लगानीको खोजी

कर्णाली प्रदेशका दुई ठूला जलविद्युत आयोजना सञ्चालनका लागि लगानी जुटाउन पहल थालिएको छ । हुम्ला कर्णाली–१ जलविद्युत आयोजना र हुम्ला कर्णाली–२ जलविद्युत आयोजनाका लागि रुरु जलविद्युत परियोजनाले लगानी सुनिश्चित गर्ने प्रयास गरिएको हो । लगानी सुनिश्चितता गरेर विद्युत विकास विभागबाट उत्पादन अनुमति लिने तयारी आयोजनाको छ । दुई वटा आयोजना एकै पटक सञ्चालन हुने भएकाले लगानीकर्ताको खोजी भइरहेको हो । दुवै आयोजना निर्माण सम्पन्न गर्न एक खर्बभन्दा बढीको लागत अनुमान गरिएको छ ।

दुई वटै जलविद्युत आयोजना हुम्ला जिल्लामा निर्माण हुनेछन् । आयोजनाबाट चार पालिका प्रभावित हुनेछन् । दुई सय ३५ मेगावाट क्षमताको हुम्ला कर्णाली–१ लाई तल्लो परियोजनाको रूपमा नामाकरण गरिएको छ । उक्त आयोजनाबाट हुम्लाको सर्केगाड गाउँपालिका र मुगुको सोरु गाउँपालिकाका केही वडा प्रभावित हुने जनाइएको छ । यस्तै तीन सय ३५ मेगावाट क्षमताको हुम्ला कर्णाली–२ जलविद्युत आयोजनालाई माथिल्लो परियोजनाको रूपमा नामाकरण गरिएको छ । उक्त आयोजनाबाट हुम्लाका दुई वटा गाउँपालिका प्रभावित हुनेछन् । सर्केगाड र खार्पुनाथ गाउँपालिकाका केही वडा आयोजनाबाट प्रभावित हुने परियोजनाले जनाएको छ । चिनियाँ कम्पनीले बीचमै अलपत्र छोडेका आयोजना नेपाली निर्माण कम्पनी रुरु परियोजनाले अघि बढाएको हो । सिचुवान वाङपिङ इनर्जीले करिब पाँच वर्ष पहिले विद्युत विकास विभागबाट एकै पटक दुई वटै आयोजनाको सर्वे अनुमति लिएको थियो । एकैचरणमा दुवै योजनाको सर्वे सुरु गरेको चिनियाँ कम्पनीले अध्ययनका काम सकिनै लाग्दा आयोजनाबाट हात झिकेको हो । कम्पनीले पूर्वअध्ययनका काम पूरा गरिसकेको थियो । अन्तिममा आयोजनामा लगानी गर्न नसकिने भन्दै कम्पनी पछि हटेको हो । लगानी धेरै लाग्ने र लाभ कम हुने देखेपछि चिनियाँ कम्पनीले हात झिकेको बताइएको छ । २०७९ चैत पहिलो सातादेखि सिचुवानबाट रुरु जलविद्युत परियोजनाले हुम्ला कर्णाली आयोजना ‘टेक ओभर’ गरेको हो । चिनियाँ कम्पनीले गरेको अध्ययनलाई नै आधार मानेर लिमिटेडले काम अघि बढाएको हो ।

दुई वटै जलविद्युत आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) तयार भइसकेको छ । वातावरणीय प्रभाव मूल्यांकन (इआइए) को काम भइरहेको आयोजनाले जनाएको छ । लगानी सुनिश्चतताका लागि अमेरिकन कम्पनी र जापानी कम्पनीहरूसँग छलफलसमेत अघि बढेको छ । अमेरिकी कम्पनीहरूसँग दुई चरणमा छलफल भइसकेको छ । जापानी कम्पनीहरू पनि लगानी गर्न उत्साहित बनेका छन् । लगानी सुनिश्चतताका लागि अन्तिम टँुगो भने लागिसकेको छैन । विभिन्न चरणमा भिन्न–भिन्न देशका कम्पनीहरूसँग छलफल भइरहेको बताइएको छ ।

प्रकाशित मितिः   १७ आश्विन २०८०, बुधबार ०९:१३