राहत वितरणमा हेलचक्य्राइँ
सुर्खेत: राष्ट्रपति रामचन्द्र पौडेल मंगलवार जाजरकोट पुगे । भूकम्प प्रभावित क्षेत्रमा पुगेका पौडेलसँग नागरिकहरूले आपतकालीन राहतसमेत नपाएको गुनासो गरे । विपदका बेला नआत्तिन आग्रह गर्दै उनले सरकारले सबैलाई राहत दिने आश्वासन बाँडेर फर्किए ।
राष्ट्रपति पौडेलले मात्रै होइन भूकम्प गएकै भोलिपल्ट प्रभावित क्षेत्रमा पुगेका प्रधानमन्त्री पुष्पकमल दाहालले पनि उद्धारसँगै तत्काल राहतको व्यवस्थापन गर्ने प्रतिबद्धता जनाएर फर्किएका थिए भने उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्का पनि जाजरकोटसहित रूकुमका भूकम्प प्रभावितलाई भेटेर राहतको आश्वासन बाँडिरहेका छन् ।
राष्ट्रपतिदेखि प्रधानमन्त्रीसम्म, उपप्रधानमन्त्रीदेखि प्रदेशकै मुख्यमन्त्रीसम्मले प्रभावित क्षेत्रमा पुगेर आश्वासन दिए पनि भूकम्प पीडित सबैले राहत पाउन सकेका छैनन् । भूकम्पले विस्थापित गराएको चार दिन बितिसक्दासम्म पनि जाजरकोट र रूकुमका नागरिकले ओतका लागि त्रिपालसम्म नपाएको गुनासो गरेका छन् । राहत वितरण व्यवस्थित र प्रभावकारी नहुँदा केहीले पाएपनि सबैले समान रूपमा पाउन सकेका छैनन् ।
भूकम्पले दुवै जिल्लाका अधिकांश घर भत्किएका छन् । ठूलो संख्यामा अन्य घरहरू पनि चिरा परेका छन् । पूर्ण क्षति भएका बाहेकका घरहरू पनि भित्र बस्न नमिल्ने गरी चर्किएका छन् । जसका कारण मानिसहरू घरभित्र बस्न सकिराखेका छैनन् । उनीहरू केही विद्यालयमा र केही खुला आकाशमुनि नै छन् । चिसो बढ्दै गएकाले त्रिपालमुनि समेत रात बिताउन कठिन भएको पीडितहरूले बताएका छन् । ‘आवश्यकताअनुसारको राहत पुगेको छैन, सबैले त्रिपालसमेत पाएका छैनन्,’ नलगाड १ का वडाध्यक्ष धर्मेन्द्र महरले भने ।
अर्का स्थानीय प्रकाश विक राज्यबाट आउने राहत अझै आइनपुगेको बताउँछन् । संघ–संस्था, दातृ निकायबाट भने केही चामल आएको छ । उनका अनुसार बस्तीका नागरिकको अवस्था बिजोग छ । ‘यहाँ पाल नहुँदा रात काट्न कठिन छ,’ उनले भने, ‘केही सहयोगदाता आएर सामान्य सहयोग गरे पनि राज्यबाट राहत पाइएको छैन ।’ कसैको एउटै परिवारका ६–७ जना परिवार भएकाले उक्त पालले आवाश्यकता पूर्ति नभएको विकले बताए ।
जाजरकोटको नलगाड–१ चिउरीका दुई सयभन्दा बढी मान्छे अझै पनि त्रिपाल नभएर बाहिर खुला आकाशमुनि सुत्न बाध्य रहेको उनले बताए । ‘हाम्रो मुख्य आवश्यकता नै त्रिपाल हो,’ उनी भन्छन्, ‘यहाँ बालबालिकालाई जोगाउन समस्या छ, त्रिपाल नहुँदा र आवश्यक कपडाहरू नहुँदा चिसोका कारण बालबालिका मर्ने सम्भावना बढेको छ । हाम्रो राज्यलाई अनुरोध छ कि यहाँ तत्काल त्रिपालहरू पु¥याइयोस् ।’
राहत संकलन भएपनि वितरणमा हेलचक्य्राइँ भएको छ । एकद्वार प्रर्णालीबाट वितरण गर्ने गरिएको राहत समयमै भूकम्प प्रभावितहरूसम्म पुग्न सकेको छैन । यद्यपि, सोमवारदेखि नै स्थानीय पालिकाहरूमार्फत राहत वितरण सुरु गरिएको छ । तर मंगलवारसम्म पनि सबै नागरिकसम्म राहत पुगेको छैन ।
अर्कोतर्फ जाजरकोट र रूकुमपश्चिममा ढिलै भएपनि राहत वितरण भइरहेको छ । तर दुई जिल्लाबाहेक अन्य जिल्लामा राहत पुगेकै छैन । कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका अन्य जिल्लामा पनि भूकम्पले क्षति गरेको छ । तर, ती जिल्लामा केन्द्र सरकारले राहत पठाएको छैन । गृह मन्त्रालयको तथ्याङ्कअनुसार जाजरकोट र रूकुमपश्चिम सहित दैलेख, जुम्ला, सल्यान, अर्घाखाँची, रोल्पा, प्युठान, बैतडी, दाङ र रूकुम पूर्वमा पनि भूकम्पले क्षति गरेको छ ।
जाजरकोट र रूकुमबाहेक भूकम्पका कारण दैलेखमा तीन जना, जुम्लामा तीन जना, सल्यानमा दुई जना, अर्घाखाँचीमा एक जना, रोल्पामा एक जना, प्युठानमा तीन जना र बैतडीमा तीन जना घाइते भएका छन् । दाङमा एक जना घाइते भएका छन् ।
कार्तिक १७ मा जाजरकोटको बारेकोट गाउँपालिकास्थित रामिडाँडा केन्द्रबिन्दु भएर गएको भूकम्पमा परेर जाजरकोट र पश्चिम रूकुममा मात्र एक सय ५३ जनाको मृत्यु भएको थियो । जाजरकोटमा एक सय एक जना र रूकुममा ५२ जनाको मृत्यु भएको हो ।
प्रकाशित मितिः २२ कार्तिक २०८०, बुधबार १०:१६
साझा बिसौनी ।