बचपनमा ‘बदमास’
भद्र भण्डारी दैलेखमा जन्मिए, सुर्खेतमा हुर्किए । सुर्खेतमै पढे, यही व्यवसाय गरे । सामाजिक अभियानमा सक्रिय भए । वि.सं. २०३६ जेठ १३ गते बुबा जयबहादुर भण्डारी र आमा बेलमती भण्डारीको जेठा छोराको रूपमा उनको जन्म दैलेखको विनायकमा भएको हो । होण्डा सुर्खेत र न्यू बुलबुले अटो सेल्सका सञ्चालक उनी सुर्खेत उद्योग वाणिज्य संघका कार्यसमिति सदस्य पनि हुन् । प्रशान्ति वृद्धाश्रमका कार्यसमिति सदस्य र अक्षयकोष अभियानका संयोजक समेत रहेका उनी सामुदायिक सुधार संस्था र सामुदायिक प्रहरी संस्था, लायन्स क्लब अफ बुलबुले लगायतका संस्थाहरूमा आवद्ध भइ सामाजिक सेवामा पनि सक्रिय रहे । युवा व्यवसायी सामाजिक अभियन्ता भण्डारीले आफ्नो बाल्यकालको सम्झना हाम्रा सहकर्मी मुना हमालसँग यसरी साटेका छन् :
म दैलेखमा जन्मिएँ तर सुर्खेतमा हुर्किएँ । म सानै छँदा हाम्रो परिवार बसाइँ सरेर सुर्खेत आएको थियो । त्यतिबेला म २ वर्षको मात्रै थिएँ । दैलेखबाट बसाइँ सरेर सुर्खेत आउँदा अंकलको काँधमा बसेर आएको मलाई अझै पनि सम्झना छ । अंकलले मलाई काँधमा राखेर बोक्नुभएको थियो । म उहाँलाई हामी कुन–कुन ठाउँ आइपुग्यौं, यो ठाउँको नाम के हो भनेर सोधिरहन्थें । दैलेखबाट बसाइँ सरेर आएपछि हामी वीरेन्द्रनगर–१८ (साविकको उत्तरगंगा–८) मा बस्न थाल्यौं ।
पाँच वर्ष हुदाँसम्म घरमा खेलेर नै समय बिताएँ । पाँच वर्ष पुगिसकेपछि रोजल्याण्ड बोर्डिङ्ग स्कुलमा पढ्न थालें । स्कुलबाट भाग्ने विद्यार्थीहरूमध्ये म पहिलो नम्बरमा थिएँ । पढ्न मन नलागेपछि स्कुलबाट भागिहाल्थें । स्कुल टिनले छाएको थियो । बर्खाको समयमा पानी चुहिन्थ्यो । पढ्न मन नलागेपछि पानी चुहिने ठाउँमा हानेर झन् पानी चुहिने बनाउँथे । घर जान पाइन्छ भनेर पानी चुहियो, नपढ्ने भनेर हल्ला गर्थें । छिटो घर गएपछि बुबाआमाले गाली गर्नुहुन्थ्यो त्यसकारण स्कुल समयसम्म लुक्नको लागि कहिले गोदामलाइन जान्थें भने कहिले डाँडास्कुलको पछाडि रहेको पातीको झाडीमा जान्थें । म मात्रै होइन मसँगै अरु साथीभाइ पनि हुन्थे । उनीहरूसँग खेलेर घण्टौं बिताउथें । कहिले खोर्केखोलामा खेल्न जान्थें । आमाले सधैं खोज्न जानुपथ्र्यो । साँझ पर्न बित्तिकै आमालाई खोज्न हतार हुन्थ्यो । म भने साथीहरूसँग गुच्चा खेलेर रमाइलो गरिरहेको हुन्थें । ती दिन सम्झिंदा अहिलेसम्म रमाइलो लाग्छ । बाल्यकालमा चञ्चले स्वभावको थिएँ । बढी चकचक गथें । साथीहरूसँग खेल्दाखेल्दै साँझ पथ्र्यो । ढिला हुँदा आमा रिसाउनुहुन्थ्यो । बचपनमा बदमासी पनि गरियो ।
कहिले काहीं पसलको गल्लाबाट पैसा चोरेर लैजान्थें । साथीहरूलाई नास्ता खुवाउँथे । गल्लाको पैसा चोरेको थाहा पाएपछि बुबाले पिटेको अझै सम्झन्छु । एक दिन बुबाले थाहा पाएर बेस्सरी पिट्नभयो । त्यसपछि पैसा चोर्न छोडेर बुबालाई व्यापारमा सघाएँ । पारिवारिक अवस्था सामान्य थियो । हजुरबुबा र बुबा व्यापार गर्नुहुन्थ्यो । वीरेन्द्रचौकमा पसल थियो । त्यसबेला घरको आर्थिक अवस्था कमजोर भएको कारण ठूलो ठूलो सपना कहिले पनि देख्न आएन । व्यापारी नै बन्छु भन्ने लाग्थ्यो । कसरी व्यवसाय गर्नुपर्छ भनेर सबै ज्ञान थियो मलाई । त्यसबेला टीभीको जमाना थिएन् । घरघरमा रेडियोहरू थिए । बुबा पनि रेडियो धेरै सुन्ने गर्नुहुन्थ्यो । त्यसकारण रेडियो सुन्दा–सुन्दा म पनि राजनीतिमा चासो राख्ने भइसकेको थिएँ ।
