‘माननीयज्यू, बाटो कहिले बन्छ ?’
सुर्खेत: सडक स्तरोन्नतिको काममा ढिलाइ भएपछि नागरिकहरूले रूखमा प्रतिनिधिसभा सदस्यको तस्बिर टाँसेर विरोध जनाएका छन् । मदन भण्डारी राजमार्ग अन्तर्गत पश्चिम सुर्खेतको बड्डिचौरदेखि खम्बागाडे खण्डको सडक कालोपत्रेको काममा ढिलाइ भएको भन्दै दैलेखबाट निर्वाचित प्रतिनिधिसभा सदस्य दिक्पाल शाहीको तस्बिर स्थानीयले सडककै रूखमा टाँसेका हुन् ।
उक्त सडक कालोपत्रे गर्ने जिम्मा सांसद शाहीकै निर्माण कम्पनीले पाएको छ । १२ किलोमिटरको बड्डीचौर–खम्बागाडे सडक खण्ड निर्माणको जिम्मा अनक जयदेवी जेभी बाँकेले पाएको हो । ४२ करोड ४७ लाख ६१ हजार रूपैयाँमा लागतमा निर्माण सम्पन्न गर्नेगरी प्रदेश सरकारको पूर्वाधार विकास निर्देशनालयले उक्त जेभीसँग सम्झौता गरेको हो । २०७९ देखि निर्माण सुरु गरिएको हो । सम्झौताअनुसार २०८१ असार १५ गतेसम्म काम सम्पन्न गर्नुपर्नेछ । तर निर्माणको काम समयमै नभएको गुनासो सो क्षेत्रका नागरिकले गरेका छन् । उनीहरूले शाहीको तस्बिरसहितको पोष्टर रूखमा टाँसेर प्रश्न गरेका छन्, ‘माननीय ठेकेदार दिक्पाल शाहीज्यू बाटो कहिले बन्छ ?’
यो सडक खण्डमा सात किलोमिटर जंगल क्षेत्र परेको छ । चार किलोमिटरको काम लगभग सकिएको छ । यद्यपि, वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन (इआईए) भने स्वीकृत भइसकेको छैन । स्वीकृतिका लागि मन्त्रालयमा पेस गरिएको छ ।
मदन भण्डारी राजमार्गअन्तर्गत पश्चिम सुर्खेतमा तीन खण्डमा बाँडेर सडक स्तरोन्नति हुँदैछ । पहिलो खण्ड बड्डीचौर–खम्बागाडे हो भने दोस्रो खम्बागाडे–विद्यापुर र तेस्रोमा विद्यापुर–बल्दे सडक खण्ड छ । ४५ किलोमिटरको सडकलाई तीन खण्डमा विभाजन गरेर सडक निर्माण थालिएको हो । जसमध्ये दुई वटामा निर्माण सम्झौता भइ काम सुरु भएको भएको छ ।
प्रकाशित मितिः १३ कार्तिक २०८०, सोमबार ०५:०१
साझा बिसौनी ।