नयाँ ताल खोज्दै स्थानीय सरकार


डोल्पाका स्थानीय सरकारले ताल खोजीलाई तीव्रता दिएका छन् । पर्यटन प्रवद्र्धन र आन्तरिक आयस्रोत वृद्धि गर्नका लागि पालिकाभित्र रहेका नयाँ ताल र प्राकृतिक सम्पदाको खोजीमा लागेका हुन् ।

डोल्पो बुद्ध गाउँपालिकाले हालैमात्र नयाँ ताल फेला पारेको छ । पाँच हजार एक सय ९० मिटर उचाइमा नयाँ ताल फेला परेको गाउँपालिकाका अध्यक्ष कार्मा छोइवेल गुरुङले जनाए । समुद्र सतहदेखि चार हजार एक सय मिटर उचाइमा रहेको डोल्पो बुद्ध गाउँपालिका वडा नं. ६ फालगाउँको हिमालमा नयाँ तालको रुपमा स्थानीयले कुन्ख्येन फालक ताल पहिचान गरेका हुन् । स्थानीयले नै तालको नामाकरण गरेका छन् । पालिकाभित्र अझै चारवटा ताल संरक्षणको अभावमा रहेको प्रमुख प्रशासकीय अधिकृत मनबहादुर थापाले बताए । विशेष खोज र अनुसन्धानको अभावमा धेरै ताल भए पनि पहिचान र संरक्षण हुन नसकेको उनको भनाइ छ ।

आन्तरिक आम्दानीको स्रोत बढाउने उद्देश्यले डोल्पो बुद्धले हिमतालको खोजी गर्ने योजना अघि सारेको थियो । पर्यटकीय सम्पदाहरुको खोजी, पहिचान र प्रचारमार्फत पर्यटक भिœयाउने र पालिकाको आन्तरिक आम्दानी वृद्धि गर्ने लक्ष्य रहेको अध्यक्ष गुरुङले बताए । पहिचान हुन नसक्दा थुप्रै पर्यटकीय सम्पदाहरु आझेलमा परेको उनी बताउँछन् ।

डोल्पाकै छार्काताङसोङ गाउँपालिकामा पनि नयाँ ताल भेटिएको छ । सबैभन्दा अग्लो स्थानमा भेटिएको भनिएको नयाँ ताल छार्कताङसोङ गाउँपालिका वडा नं. १ स्थित उच्च मानव बसोवास भएको छार्कभोटमा युवाहरूले पहिचान गरेका हुन् । एकपछि अर्को गरेर ताल फेला पर्दै जानुले डोल्पा ताल तलैयाहरुको भण्डार मानिएको छ । छार्कभोटमा युवाहरूले चार दिन लगाएर तालको सर्वेक्षण गरेका थिए । सर्वेक्षणको क्रममा पङभोर नामले चिनिने तालको उचाई हालसम्मकै सबैभन्दा अग्लो रहेको दाबी गरिएको छ ।

छार्काताङसोङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमरराज सेजुवालले विशेष संरक्षणको अभावमा आठ/नौ वटा ताल पालिकामा रहेको बताए । एक महिनाअघि जीपीएस ट्रयाकिङ्ले प्रमाणित गरेर पङभोर ताल पहिचान भएको उनले जानकारी दिए । पङभोर तालको उचाई समुन्द्र सतहदेखि पाँच हजार पाँच सय ५० दशमलब ९ मिटरको उच्चाईमा रहेको बताइएको छ ।

यसअघि नै डोल्पामा रहेको शे–फोक्सुण्डो तालले विश्व पहिचान कमाएको छ । डोल्पामा फेरि नयाँ ताल भेटिने क्रम जारी छ । शे–फोक्सुण्डो गाउँपालिका वडा नं. ८ मा पर्ने फोक्सुण्डो तालमा पर्यटकको संख्या दिनप्रतिदिन वृद्धि भइरहेको छ । गाउँपालिकाका अध्यक्ष धावा सम्डुक गुरुङ भएका तालको संरक्षण र नयाँ तालको खोजीमा पालिका लागि परेको बताउँछन् । उनका अनुसार नामाकरण हुन बाँकी रहेका ४÷५ वटा ताल रहेका छन् । संघीय सरकारले यसको खोज अनुसन्धान र संरक्षण गर्नुपर्ने उनको भनाइ छ । जति धेरै तालहरू भेटिए पनि उच्च स्थानमा रहेको भन्ने प्रमाणित भने सरकारको आधिकारिक निकायले गर्नुपर्ने भएकोले तत्काल यस्ता तालको मापन तथा सर्वेक्षण गरी आधिकारिकता दिन सरकार गम्भीर हुनुपर्ने गाउँपालिकाले जनाएको छ ।

प्रदेश सरकारले हिमाली क्षेत्रमा पछिल्लो समय पत्ता लागेका नयाँ तालको प्रमाणित गर्ने भएको छ । उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री कृष्णकुमार बिसीले नयाँ तालतलैया भेटिनु खुसीको कुरा भएको बताए । स्थानीय सरकारसँग समन्वय गरेर प्राविधिक टोलीले नयाँ तालको नापजाँच गर्नेगरी योजना बनाएको उनको भनाइ छ । नयाँ तालको खोजी र भेटिएका तालको संरक्षण गरिने बिसीले जनाए । उनले भने, ‘पर्यटकीय क्षेत्रहरूको सम्भावनाको खोजीमा प्रदेश सरकारले स्थानीय तहसँग समन्वय गर्नेछ ।’ आवश्यक बजेटको व्यवस्था गरेर ताल तलैया संरक्षणका कार्यक्रम सञ्चालन गरिने उनले बताए ।

डोल्पाका प्रमुख जिल्ला अधिकारी भूमिश्वर पोखरेलले जिल्लामा नयाँ ताल भेटिने क्रम जारी रहेको जानकारी दिए । पहिल्लो केही दिनमा डोल्पो बुद्ध र छार्काताङसोङ गाउँपालिकामा नयाँ ताल भेटिएकाले त्यसको प्राविधिक नापजाँच गरिने बताए । तालको नापजाँचका लागि राष्ट्रिय ताल संरक्षण विकास समिति र जल तथा मौसम विज्ञान विभागमा अनुरोध गरिएको उनको भनाइ छ ।

प्रकाशित मितिः   १ आश्विन २०८०, सोमबार १६:५८