सुर्खेतमा तीन हजार मतदाता थपिए
सुर्खेतमा तीन हजार भन्दा बढी मतदाता थपिएका छन् । निर्वाचन कार्यालयले पछिल्लो पटक गरेको फोटोसहितको मतदाता नामावली संकलनका क्रममा ३ हजार एक सय ७४ जना नयाँ मतदाता थप भएका हुन् ।
फोटोसहितको मतदाता नामावली संकलन तथा अद्यावधिक कार्यक्रम अन्तर्गत जिल्ला निर्वाचन कार्यालय सुर्खेतले गत पुस १७ गतेदेखि माघ १७ गतेसम्म एक महिने अभियान सञ्चालन गरेको थियो । कार्यालयले पठाएको प्रतिनिधिहरूले गाउँ–गाउँमा पुगेर नयाँ नामावली दर्ता तथा पुरानो अद्यावधिक गरेका थिए । जस अनुसार १ हजार ५ सय ५६ जना महिलाहरूले नयाँ नाम दर्ता गराएका छन् । त्यस्तै १ हजार ६ सय १८ जना पुरुष मतदाताले पनि नाम दर्ता गराएका छन् । अद्यावधिकको विवरण भने केही दिनपछि मात्रै सार्वजनिक हुने कार्यालयले जनाएको छ ।
एक महिने अभियान सञ्चालन गरिए पनि जिल्लामा अझै ठूलो संख्या छुटेको छ । अभियान सञ्चालन गर्नुअघि कार्यालयले दिएको जानकारी अनुसार झण्डै ६४ हजार नागरिकले मतदाता नामावलीमा नाम दर्ता गराएका थिएनन् । जसमध्ये यो एक महिने अभियानमा तीन हजारले मात्र नाम दर्ता गराएका छन् । अझै ६० हजार भन्दा बढी नागरिक यो अभियानमा सहभागी भएनन् ।
कसैले थाहा नपाएर तथा कोही देशभन्दा बाहिर भएकाले पनि ठूलो संख्या छुट्न पुगेको जिल्ला निर्वाचन कार्यालय सुर्खेतका निर्वाचन अधिकारी सुनिता थापा बताउँछिन् । ‘पहुँच र सूचना पुगेको क्षेत्रहरूमा सबै जना मतदाता नामावली दर्ता गराउन आउनुभएको छ । त्यही हो दुगर्म भेगका व्यक्तिहरू दर्ता स्थल भएको ठाउँसम्म आउन नसक्नु र सूचना समयमा नपाउँदा रुचि नभएको जस्तो देखिएको मात्र हो’ उनले भनिन् । उनले अपेक्षा गरिए अनुसार नै नामावली संकलन हुन सफल भएको बताइन् ।
२०७३ असोज मसान्तसम्ममा महिला ९२ हजार आठ सय ६६ जना, पुरुष ८६ हजार पाँच सय ४७ जना र तेस्रो लिङ्गी एक जना गरी जम्मा एक लाख ७९ हजार चार सय १४ जनाको मतादाता नामावली संकलन भएको थियो । उक्त तथ्यांकमा त्रुटीहरू सच्याउनुपर्ने तथा दावी विरोधको लागि पुनः नामावली संकलन गरिएको हो । तर यस पटक पनि जिल्लाका सबै नागरिकले नाम दर्ता गराएका छैनन् ।
सरकारले १६ वर्ष उमेर पूरा गरेका सबै नेपाली नागरिकहरूको पूर्ण परिचय खुल्ने गरी विधुतीय माध्यमबाट राष्ट्रिय परिचयपत्र पनि बनाउने भएकोले उक्त प्रयोजनका लागि १६ वर्ष उमेर पुगेका नागरिकहरूको विवरण संकलन गरिएको हो । मतदाता नामावली त्रुटीरहित भए मात्र मतदाताले ढुक्कसँग मतदान गर्न पाउने र निर्वाचन स्वतन्त्र, निष्पक्ष एवम् विश्वसनीय हुने भएकाले फोटोसहितको मतदाता नामावली संकलन गरिएको जिल्ला निर्वाचन अधिकारी थापाले बताइन् । पुरानो मतदाता नामावलीमा एउटै मतदाताको नाम एकभन्दा बढी स्थानमा रहेको, योग्यता नपुगेको, मृत्यु भइसकेका र बसाइँ सरेका व्यक्तिहरूको नाम पनि मतदाता नामावलीमा समावेश भएको जस्ता त्रुटीहरू सुधार गर्नुपर्ने भएकोले फोटोसहितको नयाँ मतदाता नामावली तयार गर्नुका साथै अद्यावधिक पनि गरिएको उनले जनाइन् ।
प्रकाशित मितिः २२ माघ २०७३, शनिबार ११:२५
साझा बिसौनी ।