विस्थापितहरूको, गत साल आएको बाढीपहिरोले सुर्खेतको अधिकांश भू–भाग जलमग्न अवस्थामा बनाएर छाड्यो । खोला किनारामा बनाइएका घरहरूको निसाना समेत नराखी लग्यो । कयौं व्यक्तिहरूको ज्यान गयो । कयौं बालबालिकाहरू टुहुरा पनि भए । कयौं मानिसहरूले आफ्ना छोराछोरी गुमाए । बाढिपहिरो पश्चात् सामाजिक भावना भएका व्यक्तिहरूले सेवाका निमित्त आफूलाई क्रियाशील बनाए । विभिन्न संघ–संस्थाहरूले सहयोगको अपिलका साथै आफ्नो कार्यक्रमहरू बनाए ।

बाढीपहिरो विस्थापित परिवार माझ धेरैले खाद्यान्नका सामग्रीहरू पठाए । कोहीले लत्ताकपडा तथा कोहीले स्वास्थ्य सेवाको निमित्त काम गरे । संघ–संस्थाहरूको पनि कार्यक्रमहरू त्यस्तै–त्यस्तै नै थियो । बाढीपहिरो परिवार विस्थापितका लागि कार्यक्रमहरू ।तर वर्तमान समयमा ती कार्यक्रमहरूको प्रभावकारिता खै ? के भइरहेको छ ? बाढीपहिरो विस्थापित परिवारहरू विभिन्न रोगको सिकारका कारण अझै पनि अन्य विकल्प नहुँदा पालमुनी नै बस्नुपरेको समाचारहरू सञ्चारमाध्ययममा आउँदा हामी हाम्रो सहयोग तथा विभिन्न कार्यक्रमहरूको प्रभावकारिताको बारे आंकलन गर्नसक्छौं । के त्यही नै थियो हाम्रो सहयोग ? के त्यति नै हो हाम्रो कर्तव्य ? खाद्यान्न सहयोग पश्चात्को फोटो मात्र हाम्रो उपलब्धी थियो ? लत्ताकपडा हाम्रो सहयोग थियो ?

बाढीपहिरो विस्थापित परिवार माझ सरकारसँग रहेको आशा अब मरिसकेको उनीहरू बताउँछन् । संघ–संस्थाहरूलाई विस्थापितको बाध्यतालाई डलर बनाउने माध्यम रहेको उनीहरूको धारणा छ । र, स्थानीय समाजले सहयोगको नाममा रमाइलो गरेको उनीहरू ठान्दछन् । बाढीपहिरो विस्थापित परिवारलाई पुनस्र्थापनाको निमित्त अझै प्रभावकारी कार्यक्रमहरूको खाँचो छ ।

र, वर्तमान हाम्रो समाज अनि हामी । सुर्खेतमा पुनः सो घटनालाई दोहोरिन नदिनका निमित्त हामीले के गरिरहेका छौं ? सर्वप्रथम सहर व्यवस्थितीकरणतर्फ हाम्रो चासो कमै छ सायद । यससँग सम्बन्धित निकायहरूको पनि ध्यानाकर्षण प्रभावकारी नभएको जनगुनासो व्याप्त मात्रामा रहिरहेको छ । सुर्खेतमा बढ्दो जग्गा कारोबारले के सुर्खेत सहरलाई व्यवस्थित गर्न सहयोग गरेको छ ? वीरेन्द्रनगर बजार, वर्षात्मा नालीको फोहर बाटोमा आउने ठाउँ । यसरी भन्दा वा लेख्दा दुःख त लाग्छ नै तर यही नै हो हाम्रो वातावरण । वीरेन्द्रनगर बजार अहिले पार्किङ्गको समस्या झेल्दै छ । वैकल्पिक समाधानको रूपमा लिइएको एकतर्फे पार्किङ्गका कारण पनि नागरिकहरू सास्ती झेलिरहेका छन् । स्थानीय व्यपारीहरू यस विरुद्धमा मुरमुरिरहेका छन् । आफ्नो पसल अगाडि एक तर्फी रूपमा रहेको सवारी पार्किङ्गका कारण व्यापार ह्रास आइरहेको स्थानीय व्यापारीहरूको धारणा छ । समस्यालाई नै राजनीतिक रूप दिने । समस्याहरूको बीचबाट नै हो राजनीतिको फूल फुल्ने । कयौं व्यक्तिहरू यो समस्यालाई फलानोको कारण भन्ने संज्ञा दिँदै राजनीतिको बीऊ रोप्ने कोशिसमा छन् ।

कयौं स्थानमा खोलाकिनाराहरूमा जाली भरिएको त छ तर ? नागरिकहरूलाई यसलाई पनि प्रभावकारिता मानिरहेका छैनन् । कारण ? खोलाकिनाराबाट अव्यवस्थित रूपमा उठाने गिट्टी तथा बालुवा । अनि फेरि जाली भरिएको स्थानलाई पनि राजनैतिक रूप दिइरहेका छन् स्थानीय नागरिक ? कयौं बाटोघाटोहरू निर्माण भए, कयौं बगाएको स्थानमा निसाना समेत रहेका छैन । जहाँ बाटो नै पूरै गायव भयो, र मानिसहरू नजिकका अन्य बाटोहरू रोज्न थाले यो आशामा कि कुनै दिन फेरि यही स्थानमा बाटो सुचारु हुनेछ । तर भएको छैन । वीरेन्द्रनगर नगरपालिका तथा सुर्खेत जिल्लामा कयौं यस्ता स्थानहरू छन् जहाँ हराएको बाटोको पुनर्निर्माणको ठेगान छैन । जसको कारण नागरिक सरकारी निकाय तथा त्यहाँका पदाधिकारीलाई पूर्ण रूपमा राष्ट्रसेवकको धारणाले विश्वास गर्न सकिरहेका छैनन् ।

बाढीपहिरो पश्चात् कति खोलानालाहरूमा जाली भरियो ? कति बगाएका पुलहरू पुनर्निर्माण भए ? कति बाटोघाटोहरू पुनर्निर्माण भए ? भौतिक संरचनाहरूको क्षतिपूर्तिका लागि के–के भयो ? विस्थापित परिवारहरूले कति गुमाए तथा कति पाय ? न यसको प्रभावकारी लेखाजोखा हामीसँग छ न यसको लागि भावी योजनाहरू ।

प्रकाशित मितिः   ३ फाल्गुन २०७३, मंगलवार १३:५४