रितुको आगमनले उमंग
जीवनमा भेटिएका कयौ साथीहरू हुन्छन् तर कोही एउटा मात्र साथी हुन्छ जोसँग मन साटिएको हुन्छ । यस्तै हरिलाल खड्काले पनि कसैसँग मन साटेका थिए एकोहोरो भए पनि । अतितका केही पल खड्काको जीवनमा पनि अजम्बरी बनेर बस्न पुग्यो ।
रितुलाई पहिलो पटक देख्ने बित्तिकै हरिलालले आफ्नो मनमा राखे । रितुको रूप र सुन्दरताले खड्कालाई एकै नजरमा लोभ्याएको थियो । पहिलो पटक उनले रितुलाई उनको दिदीको घरमा देखेका थिए । देख्नेबित्तिकै उनको दिलमा घण्टी बज्यो उनले मन पराए । पहिलो भेटमा उनीहरूबीच सामान्य परिचयसम्म भएको थियो । तर त्यस पछि भने सात वर्षसम्म उनीहरूबीच भेटघाट नै भएन ।
खड्कालाई लाग्यो कि सुरुमा त उनी मेरो लागि बनेकी होइनन् । त्यसैले त सात वर्षसम्म भेट भएन । हुन त भेट्ने कोशिस पनि गरिएन । खड्का आफ्नो पढाइ र काममा नै व्यस्त भए । उनले भने, ‘रितुसँग पहिलो भेटपछि सात वर्षसम्म हाम्रो भेट र कुराकानी केही भएन म आफ्नो काममा व्यस्त नै भएँ, मैले पनि भेट्ने कोशिस गरिनँ ।’ भनिन्छ नि लेखेको पाइन्छ देखेको पाइदैन । हरिलाल र रितुको पहिलो भेट भएको सात वर्षपछि फेरि भेट भयो । त्यतिबेला खड्काको दाइले रितुको फुपुलाइै विहे गरेका कारण खड्का र रितुको साइनो पुसाई भदैनीको थियो । अब त खड्कालाई रितुसँग बोल्न झन् सजिलो भएको थियो । त्यसपछिका दिनमा उनीहरूको भेटघाट बाक्लिंदै गयो । सात वर्षपछि आफूले मन पराएको मान्छेलाई पाउँदा खड्काले सोचे अब रितुसँग प्रेम प्रस्ताव राख्नु पर्छ । रितुसँग खड्काले प्रेम प्रस्ताव पनि राखे तर, रितुले खड्कालाई घरमा बाबाआमासँग नै कुरा गर्न लगाइन् । हुन त रितुलाई पनि खड्का मन परेका थिए ।
दुवै परिवारबीच पारिवारिक सम्बन्ध थियो । त्यसैले पनि विवाहको कुरा गर्न गाह्रो भएन । उनलाई लाग्यो मन पराएको मान्छे पाउनको लागि उनको घरपरिवारसँग कुरा गर्न के नै गाह्रो भो र, त्यसैले पनि उनले मनमा आँट लिएर रितुको हात माग्न उनको घरमा पुगे । रितुको घरमा पनि परिवार सकारात्मक भए । छोरी दिने तर, केही वर्ष पछिमात्र भन्ने शर्तमा कुरा त भयो । तर, पछि खड्का र रितुले भने भागी विवाह गर्ने निर्णय गरे । उनीहरूले २०६९ सालमा भागी विवाह गरे ।
पिता अमाने खड्का र माता लिला खड्काको कोखबाट २०४३ सालमा रानीवास–३ सुर्खेतमा जन्मिएका हरिलाल खड्काको बाल्यकाल केही दुःख अनि केही सुखसँग बित्यो । गाउँमा जन्मिएर हुर्किएका कारण विद्यार्थी जीवनदेखि खड्काको घरको काम समेत गर्नुपथ्र्याे । उनी बाल्यकालदेखि पढाइमा अगाडि नै थिए । कक्षा एकदेखि १० सम्म रानीवासमा नै पढेका खड्का कक्षामा सधैं प्रथम हुन्थे । १० भाइबहिनी मध्येमा नौ सन्तानका रूपमा जन्मिएका खड्का बाल्यकालमा अलि जिज्ञाशु स्वभावका थिए । केही नयाँ कुरा वा विषय वस्तु थाहा पाए वा देखे भने त्यसको बारेमा उनलाई जान्ने पर्ने हुन्थ्यो । कक्षा १० सम्म रानीवासमा पढेका खड्का उच्च शिक्षा पढ्न वीरेन्द्रनगर आए । उनले सुर्खेत शिक्षा क्याम्पसबाट स्नातकसम्मका पढाइ सकेर अहिले स्नातकोत्तर पढ्दै छन् ।
