राहत पर्खदै भूकम्प पीडित

सुर्खेत: सल्यानको दार्मा गाउँपालिका वडा नं. ५ का प्रेमप्रकाश केसीको परिवार राहतको पर्खाइमा छ । गत शुक्रवार गएको भूकम्पले घर चर्किएपछि उनीहरू घरभित्र बस्नसक्ने अवस्था छैन । खुला आकाशमूनि त्रिपालको ओतमा बसिरहेका छन् । ‘घरमा पुरिएका सामान निकाल्नसमेत सकिएको छैन’ केसीले भने, ‘हामीकहाँ राहत आइपुगेकै छैन । परिवारको बिचल्ली भएको छ ।’

सोही वडाकी टिका केसीलाई आफ्नै घर पराइजस्तै बनेको छ । ‘घरभित्र जाऊँ भत्किएला भन्ने डर, नजाऊँ अन्नपातदेखि लत्ताकपडा भित्रै छन् । घरपरिवारलाई के खुवाउने ?’ उनले भनिन् । टिकाको परिवार खुला आकाशमुनि दिनरात कटाउन बाध्य छ । ‘साना छोराछोरी जाडो भयो । घरभित्र जाऔं भन्छन् । घर भत्किन्छ कि भन्ने डरले त्रिपालमुनि रात काट्न बाध्य छौँ,’ उनले भन्छिन् । घर भत्किएको पाँचौं दिन भइसक्दासमेत एक त्रिपालबाहेक केही नपाएको उनको गुनासो छ । घरभित्र बँचेको केही अन्नपात पनि निकाल्न नसकेको पीडितहरूको भनाइ छ ।

गोरख केसीको परिवार पनि शनिवारदेखि खुला आकाशमुनि बस्दै आइरहेका छन् । घर भूकम्पले पूरै भत्काएपछि उनीहरू अहिले घरबारविहीन भएका हुन् । भूकम्पले घर पूर्णरूपमा भत्काइदिएपछि त्रिपालमुनि बस्नुपरिरहेको उनको भनाइ छ । केसीले भने, ‘साना बालबालिकालाई थप समस्या भएको छ । रात कसरी कटाउने भनेर चिन्ता छ ।’ अहिलेसम्म कुनै राहत नपाएको भन्दै उनले त्रासमा रात बिताउन बाध्य भएको बताए ।

दार्मा गाउँपालिका वडा नं. २ की रामकला खत्रीका पनि तीन वटै घर भूकम्पले भत्काइदिएको छ । भएका घर भूकम्पबाट भत्किएपछि उनको परिवार पनि खुला आकाशमा रात काट्दै आइरहेको छ । ‘चिसो सिजनमा खुला आकाशमा रात काट्नुको पीडा अरू के होला र ?’ उनले भनिन्, ‘अन्नपात पुरिएपछि अब के खाने भन्ने चिन्ताले सताउन थालेको छ ।’

दार्माका झन्डै एक हजार परिवार शनिवारदेखि आकाशमुनि बस्न बाध्य छन् । भूकम्पले भौतिक क्षति जाजरकोट र रूकुमपश्चिम बराबर नै भएको दार्मा गाउँपालिकाका अध्यक्ष निमबहादुर केसीले बताए । सरकारले दार्मालाई उपेक्षा गरेको उनको भनाइ छ । दार्माका वडा नं. १, २, ५ र ६ वडामा बढी क्षति भएको उनले जानकारी दिए । केसीका अनुसार पालिकामा मानवीय क्षति नभए पनि धेरै भौतिक क्षति भएको छ । भौतिक क्षतिको विवरण जाजरकोट र रूकुमपश्चिमबाट मात्र आउँदा दार्मा देशभर ओझेलमा परेको छ । भूकम्प गएको पाँचौं दिन भइसक्दासमेत रेडक्रसबाहेक कुनै पनि निकायबाट सहयोग नपाएको पीडितले गुनासो गरेका छन् ।

कर्णाली प्रदेश सरकारले दार्माका लागि आवश्यक राहत सामग्री पठाइसकेको जनाएको छ । सुर्खेतबाट पठाएको राहत सामग्री मंगलवार राति दार्मा पालिकामा पुगिसकेको र नेपालगञ्जबाट पनि बुधवार नै सामान पुग्ने कर्णाली प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री भीमप्रकाश शर्माले जानकारी दिए ।

