कर्णालीका नौ जिल्लामा सुपथ मूल्य पसल
सुर्खेत: कर्णाली प्रदेशका नौ जिल्लामा चाडपर्व लक्षित सुपथ मूल्य पसल सञ्चालनमा ल्याइएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी प्रादेशिक कार्यालय कर्णालीले आइतवारदेखि औपचारिक रूपमा सुर्खेतसहित प्रदेशका नौ जिल्लामा सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको हो ।
वीरेन्द्रनगरस्थित सुपथ पसलको उद्घाटन गर्दै जिल्ला समन्वय समितिका प्रमुख गंगाराम सुनारले गाउँगाउँमा समेत यस्ता पसल सञ्चालनमा ल्याउनुपर्ने बताए । सहरमा मात्र केन्द्रित नगरी घुम्ती पसलमार्फत सबै पालिका केन्द्रसम्म सुपथ मूल्य पसल सञ्चालन गरेर आम उपभोक्तालाई सेवा दिनुपर्ने उनको भनाइ थियो ।
निमित्त प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर थापाले चाडपर्वमा अत्यावश्यक खाद्य वस्तुको बजार मूल्य नियन्त्रण र गुणस्तरीयता कायम गरी सहज तथा सर्वसुलभ रूपमा दैनिक उपभोग्य वस्तु उपलब्ध गराउन सम्बन्धित पक्षलाई निर्देशन दिए । त्यस्तै सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष लक्ष्मण कँडेलले कर्णालीमा सुपथ मूल्य पसल चाडपर्वमा मात्र नभइ वर्षभरी नै सञ्चालन गर्न आग्रह गरे ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी कर्णाली प्रादेशिक कार्यालयका प्रमुख माधव मिश्रले कर्णालीको सल्यानबाहेक सुर्खेत, दैलेख, जाजरकोट, रूकुम–पश्चिम, डोल्पा, कालीकोट, जुम्ला, मुगु र हुम्ला जिल्लामा सुपथ मूल्य पसल सञ्चालनमा ल्याइएको जानकारी दिए । उनले कर्णालीका सुपथ मूल्य पसलमा हाललाई चामल मात्र उपलब्ध गराएपनि छिट्टै अन्य अत्यावश्यक खाद्यवस्तु पनि राखिने जनाए ।
साल्ट ट्रेडिङ कर्पोरेसन सुर्खेत कार्यालयका सूचना अधिकारी नवराज अकौलियाले सुपथ मूल्य पसलबाट नूनसँगै चिनी दिने योजना रहेपनि चिनी आउन ढिलाइ भइरहेको बताए । राष्ट्रिय उपभोक्ता मञ्च कर्णाली प्रदेश संयोजक आकाशतारा बयकले खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेसनलाई चामल र नून मात्र वितरण गरेर सुपथ मूल्य पसललाई औपचारिकतामा मात्र सीमित नराख्न आग्रह गरे । उनले सुपथ मूल्य पसलमा वस्तुको विविधिकरण गरेर दाल, गेडागुडी, पिठो, तेलजस्ता अति आवश्यकीय वस्तु चाडपर्वमा उपभोक्तालाई सहज, सुलभ तरिकाले बिक्री वितरण गर्न सुझाव दिए । सहुलियत पसल आगामी मंसिर ३ गतेसम्म सञ्चालन हुनेछ ।
प्रकाशित मितिः २२ आश्विन २०८०, सोमबार ०५:०१
साझा बिसौनी ।