मुगु पुग्यो सीआईबीको टोली

मुगु: कार्तिक ८ गते मुगु छायाँनाथ रारा नगरपालिका–६ मुन्दुगाउँमा सामूहिक हत्या गरिएको घटनाको अनुसन्धान गर्न केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोली मुगु पुगेको छ । डीएसपी धर्म भण्डारी नेतृत्वको चार जनाको टोली मुगु पुगेर घटनाको अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय मुगुका डीएसपी वीरन्द्र थापाले जानकारी दिए ।

उनका अनुसार सीआईबी पुग्नु अघि सुर्खेतबाट दुई टोली र जुम्लाबाट गएको प्रहरीको एक टोलीले अनुसन्धान गरिरहेको थियो । घटनास्थलको अनुसन्धानमा गएको कुकुरसहितको टोली भने नेपालगञ्ज फर्किसकेको प्रदेश प्रहरी कार्यालय कर्णालीका प्रवक्ता गोपालचन्द्र भट्टराइले जानकारी दिए । ‘सीआईबी टोली पुगिसकेपछि स्थानीय घटनास्थल र अन्य स्थलहरूबाट तीव्र अनुसन्धान भइरहेको छ,’ प्रवक्ता भट्टराइले भने, ‘चाँडै अनुसन्धानको निष्कर्ष निस्कने विश्वास छ ।’ घटनाको अनुसन्धानमा सीआईबी टोली खटिएपछि पीडित परिवारले पनि अनुसन्धान निकर्षमा पुग्ने आशा गरेको छ ।

कार्तिक ८ गते बुधवार भएको घटनाको जानकारी प्रहरीले त्यसको दुई दिनपछि १० गते शुक्रवार बिहान मात्रै पाएको थियो । जानकारी पश्चात् घटनास्थल पुगेको प्रहरीले २८ वर्षीय श्रीदेवी बोहोरा, ११ वर्षीय छोरा मनोज, आठ वर्षीय छोरी अप्सरा र ८ महिनाका छोरा रहर बोहोरालाई घरभित्रै मृत अवस्थामा फेला पारेको थियो ।

प्रकाशित मितिः   २० कार्तिक २०८०, सोमबार ०५:०१