जनशक्ति अभाव, उपकरण प्रयोगविहीन
सुर्खेत: स्वास्थ्य सेवा कार्यालय (जिल्ला अस्पताल) सल्यानमा दक्ष जनशक्ति नहुँदा उपलब्ध स्वास्थ्य उपकरण प्रयोगविहीन बनेका छन् । आवश्यक जनशक्ति नै नभएको अस्पतालमा विशेषज्ञ चिकित्सक नै छैनन् । जसले गर्दा महँगो रकम खर्चिएर खरिद गरिएका सामग्री नै प्रयोगविहीन भएर थन्किएका छन् भने नागरिकले पर्याप्त स्वास्थ्य सेवा लिन पाएका छैनन् । जटिल रोगको उपचार गर्न बाहिरी जिल्ला जानुपर्ने बाध्यता छ ।
स्वीकृत दरबन्दीअनुसार अस्पतालमा ६१ जना स्थायी सेवाका कर्मचारीको पदपूर्ति हुनुपर्ने हो । तर स्थायी दरबन्दीमा ३२ जनाको मात्रै पदपूर्ति गरिएको छ, २९ पद रिक्त छन् । रिक्त रहेका पदमा करार कर्मचारी राखेर सेवा दिने गरिएको छ । विभिन्न पदमा गरेर करारमा ५५ जना कार्यरत रहेका छन् ।
अस्पतालमा विशेषज्ञ चिकित्सकको त चरम अभाव नै छ । विशेषज्ञ डाक्टरको दरबन्दी ६ जनाको हो । तर दरबन्दीअनुसार एक जना पनि अस्पतालमा कार्यरत छैनन् । करार सेवा अन्तर्गत एक जनालाई नियुक्त गरिएको छ । तर एकजनाबाट बिरामीको चापअनुसारको सेवा दिन भने समस्या हुने गरेको छ । त्यसैगरी पाँच जना मेडिकल अधिकृतको दरबन्दी पनि रिक्त छ । छैनन् ।
जनशक्ति अभावकै कारण अस्पतालको सेवामा सुधार हुन सकेको छैन । भएका उपकरण पनि प्रयोगमा आएका छैनन् । भेन्टिलेटरसहितको सेवा दिन जनशक्ति अपुग भएको छ । अन्य उपकरणहरू पनि दक्ष जनशक्तिको अभावकै कारण प्रयोगविहीन अवस्थामा स्टोरमा थन्क्याएर राखिएको छ । भएका उपकरण प्रयोगविहीन हुँदा सेवा लिन आएका बिरामीहरूलाई अन्य अस्पतालमा रिफर गर्नु परेको कार्यालयका निमित्त प्रमुख डा. पुजा आचार्यले बताइन् । उनका अनुसार जिल्ला अस्पतालमा एउटा भिडियो एक्सरे मेसिन, ६ वटा भेन्टिलेटर र एउटा एम्बुलेन्स समेत थन्क्याएर राखिएको छ । महँगो लगानीमा भित्रिएका यस्ता उपकरण प्रयोगमा नआउँदा स्वास्थ्य सेवा प्रवाहमा असर पुगेको बताइएको छ । जिल्लाका नागरिकलाई सहज रूपमा सेवा दिने उद्देश्यले उपकरण अस्पतालमा राखिएको भएपनि उपकरण सञ्चालनमा ल्याउन दक्ष जनशक्ति नहुँदा सर्वसाधारण मारमा परेका छन् ।
अस्पतालले भौतिक पूर्वाधारको समेत अभाव झेलिरहेको छ । अस्पतालको नयाँ भवन निर्माणकै क्रममा छ । तर नागरिकलाई पुरानो भवनबाट सेवा दिइरहेको अस्पतालले जनाएको छ । त्यसमाथि आवश्यक जनशक्तिको समेत अभाव हुँदा उपचार सेवा प्रभावित भएको छ भने पूर्वाधार नहुँदा नागरिकले सहज रूपमा सेवा लिन पाएका छैनन् । एउटै कोठामा बिरामीको भिड लाग्ने, बेड कम हुँदा पनि उपचार गर्न समस्या हुनेगरेको कार्यालयका निमित्त प्रमुख आचार्यले बताइन् । अस्पतालमा दैनिक एक सयदेखि दुई सयसम्म बिरामी उपचारका लागि आउने गरेका छन् ।
कर्णाली प्रदेशका अन्य जिल्ला अस्पतालहरूले जस्तै सल्यानले पनि स्वीकृति पाएकोभन्दा बढी बेडसहित अस्पताल सञ्चालन गरेको छ । यो अस्पतालका लागि १५ शैड्ढयाको स्वीकृति छ । तर अहिले ४८ शैड्ढया सञ्चालनमा छन् । बिरामीको संख्या बढ्दै गएपछि शैड्ढया पनि वृद्धि गरिएको हो । तर सोहीअनुसारको पूर्वाधारको भने अभाव छ । पुरानो भौतिक संरचनाबाट बेड संख्या बढाएर सेवा सञ्चालन गर्दा समस्या भएको कार्यालयका निमित्त प्रमुख डा. आचार्यले बताइन् । ‘बेड पनि थपिन्छ तर स्वास्थ्यकर्मीको दरबन्दी पर्याप्त छैन । एकै पटक धेरै बिरामी आए सकस पर्छ’ उनले भनिन्,‘नयाँ भवन बन्दै छ, ५० शैड्ढयाको अस्पताल स्तरवृद्धि हुँदैछ ।’
ईमरजेन्सी कक्षमा शैड्ढया अभावमा सकस भएजस्तै बिरामी भर्ना कक्षमा पनि असहज हुने गरेको छ । अस्पतालको समस्याका बारेमा संघीय र प्रदेश सरकारलाई जानकारी गराएपनि समस्या हल नभएको अस्पतालले जनाएको छ । प्रयोगविहीन उपकरण, दक्ष जनशक्ति अभाव र जीर्ण पूर्वाधारबाट जिल्ला अस्पतालले सेवा दिइरहेको हो ।
प्रकाशित मितिः १४ भाद्र २०८०, बिहीबार ११:१८
रजनी याेगी ।