यस्तै रूकुमपश्चिमको त्रिवेणी गाउँपालिकाका भूकम्पपीडित पनि राहतको पर्खाइमा रहेका छन् । यहाँका प्रभावितहरूले हालसम्म त्रिपालसमेत नपाएको गुनासो गरेका छन् । त्रिवेणी गाउँपालिका वडा नं. १ का शक्तिकुमार पुनले हालसम्म कुनैपनि राहत नपाएको गुनासो गरेका छन् । त्रिपाल नपाएर खुला आकाशमुनि चिसो रात बिताउन बाध्य भएको उनले बताए । पुनका अनुसार चिसोका कारण बालबालिका र ज्येष्ठ नागरिकहरूमा स्वास्थ्य समस्या बढ्न थालेको छ ।

त्रिवेणी गाउँपालिकाले संकलन गरेको प्रारम्भिक तथ्याङ्कअनुसार दुई हजार एक सय घर पूर्णरूपमा क्षति भएका छन् । त्रिवेणी गाउँपालिकाका अध्यक्ष गणेशकुमार केसीका अनुसार त्रिवेणी गाउँपालिकाका प्रभावितहरूले हालसम्म कुनै पनि निकायबाट राहत पाउन सकिरहेका छैनन् । पालिका एक्लैले विपद्को सामना गरिरहेको उनको भनाइ छ । ‘सयौँ घरपरिवार विस्थापित भएर घरबाहिर बसिरहेका छन्’ उनले भने, ‘सामान्य त्रिपालसमेत उपलब्ध छैन ।’ हालसम्म गाउँपालिकामा युनेस्कोले २० वटा त्रिपाल र सशस्त्र प्रहरीले दुई सय ६८ वटा त्रिपाल मात्र उपलब्ध गराएको छ । गाउँपालिकाले प्रभावितहरूलाई राहतको व्यवस्था गरिदिन विभिन्न निकायहरूलाई अनुरोधसमेत गरेको छ ।

पीडितहरूले राहत नपाएको गुनासो गरिरहँदा कर्णाली प्रदेश सरकारले भूकम्पबाट प्रभावित जाजरकोट, रूकुमपश्चिम र सल्यानका १६ स्थानीय तहलाई दुई करोड ४५ लाख हस्तान्तरण गरेको छ । प्रदेश सरकारले जाजरकोटका भेरी र नलगाड नगरपालिका तथा बारेकोट गाउँपालिकालाई २५/२५ लाख, कुशे गाउँपालिकालाई २० लाख, छेडागाड नगरपालिकालाई दश लाख, जुनीचाँदे गाउँपालिकालाई दश लाख र शिवालय गाउँपालिकालाई पाँच लाख हस्तान्तरण गरेको आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णबहादुर जिसीले बताए ।

त्यसैगरी रूकुमपश्चिमको आठबीसकोट र सानीभेरी गाउँपालिकालाई २५–२५ लाख, चौरजहारी नगरपालिका र त्रिवेणी गाउँपालिकालाई २०–२० लाख, मुसिकोट नगरपालिकालाई दश लाख र बाँफीकोट गाउँपालिकालाई पाँच लाख रकम हस्तान्तरण गरिएको जिसीको भनाइ छ । उनका अनुसार सल्यानको दार्मा गाउँपालिकालाई १५ लाख तथा बागचौर र बनगाड कुपिण्डे नगरपालिकालाई पाँच–पाँच लाख हस्तान्तरण गरिएको छ ।

भूकम्पबाट प्रभावित जाजरकोट, रूकुमपश्चिम र सल्यानमा राहत सामग्री खरिद, वितरण र उद्धार प्रयोजनका लागि स्थानीय तहलाई रकम उपलब्ध गराइएको मन्त्री जिसीले जानकारी दिए । यही कार्तिक १७ गते राति ११ः४७ बजे जाजरकोटको बारेकोट गाउँपालिकाको रामीडाँडामा केन्द्रबिन्दु बनाएर ६ दशमलव चार रेक्टर स्केलको भूकम्प जाँदा ठूलो धनजनको क्षति भएको थियो ।

प्रकाशित मितिः   २३ कार्तिक २०८०, बिहीबार ०५:०५