अस्थायी आवास बनाउन रकम निकासा
सुर्खेत: भूकम्प प्रभावितहरूका लागि अस्थायी आवास निर्माण गर्न बजेट विनियोजन गरिएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पहिलो किस्ताको रकम निकासा गरेको हो ।
कर्णाली प्रदेशका तीनसहित पाँच जिल्लाका भूकम्पबाट प्रभावित परिवारहरूको लागि एक अर्ब ४१ करोड रूपैयाँ निकासा गरेको हो । उक्त बजेटबाट अस्थायी आवास निर्माण गरिनेछ । तत्कालका लागि बसोबासको व्यवस्थापन गर्न अस्थायी संरचना निर्माण गरिँदैछ । प्राधिकरणले सम्बन्धित जिल्ला प्रशासन कार्यालयहरूको नाममा उक्त रकम पठाएको हो ।
भूकम्पबाट सबैभन्दा बढी प्रभावित कर्णाली प्रदेशको जाजरकोट जिल्लाका लागि ५० करोड पठाइएको छ । अर्को प्रभावित जिल्ला रूकुमपश्चिमका लागि पनि ५० करोड नै रकम निकासा गरिएको छ भने सल्यानका लागि दुई करोड छुट्याइएको प्राधिकरणले जनाएको छ । त्यसैगरी सुदूरपश्चिम प्रदेशको बझाङका लागि २५ करोड र बाजुराका लागि १४ करोड पठाइएको हो ।
भूकम्पबाट प्रभावित परिवारलाई अस्थायी आवास निर्माण अनुदान दिने कार्यविधि, २०८० जारी भएसँगै संघीय सरकारले भूकम्प प्रभावितलाई अनुदान दिने प्रति घरधूरी ५० हजार रूपैयाँमध्ये पहिलो किस्ता सोमवार नै निकासा गर्न उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले प्राधिकरणलाई निर्देशन दिएका थिए ।
उक्त रकम स्थानीय तहमा तुरुन्तै पठाउन र प्रभावकारी कार्य सम्पादन गर्न सम्बन्धित जिल्ला प्रशासन कार्यालयलाई परिपत्रसमेत भइसकेको छ । भूकम्प प्रभावितले स्थानीय तहमा गएर अनुसूची अनुसारको निवेदन दिए लगत्तै पहिलो किस्ता २५ हजार रूपैयाँ पाउने प्रबन्ध गरिएको छ । साथै निर्माण सम्पन्न भएपछि दोस्रो किस्ता २५ हजार रूपैयाँ निकासा हुनेछ ।
भूकम्पले कर्णाली प्रदेशका मात्रै ६५ हजारभन्दा बढी घरहरू क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ । विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको प्रारम्भिक प्रतिवेदनअनुसार जाजरकोटको छेडागाड नगरपालिकामा एक हजार नौ सय ४५ घरहरू पूर्णरूपमा क्षति भएका छन् भने चार हजार पाँच सय ४५ घर आंशिक क्षति भएका छन् । कूल ६ हजार चार सय ९० घरधुरी विस्थापित भएका छन् । जाजरकोटकै भेरी नगरपालिकामा दुई हजार पाँच सय ३० घर पूर्णरूपमा क्षति भएका छन् भने चार हजार दुई सय ३८ घर आंशिक रूपमा क्षति भएका छन् । ६ हजार सात सय ६८ घरका नागरिकहरू भूकम्पका कारण विस्थापित भएका छन् ।
बारेकोट गाउँपालिकोटमा एक हजार ३५ घर पूर्णरूपमा ध्वस्त भएका छन् भने दुई हजार दुई सय ८६ घर आंशिक क्षति बनाएको छ । तीन हजार तीन सय २१ घरमा बस्दै आइरहेका नागरिकहरू विस्थापित भएका छन् । कुशे गाउँपालिकामा एक हजार पाँच सय चार घर पूर्णरूपमा क्षति हुँदा तीन हजार ९८ घर आंशिक क्षति भएका छन् । यहाँका चार हजार ६ सय दुई घरका नागरिकहरू विस्थापित भएका छन् । जुनिचाँदे गाउँपालिकामा तीन हजार नौ सय ७८ घरमा बस्दै आइरहेका नागरिकहरू विस्थापित भएका छन् । यो पालिकामा ६ सय ३४ घर पूर्णक्षति भएका छन् भने तीन हजार तीन सय ४४ घर आंशिक रूपमा क्षति भएका छन् ।
यस्तै रूकुमपश्चिमको चौरजहारी नगरपालिकाका एक हजार पाँच सय ५२ घर भूकम्पका कारण पूर्णरूपमा क्षति भएका छन् भने चार हजार पाँच सय ७४ घर आंशिक रूपमा क्षति भएका छन् । कूल ६ हजार एक सय २६ घरहरूमा बस्दै आइरहेका नागरिकहरू अहिले विस्थापित भएका छन् । त्रिवेणी गाउँपालिकामा एक हजार नौ सय ३५ घरधुरी विस्थापित भएका छन् । यहाँ एक हजार नौ सय ३५ घरधुरी पूर्णरूपमा क्षति भएका छन् भने एक हजार दुई सय ५८ घरहरू आंशिक क्षति भएका छन् । सानीभेरी गाउँपालिकाका तीन हजार सात सय ४१ घरधुरी प्रभावित भएका छन् । जसमध्ये एक हजार दुई सय ४६ घरधुरीमा बस्दै आइरहेका नागरिक पूर्णरूपमा विस्थापित भएका छन् ।
प्रकाशित मितिः ५ मंसिर २०८०, मंगलवार ०५:०५
साझा बिसौनी ।