एक दिन बुबाले खोलामा लगेर नुहाइदिनुभयो । माया र स्नेहले सम्झाउनु भयो । पढेर केही गर्नुपर्छ असल मान्छे बन्नुपर्छ भनेर सम्झाउनु भयो । पैसा पनि दिनुभयो । त्यसबेला तीन कक्षामा पढ्थें । सानोमा के गलत के सही केही थाहा हुन्थेन । मनले जे गर भन्यो त्यही गर्न मन लाग्थ्यो । स्कुल जादाँ सरले पिट्ने अनि पढ्न मन नलागेर भागेर आउँथे । पछि बुबाले सम्झाउनु भयो । त्यसपछि सधैं स्कुल जान थालें । मावि तहमा पढ्न थालेपछि सुध्रिदै गएको थिएँ । टोलका बच्चाहरूलाई जम्मा गरेर पढाउँने गर्थें । विद्यार्थीका अभिभावकहरूले त्यसवापत कपडा किनेर दिन्थें । घरमा आर्थिक अवस्था त्यति राम्रो थिएन । स्कुलमा ठूलोबडाका छोराछोरी राम्रा कपडा लगाएर आउने, त्यसमाथि आइरन लगाएर । उनको मन खिन्न हुन्थ्यो । त्यसपछि भने आफै मेहेनत गर्नुपर्छ भन्ने सोच म मा आयो ।
मलाई सानो छँदा गीत गाउन पनि खुब मनपथ्र्यो । पप गीतहरू गाउँथें । घरमा मेरा लागि गितार पनि किनिदिनुभएको थियो । टोलभरीका साथीहरूलाई जम्मा गरेर गीत सुनाउँथे । कतै विवाह वा पूजा छ भने राती नाचगान गर्न जाने गर्थें । एक दिन चौधरी गाउँमा गएर जाँड खाएको अविस्मरणीय क्षण पनि छ । साथीहरूले जाँड खाउँ भनेपछि मैले पनि खाएँ । पछि आमाले थाहा पाउनुभयो र गाली गर्नुभयो । त्यसदिनबाट मैले त्यसरी साथीहरूको लहलहैमा लागेर जाड नखाने बाँचा आमासँग गरें । लाटीकोइलीमा इट्टा भट्टी थियो । चकचके स्वभाव बाँकी नै थियो । साथीहरूसँग गाउँका आलु चोर्न जान्थें अनि इट्टा भट्टामा आएर पोलेर खाने गथ्र्याैं ।
हरेक शनिवार म पनि साथीहरूसँग दाउरा लिनको लागि जंगल जान्थे । वनमा गएर खेल्ने र साँझ घर आउँदा दाउरा, मुडा लिएर आउँथें । वनमा भोक लाग्यो भने खानको लागि भनेर सबै साथीहरू मिलेर मकै, भट्ट, सिरौंला, चिउँरा, भेली लैजान्थ्यौं । वनमा भोक लाग्दा सबै साथीहरू मिलेर खाँदा धेरै रमाइलो हुन्थ्यो । त्यसले गर्दा पनि कहिले शनिवार आउँला जस्तो लाग्थ्यो । २५ जनासम्म साथीहरू हुन्थे । दाउरा बोकेरको छिटो डाँडामा पुग्ने भनेर प्रतिस्पर्धा नै हुन्थ्यो । प्रायःजसो म नै अगाडि पुग्थें ।
अरु दिन जस्तै हामी जंगलमा गएका थियौं । जंगलमा मरेको मान्छे देख्यौं । त्यसभन्दा अगाडि मैले मरेको मान्छे देखेका थिइन । त्यसरी जंगलमा मरेको मान्छे देखेपछि हामीहरू भागेर घर आयौं । त्यो सम्झेर पछिसम्म पनि डर लागिरहन्थ्यो । कहिले काहीं त्यो लाशसँग आफूलाई नै तुलना गरेर दुःखी हुन्थें । अनि जीवन रहने बेलासम्म राम्रो गर्नुपर्छ भन्ने भावना मनमा आउँथ्यो । कहिले काहीं साथीहरूसँग ग्रुप झगडा पनि हुन्थ्यो । तर म मिलनसार स्वभावको थिएँ । साथीहरू धेरै जस्तो बजार क्षेत्रका थिए । ग्रुपमा झगडा हुन्थ्यो । लाटीकोइली र भैरवस्थानका साथीहरूसँग । त्यसमा मेरो भूमिका मिलाउने हुन्थ्यो ।
हामी अलि हुर्किसकेपछि आमा दैलेख जानुभयो । भाइबहिनीसहित म पनि हजुरआमासँग बसें । बुबा पसलमा व्यस्त हुनुहुन्थ्यो । हजुरआमाले धेरै माया गरेर हेरचाह गर्नुहुन्थ्यो । म हजुरआमाको जेठो नाती थिएँ । त्यसकारण पनि सबैले माया गर्नुहुन्थ्यो । दशैं तिहारमा दैलेख जान्थें । रुखमा सुन्तला र कागती फलेको पहिलो पटक दैलेखमा देखें । कागती र सुन्तलाको रुखमा चढेर टिप्दा हातमा चोट लागेको घटना अझै पनि सम्झनामा छ । बाल्यकालका ती दिनहरू सम्झना अहिले पनि रमाइलो लाग्छ ।
प्रकाशित मितिः २ फाल्गुन २०७३, सोमबार १०:४३
साझा बिसौनी ।