चार हजार बढी नयाँ धारा थपिदै‌

सुर्खेत उपत्यकामा आउँदो असार महिनाभित्र करिब पाँच हजार नयाँ धारा थप हुने भएका छन् । उपत्यकामा वर्षेनी खानेपानीको संकट बढ्दै जाँदा नयाँ धाराको संख्या पनि थप हुन लागेको हो । एक वर्षअघि नयाँ धाराको लागि निवेदन दिएका उपभोक्ताले आउँदो असारभित्र धारा पाउने भएका हुन् ।

उपत्यकामा खानेपानीको आपूर्ति गर्दै आइरहेको झुप्रा बृहत खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले निवेदन दिएका सबै उपभोक्ताको घरमा धारा जडान गर्ने तयारी गरेको छ । संस्थाका अनुसार आगामी असार मसान्तसम्म सबै नयाँ धारा जडान गरिनेछ । अघिल्लो वर्ष नयाँ धाराका लागि संस्थामा चार हजार पाँच सय उपभोक्ताले निवेदन दिएका थिए । निवेदन दिने सबै उपभोक्ताले असारभित्र धारा पाउने संस्थाले जनाएको छ ।

खानेपानीको संकट रहेका कारण धारा जडानमा ढिलाइ भएको भन्दै संस्थाले खरी र बोरीखोला आयोजनाको पानी थप हुने भएपछि नयाँ धारा जडानको प्रक्रिया सुरु भएको संस्थाको भनाइ छ । जनसंख्या वृद्धिसँगै उपत्यकामा घरधुरी बढेको र सोही अनुसार नयाँ धाराको पनि माग बढ्दै गएको छ । संस्थाले नयाँ धाराका लागि अघिल्लो वर्ष आवेदन संकलन गरेको भए पनि त्यसपछि आवेदन खुला गरेको छैन । पानीको स्रोत अनुसार धाराको संख्या थप गरिने संस्थाले जानकारी दिएको छ । नयाँ धारा जडानका लागि गत वर्ष आवेदन दिएका सबै उपभोक्ताको नाममा जडान गर्न नामावली प्रकाशन गरिएको भन्दै संस्थाले हाल धारा जडानको कार्य चलिरहेको जनाएको हो ।

हाल उपत्यकामा १२ हजार पाँच सय धारा जडान भएका छन् । अब नयाँ धारा जडान भएपछि उपत्यकामा १७ हजार धारा हुनेछन् । आवेदन दिएकामध्ये हालसम्म एक हजार पाँच सय नयाँ धारा जडान भइसकेको र बाँकी तीन हजार जति धारा पनि असार मसान्तसम्म जडान गर्ने लक्ष्यसहित काम भइरहेको रहेको संस्थाका इन्जिनियर डम्बर गौतमले बताए । उपभोक्ताले गतवर्ष नै नयाँ धारा जडानको लागि प्रतिधारा १५ हजार रूपैयाँ संस्थालाई अग्रिम शुल्क बुझाएका थिए । नामावली प्रकाशित भएका उपभोक्ताहरूले धारा जडानको लागि मुख्य लाइनमा जीआईपाइप भएको ठाउँमा एक हजार रूपैयाँ र एचडीपी पाइप भएको ठाउँमा पाँचसय रूपैयाँ जडान शुल्क तिरेपछि धारा जडान गरिने इन्जिनियर गौतमको भनाइ छ । उपभोक्ताले धारा जडान गर्ने बित्तिकै धारामा पानी वितरण गरिनेछ । हालसम्म नयाँ जडान भएका धाराहरूमा पनि पानी उपलब्ध गराइएको संस्थाले बताएको छ ।

गतवर्ष ६० घण्टामा एकचोटी पानी भर्नको लागि पालो कुरेका वीरेन्द्रनगरवासीले यसपटक त्योभन्दा धेरै अभाव खेप्नुपर्ने देखिएको छ । पुरानै हालतमा त सुख्खा मौसममा पानीको अभाव भएको उपत्यकामा यसवर्ष झन् नयाँ धारा जडानका कारण पानीको अभाव झन् बढ्ने सम्भावना देखिएको छ । उपत्यकाको खोनपानी समस्या समाधानका लागि हेरिएको खरीखोला र बोरीखोलाको पानी यसवर्ष पनि सुख्खा मौसममा आउनेमा निश्चित छैन । ‘खरी र बोरीको पानी आउँदा प्रतिसेकेन्ड ३० लिटर थप हुन्छ’ उनले भने, ‘तर सुख्खा मौसमको बेला करैखोलासम्म त्यो पानी आउँने निश्चित छैन, यदि खरी र बोरीको पानी फागुनभित्र नआएमा । गतवर्ष भन्दा यसवर्षको खडेरीमा उपत्यकामा पानीको अभाव बढी नै हुनसक्छ, खानेपानीको संकट टार्न वैकल्पिक स्रोतको जोहो गर्दैछौं ।’

संस्थाका अध्यक्ष कुलमणि देवकोटाका अनुसार खरी र बोरीखोला आयोजनाको एक हजार सात सय मिटर जीआईपाइप जडान बाँकी रहेकोले उपत्यकामा पानीको मात्रा थप हुन समय लाग्ने भएको हो । फागुन मसान्तसम्म करैखोलासम्म पानी पु¥याउने लक्ष्य राखिए पनि आयोजनाको केही प्राविधिक कामहरू बाँकी रहेकाले लक्ष्यभन्दा ढिलो हुनसक्ने अध्यक्ष देवकोटाको भनाइ छ । तर नयाँ जडान भएका धाराले खानेपानीको वितरणलाई भने खासै असर नपार्ने देवकोटाले दाबी गरे । हाल उपत्यकामा दैनिक एक करोड २७ लाख लिटर खानेपानीको माग रहेको छ भने, आपूर्ति केवल ८५ लाख लिटरसम्म हुने गरेको छ । उपत्यकाको खानेपानी समस्यालाई दीर्घकालीन समाधानका लागि भेरी नदीको पानी ल्याउने तयारीमा संस्था जुटेको छ । यसको आवश्यक प्रक्रिया अगाडि बढाइएको अध्यक्ष देवकोटाले जनाए ।

प्रकाशित मितिः   ३ फाल्गुन २०७३, मंगलवार १३:४९