५७ जना कर्मचारीको सरुवा
सुर्खेत: कर्णाली प्रदेश सरकारले एकैपटक ठूलो संख्यामा कर्मचारीको सरुवा गरेको छ । प्रदेश मातहतका विभिन्न कार्यालयमा कार्यरत ५७ जना कर्मचारीहरूको सरुवा गरिएको हो ।
विशेष गरी सहायकस्तर पाँचौँ तहका कर्मचारीहरूको सुरुवा गरिएको छ भने स्वास्थ्य क्षेत्रका कर्मचारीको पनि कार्य जिम्मेवारीमा हेरफेर गरिएको छ । यस्तै सहायकस्तर छैटौँ, नायब सुब्बा र अधिकृतहरूको पनि सरुवा भएको छ । मुख्यमन्त्रीको कार्यालयले अहिले कार्यरत कार्यालयबाट प्रदेश मातहतकै अर्को कार्यालयमा सुरुवा गरेको हो ।
भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका चार जना कर्मचारीलाई सरुवा गरिएको छ । मन्त्रालयमा लामो समयदेखि कार्यरत अधिकृत राजेन्द्र पौडेललाई योजना आयोगमा सुरुवा गरिएको छ । योजना आयोगमा कार्यरत अधिकृत सुनिल लिम्बुलाई पौडेलको ठाउँमा ल्याइएको छ । लिम्बुले आयोगमा हुँदा निमित्त कार्यालय प्रमुख भएर समेत काम गरेका थिए भने त्यसअघि उनी सामाजिक विकास मन्त्रालयमा थिए ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यरत शाखा अधिकृत नृपजङ्ग शाहीलाई कानुन मन्त्रालयमा कामकाजका रूपमा पठाइएको छ । भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयका पनि तीन जना कर्मचारीलाई सरुवा गरिएको छ । सरुवा हुनेमा एक जना शाखा अधिकृत, एक जना अधिकृत र एक जना सहायक रहेका छन् । शाखा अधिकृत जनकबहादुर हमाललाई प्रदेशसभा सचिवालयमा कामकाजका लागि खटाइएको छ भने भीमबहादुर कार्कीलाई भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयमा पठाइएको छ ।
यस्तै अर्थ मन्त्रालयका चार जना कर्मचारीको सरुवा गरिएको छ । अर्थ मन्त्रालयका दीपकप्रसाद शर्मालाई जलस्रोत मन्त्रालयमा पठाइएको छ भने गणेश प्रसाद श्रेष्ठ र जनक चपाईंलाई प्रदेश अस्पताल सुर्खेतमा पठाइएको छ । यस्तै अर्थ मन्त्रालयकी कम्प्यूटर सहायक इन्द्राकुमारी शाहीलाई प्रदेश वन निर्देशनालयमा पठाइएको छ ।
सबैभन्दा बढी सामाजिक विकास मन्त्रालयका पाँच वटा कर्मचारीको सुरुवा गरिएको छ । अन्य स्वास्थ्य संस्थाका कर्मचारीको पनि कार्यालय हेरफेर गरिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । जिल्लामा रहेका प्रदेश सरकार मातहतका कार्यालयका कर्मचारीको पनि हेरफेर गरिएको छ । पूर्वाधार विकास कार्यालय सल्यानमा कार्यरत टेकबहादुर क्षेत्रीको डिभिजन वन कार्यालय सल्यानमा सरुवा गरिएको छ । कृषि विकास कार्यालय हुम्लामा कार्यरत वीरेन्द्र बहादुर माझिलाई सामाजिक विकास मन्त्रालयमा तानिएको छ ।
शिक्षा विकास निर्देशनालयका दीपेन्द्रबहादुर शाहीलाई लोक सेवा आयोगमा पठाइएको छ भने लोक सेवा आयोगका भीमबहादुर गुरुङलाई स्वास्थ्य सेवा निर्देशनालयमा पठाइएको छ । शाखा अधिकृत रूपा विकलाई पदस्थापन गरी मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कामकाजका लागि खटाइएको छ । सरकारका प्रवक्ता कृष्णबहादुर जिसीले नियमित रूपमा गर्ने गरिएको सरुवा भएको बताए ‘कर्मचारी एउटै ठाउँमा र आफ्नो रोजाइमा बस्ने भन्ने हुँदैन,’ उनले भने, ‘कतिपय ठाउँमा काम नपाएर बस्ने अवस्था छ भने कतिपय ठाउँमा कर्मचारी नपुगेर काम रोकिने अवस्था छ ।’
सेवा प्रवाहलाई मध्यनजर गरेर कर्मचारीहरूको सरुवा गरिएको जिसीको भनाइ छ । अन्य मन्त्रालयहरूले पनि अब आवश्यकताअनुसार कर्मचारीको सरुवा गर्न सक्ने छन् । कर्णाली प्रदेश निजामती कर्मचारीको सरुवा तथा काजसम्बन्धी मापदण्ड, २०७७ अनुसार कर्मचारीको सरुवा गरिएको हो । सरकारले समायोजन भएका र कामकाज गर्न खटिएका निजामती कर्मचारीको सरुवा तथा काजसम्बन्धी कार्यलाई थप व्यवस्थित र पारदर्शी बनाउन उक्त मापदण्ड बनाएको हो ।
प्रकाशित मितिः ८ भाद्र २०८०, शुक्रबार १४:५७
साझा बिसौनी ।