निजामती कर्मचारीहरूलाई कार्यालय प्रवेशमा रोक

सुर्खेतसहित देशभरका स्थानीय निकायको कामकाज ठप्प भएको छ । स्थानीय निकायमा कार्यरत कर्मचारीहरूको आन्दोलनको कारण कामकाज ठप्प भएको हो । बिहानै १० बजेबाट कर्मचारीहरूले हातमा कालोपट्टी बाँधेर आफ्नो कार्यालयको कामकाज ठप्प पारेका हुन् ।

आन्दोेलनको कार्यक्रम अन्तर्गत आज  स्थानीय निकायमा काम गर्ने निजामती कर्मचारीहरूलाई कार्यालय प्रवेशमा रोक लगाइएकाे छ र उनीहरूले चढेको सरकारी सवारी साधन कार्यालयमा राख्ने तथा त्यसपछि अनिश्चितकालका लागि स्थानीय निकायका सेवाहरू ठप्प पार्ने कार्यक्रम रहेको छ ।

स्थानीय निकाय कर्मचारी संघर्ष समिति सुर्खेतका प्रवक्ता कुलबहादुर खड्काले आन्दोलनप्रति राज्य गैरजिम्मेवारीपूर्ण व्यवहार देखाएको भन्दै अनिश्चितकालका लागि सेवा ठप्प पार्नुपर्ने बाध्यता रहेको बताए । उनले यसबाट सेवाग्राहीमा पर्ने असुविधाप्रति क्षमा समेत मागेका छन् । सेवाग्राहीको काम रोक्ने पक्षमा आफूहरू नरहेको भन्दै राज्य जिम्मेवार भइ माग पूरा गरेमा आन्दोलन फिर्ता लिइने बताएका छन् ।

यता छैठौं प्रदेशका अध्यक्ष टंक लामिछानेले छैठौं प्रदेशका सबै जिल्लामा स्थानीय निकायका कर्मचारीहरूको बन्द कडाइका साथ अघि बढेको बताए । उनले राज्य समक्ष आफ्ना मागहरू राखे पनि राज्यले अहिलेसम्म कुनै पनि सुनुवाइ नगरेका कारण बाध्य भएर आफूहरू धर्नामा बसिरहेको बताए ।

प्रकाशित मितिः   २ फाल्गुन २०७३, सोमबार १०:५५