दुल्लूमा ‘स्मार्ट सिटी’को योजना अलपत्र


दैलेखको दुल्लूमा नयाँ सहर (स्मार्ट सिटी) बनाउने योजना अलपत्र परेको छ । चालु आर्थिक वर्षबाट उक्त कार्यक्रम कटौती गरेपछि योजना अलपत्र परेको हो । सरकारले आर्थिक वर्ष २०७४/०७५ बाट नयाँ सहर (स्मार्ट सिटी) बनाउने योजना ल्याएको थियो । उक्त वर्ष ५० लाख बजेट विनियोजन गरिएको थियो । लगातार तीन आर्थिक वर्षमा ५०/५० लाख स्मार्ट सिटी निर्माणका लागि विनियोजन गर्दै आएको सरकारले यो वर्ष भने कार्यक्रम नै कटौती गरेको हो । बजेट विनियोजन नभएपछि आयोजना अलपत्र परेको छ । सहरी विकास तथा भवन निर्माण विभाग अन्तर्गतको नयाँ सहर आयोजना समन्वय कार्यालय सुर्खेतका अनुसार पर्याप्त बजेट नहुँदा नयाँ सहर निर्माणको कामले निरन्तरता पाउन नसकेको हो । तीन आर्थिक वर्षमा गरी दुल्लूमा सरकारले डेढ करोड बजेट विनियोजन गरेको भए पनि कुनै पनि उल्लेखीय काम हुन सकेको छैन ।

आयोजना सुरु भएको करिब सात वर्ष पूरा भए पनि प्रभावकारी काम देखिएको छैन । हरेक वर्ष बजेट विनियोजन गरिए पनि कार्यान्वयनमा फितलो योजनाले मूर्तरूप पाउन नसकेको हो । पहाडबाट तराईमा हुने बसाइँसराइ रोक्न आर्थिक वर्ष २०७४/०७५ मा सरकारले ल्याएको योजना अन्तर्गत दुल्लूमा नयाँ सहर निर्माण थालिएको थियो । एक लाख जनसंख्या बसोबास गराउन आवश्यक सम्पूर्ण पूर्वाधारसहित योजनाबद्ध सहरीकरण गरी व्यवस्थित सेवा केन्द्र, कृषि, शैक्षिक, पर्यटन तथा अन्य सेवाहरूको विकास गर्न सरकारले योजना अघि सारेको हो ।

नयाँ सहर अन्तर्गत, सुविधा सम्पन्न अस्पताल, खानेपानी, पार्क निर्माण लगायतको लक्ष्य राखिएको थियो । दुल्लू नगरपालिकाका सबै वडासम्म सडक पु¥याउने योजना पनि थियो । मनोरञ्जन पार्क, बजारभित्रको सडक कालोपत्रे गर्ने र बसपार्क बनाउने लगायतका योजना बनेका थिए । सरकारले बजेट अभावको कारण देखाउँदै ‘स्मार्ट सिटी’ को योजना कटौती गरेको दुल्लू नगरपालिकाले जनाएको छ । नगर प्रमुख भरतप्रसाद रिजालले सरकारले नयाँ सहर निर्माणको योजना कटौती गर्दा नगरपालिकाले राखेको लक्ष्य पूरा गर्न समस्या हुने बताए । अघिल्ला वर्षहरूमा समेत न्यून बजेट विनियोजन हुँदा अपेक्षित काम गर्न नसकिएको उनको भनाइ छ । ‘आयोजना सुरु भएको करिब सात वर्ष पूरा भयो’ नगर प्रमुख रिजालले भने, ‘अहिलेसम्म एउटा संरचना समेत बनेको छैन ।’ सुविधा सम्पन्न अस्पताल, खानेपानी, विद्युतलगायतका आधारभूत विकासका कुराहरू अघि बढ्ने आशा भए पनि नमुना सहरको कार्यक्रम कटौती हुँदा निराशा छाएको नगर प्रमुख रिजालले बताए ।

दुल्लू नयाँ सहर अन्तर्गतका कभर्ड हल निर्माण, बसपार्क निर्माण, ढल निकास, जग्गा एकिकृत गर्ने लगायतका काम ओझेलमा परेका छन् । नयाँ सहरको योजना कटौती भएपछि नगरपालिकाले अघि सारेका विभिन्न कार्यक्रममा समेत बाँधा पुग्ने बताइएको छ । दुल्लूमा व्यवस्थित सहरीकरण गर्न नयाँ सहर निर्माण गर्ने सरकारको योजना अलपत्र परेको हो । अघिल्ला आर्थिक वर्षहरूमा आएको डेढ करोड बजेटमा एउटा सीटी हल निर्माणका लागि फिल्ड निर्माण गरिएको छ भने केही तिर्थस्थलहरूमा मठमन्दिरको पूर्वाधार निर्माण गरिएको नगरपालिकाले जनाएको छ ।

नयाँ सहर निर्माणको योजनाअनुसार अहिलेसम्म दुल्लूमा धेरै पूर्वाधारहरू निर्माण भइ निजी क्षेत्रको लगानी वृद्धि हुने तथा नयाँ सहरमा बसोबासका लागि आकर्षण बढ्नुपर्ने थियो । तर कुनै पनि काम भएको देखिँदैन । नयाँ सहरका रूपमा निर्दिष्ट क्षेत्रमा कालोपत्रे सडक निर्माण, व्यवस्थित विद्युतीकरण, खानेपानी, ढल निकासीलगायतको प्रबन्ध, उद्यान, खेलमैदान, मनोरञ्जनस्थल, हाट बजारलगायतको निर्माणका कार्य व्यवस्थित रूपमा हुन नसकेको हो । अतिरिक्त बसोबासलाई व्यवस्थित गर्ने, बसाइँ सरी तराईका जिल्ला तथा ठूला सहरहरूमा जानेहरूलाई रोक्न र सहरलाई आकर्षण गराउन विशेष सुविधाहरूको व्यवस्था गर्न नयाँ सहरको अवधारणा ल्याइएको हो ।

प्रकाशित मितिः   १ आश्विन २०८०, सोमबार १६:५३