हरिलाल वीरेन्द्रनगरमा पढाइ पूरा गर्न आएका थिए तर, उनले वीरेन्द्रनगरमा आफ्नो भविष्य नै उज्यालो बनाउन सफल भए । मेहेनत र परिश्रम गर्न सकेमा जो कोही पनि जीवनमा आफ्नो लक्ष्यमा पुग्न सक्ने उनको भनाइ छ । उनी अहिले समाजसेवी, शिक्षाप्रेमी र सुर्खेत देउती नेपाल बोर्डिङ्ग स्कुलमा निर्देशक तथा जुनियर जेसीजको पूर्व राष्ट्रिय संयोजक पनि भइसकेका छन् । खड्काको जीवनमा रितुको आगमनले नयाँ उमंग नै छायो । एक्लो जीवनमा साथ र हौसला दिने जीवनसाथीको रूपमा आफूले मन पराएको मान्छे पाउँदा सायद सबैको जीवन सुखमय नै हुन्छ । उनी भन्छन्, ‘उनलाई पाएपछिको मेरो जीवन नै परिवर्तन भयो ।’
विवाह पछिका दिनमा रितुलाई माइती र घर बीचमा र छोरी र बुहारी हुनुमा अन्तर पाइनन् । उनलाई विवाहपछि घरमा बस्नु परेन । श्रीमान्कै साथमा सँगै बसेका कारण पनि रितुलाई माइतीबाट टाढा हुनुको अनुभव त्यति धेरै भएन । हुन त छोरी–बुहारी कसैको श्रीमती हुन जाँदा फरक त हुन्छ नै तर, रितुलाई भने धेरै फरक लागेन । उनले सहजै खड्कासँग जीवनलाई सुखमय बनाउन सफल भइन् ।
पिता मनवीर विष्ट र माता कृती विष्टको कोखबाट २०४६ सालमा छिन्चुमा जन्मिएकी रितुको बाल्यकाल पढाइ लेखाइमा नै बित्यो । उनी ६ भाइबहिनी मध्येकी माइली छोरी थिइन् । उनले कक्षा एकदेखि कक्षा १२ सम्म छिन्चुमा नै पढिन् ।
एकअर्काेबीचमा सकारात्मक सोचाइ भएका दाम्पत्य सम्बन्धमा खटपट नआउने यो जोडीको भनाइ छ । जब विचार नै नकारात्मक भयो भने त्यो सम्बन्धमा पनि नकारात्मक नै असर देखिन्छ । एकअर्काेको भावना, विचार बुझेर र एकअर्काेप्रति सकारात्मक सोचाइ राख्न सकेमा मात्र सम्बन्ध दिगो हुन्छ । यो जोडी एकआपसमा झगडा नभएको बताउँछन् । दुवैमा एकअर्काेलाई बुझ्ने भएकाले पनि झगडा हुँदैन ।
यो जोडी एकअर्काेको जन्मदिन र विवाह गरेको वर्ष आउँदा एकअर्काेलाई गिफ्ट दिएर मनाउने गर्छन् । खड्का बाहिर काममा अलि बढी व्यस्त हुने भएकाले रितुलाई घुमाउन भने लैजान नपाएको बताउँछन् । उनी भन्छन्, ‘विवाहपछि हामी त्यसरी घुम्न गएका त छैनौं समय नमिलेर पनि हो, अब घुम्न जाने सोचमा छौं ।’
खड्कालाई रितुको काम गर्ने शैली एकदमै मन पर्ने गर्छ । कहिले काहीं आफ्नै कुरामा अलि बढी जिद्दी गर्ने बानी भने खड्कालाई अलि मन पर्दैन । खड्का भन्छन्, ‘आफ्नो कुरामा अलि जिद्दी गर्ने बानी रितुले हटाइदिए हुन्थ्यो जस्तो लाग्छ ।’ त्यस्तै रितुलाई पनि खड्काको अरु रिसाएको समयमा सहजै रूपमा फकाउन, सम्झाउन सक्ने बानी मन पर्ने गर्छ । खड्का बाहिरी काममा अलि बढी नै व्यस्त हुने भएकाले रितुलाई लाग्ने गर्छ कहिले काहीं घरमा पनि समय दिएको भए हुन्थ्यो । उनले भनिन्, ‘उहाँको चाहिँ मलाई यही बानी मन पर्दैन ।’
खड्का काममा जति व्यस्त भए पनि फुसर्द भएको समयमा घरको सम्पूर्ण काममा रितुलाई सघाउने गर्छन् । उनी भन्छन्, ‘ठूलो परिवारमा जन्मिएर हुर्किएको मान्छे म काम गर्नलाई अल्छी गर्दिन ।’ यो जोडीका अनुसार जीवन भनेको यात्रा हो अनि संघर्ष हो । जुन व्यक्तिले जीवनमा संघर्ष गर्छ त्यो व्यक्तिले सफलता पाउँछ । उनीहरू भन्छन्, ‘जीवनसाथी भनेको एकअर्काेको सुख–दुःखमा साथ दिने साथी हुन् ।’ सुख–दुःख बिसाउने चौतारी हुन् जीवनसाथी । उनीहरूका अनुसार प्रेम र विवाह शब्दमा फरक छ । प्रेम जोसँग पनि गर्न सकिन्छ । तर, विवाह सबै सबैसँग गरिदैन जो एउटासँग मात्र गरिन्छ ।
प्रकाशित मितिः २२ माघ २०७३, शनिबार ११:२१
साझा बिसौनी ।