अस्पताललाई भवन अभाव

कर्णाली प्रदेशका स्वास्थ्य संस्थाहरूको अवस्था दयनीय छ । भौतिक संरचनाको विकासमा उल्लेख्य प्रगति हुन सकेको छैन । सेवा पनि सुस्त छ । कतिसम्म भने भवन निर्माणमा ढिलाइ हुँदा स्वास्थ्य सेवा कार्यालय (जिल्ला अस्पताल) कालीकोट अहिले अस्थायी टहरोबाट सञ्चालन भइरहेको छ । पुरानो भवन भत्काइएको छ भने नयाँ भवन निर्माण थालेको ६ वर्ष बितिसक्दा पनि सम्पन्न हुन सकेको छैन । जसले गर्दा अस्पतालको सेवा प्रभावित बनेको छ । वि.सं. २०४३ मा स्थानीयवासीको सक्रियतामा सामुदायिक अस्पतालका रूपमा स्थापना गरिएको पुरानो भवन भत्काइएको ६ वर्ष बित्यो । नयाँ भवन निर्माण गर्ने भन्दै उक्त भवन भत्काइएको हो । नयाँ भवन निर्माण कार्य थालिएको समेत वर्ष बितिसक्दासम्म पनि सम्पन्न भएको छैन । हाल अस्पतालको सेवा अस्थायी रूपमा टिनको टहरोबाट दिने गरिएको छ । २०७२ मा निर्माण गरिएको ट्रष्टको भवनबाट अस्पतालको रूपमा सेवा प्रदान गरिएको छ ।

सम्झौताअनुसार नयाँ भवन निर्माणको काम एक वर्षअघि नै सम्पन्न भइसक्नुपर्ने हो । २०७५ असोजमा भएको ठेक्का सम्झौतामा चार वर्षमा काम सम्पन्न गर्ने सहमति छ । तर हालसम्म भवन अस्पताललाई हस्तान्तरण गरिएको छैन । अस्पतालको सेवा भने टिनको छाप्रोबाट प्रवाह भइरहेको छ । अस्पतालको भवन बनाउन डाँफे क्यारावान सुपरस्ट्रार निर्माण कम्पनीले जिम्मा लिएको छ । संघीय सरकारको २१ करोड बजेटमा निर्माण सम्झौता गरिएको छ । सेवाग्राहीको चाप बढ्दा उक्त अस्थायी भवनबाट सहजरूपमा सेवा प्रदान गर्न कठिनाइ भएको छ । पछिल्लो समय अस्पतालमा बिरामीको चाप बढेको छ । बिरामीको चापसँगै विभिन्न नयाँ उपचार सेवासमेत थप्दै जानुपर्दा भवन साँघुरो हुँदै गएको छ । साँघुरो भवनबाट सेवा दिँदा एकै स्थानमा भीड धेरै हुनेगरेको छ । अप्रेशन पश्चात् बिरामीलाई राख्ने ठाउँ अपुग हुँदा समस्या भएको छ । इमरजेन्सी, अपरेशन थियटर, ल्यावलगायतका सेवा प्रवाह गर्न समेत निकै समस्या भएको छ ।

एकातिर भवनको समस्या झेलिरहेको अस्पतालले अर्कोतर्फ जनशक्ति अभावको समस्या पनि बेहोरिरहेको छ । दरबन्दीअनुसारका जनशक्ति नहुँदा समस्या हुँदै आएको छ । १५ शैड्ढयाको मान्यता पाएको उक्त अस्पतालले २७ शैड्ढयाबाट सेवा दिइरहेको छ । अस्पतालमा ४४ जनाको स्थायी दरबन्दी भए पनि हाल २७ जना कार्यरत रहेका छन् । १७ जनाको दरबन्दी रिक्त छ । अस्पतालमा विशेषज्ञ चिकित्सक नै छैनन् । विशेषज्ञ चिकित्सकको दरबन्दी तीन जनाको हो । तर तीन वटै दरबन्दी रिक्त छन् । चिकित्सक नहुँदा अस्पतालबाट विशेषज्ञ सेवा प्रवाह हुन सकेको छैन ।

प्रकाशित मितिः   १० भाद्र २०८०, आईतवार ०९:०४