स्वास्थ्य विज्ञान प्रतिष्ठानका कर्मचारी आन्दोलित

जुम्ला: कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान (शिक्षण अस्पताल) जुम्लाका शिक्षक तथा कर्मचारीहरू आन्दोलनमा उत्रिएका छन् । उपकुलपति डा. मंगल रावलविरुद्ध उनीहरू आन्दोलित भएका हुन् । रावलले पटकपटक पदाधिकारी नियुक्त गरेर प्रतिष्ठानमा आर्थिक संकट सिर्जना गरेको बताइएको छ ।

गत शनिवार राति डेन्टल सर्जन प्रेनित पोखरेललाई स्कुल अफ मेडिसिनको डिनका रूपमा उपकुलपति डा. रावलले नियुक्त गरेपछि शिक्षक÷कर्मचारीहरू आन्दोलनमा उत्रिएका हुन् । २०७७ मंसिर ९ गते प्रतिष्ठानका पदाधिकारी र कर्मचारी कल्याणकारी समाजबीच प्रतिष्ठानमा एक जना मात्र डिनको प्रावधान राख्ने र अन्य संकायहरूमा सहायक डिनहरू राख्ने व्यवस्था गर्ने निर्णयसहित सम्झौतापत्रमा हस्ताक्षर गरिएको थियो । उक्त सम्झौतापत्र विपरीत डिन नियुक्त गरेपछि प्रतिष्ठानका शिक्षक कर्मचारीहरू आन्दोलनमा उत्रिएका हुन् ।

सम्झौताअनुसार पब्लिक हेल्थ डिन मुनिराज क्षेत्री हुँदाहुँदै अर्को डिन नियुक्त गर्नु जरुरी नभएको शिक्षक कर्मचारीहरूको ठहर छ । रजिष्टार नृपेन्द्र महत समक्ष शिक्षक कर्मचारीहरूले प्रेस विज्ञप्ति बुझाएर उपकुलपति रावलले प्रतिष्ठानको गरिमामाथि आँच आउने खालका गतिविधि गरेकोले बाध्य भएर आन्दोलनका कार्यक्रम अघि बढाउनुपर्ने अवस्था आइपरेको कर्मचारीहरूले बताएका छन् । ‘कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान एक पिछडिएको क्षेत्रमा स्थापित स्वायत्त संस्था हो । पिछडिएको क्षेत्रमा स्थापना भइ शैक्षिक, स्वास्थ्य उपचार तथा अनुसन्धानका क्षेत्रमा फड्को मारिरहेको छ,’ प्रेस विज्ञप्तिमा भनिएको छ, ‘उपकुलपतिको मनोमानीका कारण हाल प्रतिष्ठान आर्थिकलगायतका क्षेत्रमा संकटग्रस्त अवस्थामा गुज्रिरहेको छ । यो समग्र कर्णालीको लागि नै दुःखद सन्देश हो ।’

प्रतिष्ठानको हितमा प्रतिष्ठान तथा तत्कालीन कर्मचारी कल्याणकारी समाजबीच भएको सम्झौताअनुसार कार्यकारी परिषद्ले समेत अबउप्रान्त एक मात्र डिन रहने निर्णय गरेको थियो । विज्ञप्तिमा भनिएको छ, ‘उपकुलपति ज्यूले विविध बहाना बनाइ राजनीतिक दाउपेचमा परी प्रा.डा. मुनिराज क्षेत्री एक जना डिन कार्यरत हुँदाहुँदै पुनः अर्को डिन नियुक्ति गर्नु उक्त निर्णयको उल्लंघन भएको छ । यो सहेर बस्न सकिने अवस्था छैन ।’

प्रतिष्ठानले कर्मचारीहरूको नियमावलीले तोकेको तलब, भत्ता तथा सेवा सुविधामा समेत बजेट अभाव भन्दै तोकिएको तलब र भत्ता खुवाउन सकेको छैन । जसकारण प्रतिष्ठानका सयौँ स्थायी शिक्षक तथा कर्मचारी बढुवा हुनबाट वञ्चित भएका छन् । साथै शिक्षक तथा कर्मचारीहरूले लोकसेवाको प्रक्रियाबाट स्थायी कर्मचारी छनोटमा रोक लगाएको, सम्मानित अदालतको आदेशसमेत अवहेलना गरेकाजस्ता कार्यहरूले प्रतिष्ठानलाई फाइदा नगर्ने निष्कर्षमा पुगेको जनाएका छन् ।

आन्दोलनमा उत्रिएका शिक्षक÷कर्मचारीले उपकुलपति डा. रावलले नयाँ डिन नियुक्तिको गलत निर्णय यथाशीघ्र २४ घण्टाभित्र सच्याउनुपर्ने माग राखेका छन् । यदि उक्त निर्णय नसच्चिए प्रतिष्ठानका संघ, संगठन र सम्पूर्ण शिक्षक तथा कर्मचारीहरू थप सशक्त आन्दोलनमा जाने समेत उनीहरूले चेतावनी दिएका छन् ।

प्रकाशित मितिः   २० भाद्र २०८०, बुधबार ०५:०१