भूकम्प पीडितको बिचल्ली

कठ्याङ्ग्रिदो चिसोमा त्रिपालको बास, राहत वितरणमा ढिलाइ

सुर्खेत: भूकम्पबाट प्रभावित जाजरकोट र रूकुमपश्चिमका पीडितको बिचल्ली भएको छ । शुक्रवार मध्यरातमा गएको भूकम्पले उनीहरूको बिचल्ली भएको हो । राति ११ बजेर ४७ मिनेटमा जाजरकोटको बारेकोट गाउँपालिका वडा नं. १ रामीडाँडालाई केन्द्रविन्दु बनाएर ६ दशमलव चार रेक्टरस्केलको भूकम्प गएको थियो । भूकम्पबाट दुई जिल्लामा गरेर एक सय ५७ जनाको मृत्यु भएको छ ।

भूकम्पका कारण धेरै घरहरू चर्किएका र केही भत्किएका छन् । फेरि भूकम्प आउने डरले पीडितहरूले खेतबारी र चौरमा पाल टाँगेर रात बिताइरहेका छन् । केहिले भने प्लाष्टिकले घेरबार पारेर रात कटाएका छन् । जाजरकोटको नलगाड नगरपालिका वडा नं. ३ का ८१ वर्षिया सरणबहादुर रोकाया दिर्घ रोगी हुन् । उनले दुई रात पालमुनी बिताए । शुक्रवारको मध्यरातमा गएको भूकम्पबाट मानवीय क्षति नभएपनि उनको घर बस्नलायक बनेन् । उनले भने, ‘घरमा बस्न सक्ने अवस्था छैन । चिरा–चिरा परेको छ । नियमित खाने औषधि, लत्ताकपडा सबै पुरियो । कठ्याङ्ग्रिदो चिसोका कारण निकै समस्या भइरहेको छ ।’ सरकारले सुरक्षित बासस्थानको व्यवस्था गर्नुपर्ने उनी बताउँछन् । ‘अहिलेसम्म सरकार, प्रशासन आएको छैन’ उनले भने, ‘खुला आकाशमुनि बस्नु पर्ने अवस्था छ । कुनै राहत पाएका छैनौँ ।’

कठ्याङ्ग्रिदो चिसोले गर्दा पीडित थप प्रभावित बनेका छन् । सोही वडाका चक्रबहादुर रोकायाले पालमुनीको बसाइँ निकै कष्टपूर्ण बनेको बताए । भूकम्पले घर चर्काएपछी खुल्ला आकाशमुनी बस्न बाध्य भएको उनको भनाइ छ । उनी भन्छन् ‘साना केटाकेटी छन् । घरभित्र जाउँ भुकम्पको डर बाहिर कठ्याङ्ग्रिदो चिसोले थप समस्या बनाएको छ ।’

भूकम्पबाट प्रभावित जाजरकोट र रूकुमपश्चिममा राहत वितरणमा ढिलाइ हुँदा नागरिकको दैनिकी कष्टकर बन्न थालेको छ । सरकारले एकद्वार प्रणाली अपनाउने भन्दै अहिलेसम्म यहाँ कसैलाई राहत वितरण गर्न दिएको छैन । भूकम्प पीडितका लागि सरकारी तथा गैरसरकारी संस्थाले दिएको राहत वितरण गर्नका लागि पीडितको रेकर्ड नहुँदा समस्या भएको जनाइएको छ । जिल्ला विपद् व्यवस्थापन समितिले एकद्वार प्रणालीबाट राहत वितरण गर्ने निर्णय गरे पनि पीडित परिवारको तथ्याङ्क संकलन नहुँदा अलमल भएको नलगाड नगरपालिका वडा नं. ३ का डम्बर रोकायाले बताए ।

संकलित राहत सामग्री सम्बन्धित पालिकामार्फत वितरण भइरहेको जिल्ला प्रशासन कार्यालय जाजरकोटका प्रमुख प्रशासकिय अधिकृत हरिश्चन्द्र शर्माले बताए । उद्दारको कामलाई प्राथमिकता दिँदा राहत वितरणमा ढिलाई भएको उनको भनाइ छ । उनले भने, ‘मानवीय उद्धारमा लाग्दा भौतिक क्षति र राहत वितरणको काममा ढिलाइ भयो ।, आइतवारबाट सम्बन्धित पालिकामार्फत आवश्यकताका आधारमा राहत वितरणको काम थालिएको उनले जानकारी दिए ।

भूकम्पमा परी जाजरकोटमा तीन हजार ६ सय ५० घरमा क्षति पुगेको छ । प्रदेश प्रहरी कार्यालय सुर्खेतको तथ्याङ्कअनुसार भूकम्पका कारण जाजरकोटमा नौ सय पाँच घर पूर्णरूपले क्षतिग्रस्त भएका छन् । भूकम्पका कारण जिल्लाभर तीन हजार ६ सय ५० घरमा क्षति पुगेको हो । त्यसमध्ये नौ सय पाँच घर पूर्णरूपले क्षतिग्रस्त भएका छन् भने दुई हजार सात सय ४५ घरमा आंशिक क्षति पुगेको छ ।

यस्तै रूकुमपश्चिममा सात हजार दुई सय आठ घरमा क्षति पुगेको छ । प्रदेश प्रहरी कार्यालयका अनुसार भूकम्पका कारण जिल्लाभर सात हजार दुई सय आठ घरमा क्षति पुगेको हो । त्यसमध्ये चार हजार दुई सय ३५ घर पूर्णरूपले क्षतिग्रस्त भएका छन् भने दुई हजार सात सय ५२ घरमा आंशिक क्षति पुगेको छ ।

 

राहत वितरणमा एकद्वार प्रणाली

राहत वितरणमा एकद्वार प्रणाली लागू गरिएको आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णबहादुर जिसीले बताए । भूकम्पबाट पीडितलाई एकद्वार प्रणालीबाटमात्रै राहत वितरण गरिने भन्दै उनले स्थानीय तहमार्फत सामग्री वितरण भइरहेको जानकारी दिए । सबै स्थानमा समान रूपमा राहत वितरण गर्ने उद्देश्यले एकद्वार प्रणालीबाटमात्रै वितरण गर्ने निर्णय भएको उनको भनाइ छ ।

प्रभावित क्षेत्रमा चिकित्सिक, स्वास्थ्य सामग्री र औषधि पठाइएको र आवश्यक परे थप सामग्री पठाउने गरी व्यवस्थापन भइरहेको जिसीले बताएका छन् । प्रभावित क्षेत्रमा त्रिपाल, कम्मल र खानेकुराको प्रबन्ध मिलाइएको उनको भनाइ छ । विभिन्न विकास साझेदारबाट सहयोग संकलन भइरहेको जनाइएको छ ।

भूकम्पले थला परेका जाजरकोट र रूकुमपश्चिममा अस्थायी आवास निर्माणका लागि टेन्ट वितरण थालिएको छ । प्रत्येक घर–घरमा टेन्ट वितरण गरिने कानुनमन्त्री जिसीले बताए । अस्थायी आवास निर्माण गरेर सबैलाई एउटै स्थानमा राख्न सम्भव नभएपछि घर–घरमा टेन्ट वितरण सुरु गरिएको छ । विभिन्न निकायको सहयोगमा टेन्टहरू उपलब्ध भइरहेका छन् ।

प्रकाशित मितिः   २० कार्तिक २०८०, सोमबार ०५:०५