विकासको सुस्त गति

राकम कर्णाली नयाँ सहर आयोजना निर्माणको काम निकै सुस्त गतिमा अगाडी बढेको छ । आयोजना सुरु भएको करिब १२ वर्ष पूरा भएपनि अझै प्रभावकारी काम हुन सकेको छैन । हरेक वर्ष बजेट विनियोजन गरिए पनि कार्यान्वयनमा फितलो योजनाले मूर्त रूप पाउन नसकेको हो । पहाडबाट तराईमा हुने बसाइँसराइ रोक्न आर्थिक वर्ष २०६७÷०६८ मा सरकारले ल्याएको योजना अन्तर्गत राकममा नयाँ सहर निर्माण थालिएको हो । एक लाख जनसंख्या बसोबास गराउन आवश्यक सम्पूर्ण पूर्वाधारसहित योजनाबद्ध सहरीकरण गरी व्यवस्थित सेवा केन्द्र, कृषि, शैक्षिक, पर्यटन तथा अन्य सेवाहरूको विकास गर्न सरकाले योजना अघि सारेको थियो । २०६८ सालदेखि कार्यालय स्थापना गरेर काम सुरु भएको छ । तर अहिलेसम्म लक्ष्यअनुसारको काम हुन सकेको छैन । जग्गा विवाद र बजेट अभावका कारण भनेजति काम हुन नसकेको जनाइएको छ ।

सरकारले नयाँ सहर परियोजना निर्माणका लागि बजेट पनि न्यून विनियोजन गर्ने गरेको छ । प्रत्येक आर्थिक वर्षमा सरकारले बजेट विनियोजन गर्छ । गत आर्थिक वर्ष २०७९/०८० मा नयाँ सहरको परियोजना निर्माणका लागि १८ करोड पुँजीगत बजेट विनियोजन भएको थियो । उक्त बजेट आयोजना निर्माणका लागि पर्याप्त भएन । चालु आर्थिक वर्षमा सरकारले बजेट कटौती गरेको छ । चालु आर्थिक वर्ष २०८०/०८१ मा १३ करोड पुँजीगत बजेट छुट्याएको छ । अहिलेसम्म सडक सोलार बत्ती, मसानघाटमा प्रतीक्षालय, तीन सय पाँच मिटर सडक कालोपत्रे, सिगौडीको कुमालखाडादेखि निमायलसम्म कच्ची सडक, चार वटा कर्णाली राजमार्गछेउमा यात्रु प्रतीक्षालय मात्रै सकेर आयोजनाले आफ्नो प्रगति गरेको देखाएको छ । जग्गा एकीकरण आयोजनाअन्र्तगत बगरखेत र खेडावाडा नयाँ सहरका लागि छानिएका छन् । बगरखेतमा मुआब्जा विवादले काम रोकिएको छ भने खेडावाडामा डीपीआर सम्पन्न भइ जग्गाधनीहरूको लालपुर्जा र नक्सापासको कागजात संकलन गर्ने कार्य भइरहेका छ । आयोजनाको डीपीआर बनाउने काम भएपनि भौतिक निर्माणको काम निकै सुस्त देखिएको छ ।

राकम कर्णालीमा नयाँ सहर निर्माणका लागि २० वर्षे योजना निर्माण गरिएको छ । कर्णाली नदी किनारमा आधुनिक सहर (स्मार्ट सिटी) निर्माण योजनाको अवधारणा ल्याइएको हो । ग्रामीण बस्तीमा स्वास्थ्य र शिक्षालाई प्रभावकारी सेवा प्रदान गर्ने अभियानसँगै एकीकृत बस्ती विकास गर्न राकम कर्णालीमा नयाँ सहर बनाउने योजना बनेको थियो । मध्यपहाडी राजमार्गमा निर्माण गरिने दश नयाँ सहरमा परेको राकम कर्णालीमा काम भने सुस्त गतिमा भइरहेको छ । ६ वर्ष योजना निर्माणको काम विवादमै गुज्रियो । पहिल्लो ६ वर्षमा भने स–साना मात्र काम भइरहेका छन् ।

प्रकाशित मितिः   २९ भाद्र २०८०, शुक्रबार ०५:०३