पर्यटन र जडिबुटीमा लगानी गर्न आग्रह
प्रदेश नम्बर ६ को आर्थिक समृद्धिका लागि निजी क्षेत्रले पनि चासो दिन थालेको छ । राज्यको तर्फबाट सीमाकंनको काम मात्र भएको यो प्रदेशमा समृद्धिका लागि विभिन्न योजनाहरू सार्वजनिक हुन थालेका हुन् । प्रमुख दलहरूले प्रदेश समृद्धिको खाका सार्वजनिक गरिरहँदा निजी क्षेत्रले पनि योजना बनाउन थालेको हो ।
नेकपा एमाले निकट व्यवसायीहरू पनि यो प्रदेशको समृद्धिका लागि आवश्यक लगानी गर्ने प्रतिबद्धता जनाएका छन् । यो प्रदेशमा पर्यटन र जडिबुटीको पर्याप्त सम्भावना रहेको भन्दै उनीहरूले यसमा लगानी गर्न सकिने बताएका हुन् । जल, जमिन र जंगलको सदुपयोग गर्दै समग्र प्रदेशको अर्थतन्त्रलाई नै सवल बनाउन सकिने उनीहरूको दाबी छ । त्यसका लागि यो प्रदेशका व्यवसायीहरूले नै आवश्यक लगानी गर्नुपर्नेमा उनीहरूले जोड दिएका हुन् । एमालेका केन्द्रीय नेता र व्यवसायीहरूले पनि अब पर्यटन र जडिबुटीमा लगानी गर्न आग्रह गरेका छन् ।
नेपाल उद्योग तथा व्यवसायी महासंघको प्रदेश नम्बर ६ को सोमवार वीरेन्द्रनगरमा आयोजित भेलामा सहभागी व्यवसायीहरूले प्रदेश समृद्धिको योजना बुनेका हुन् । प्रदेश अन्तर्गतका विभिन्न जिल्लाबाट सहभागी व्यवसायीहरूले यहाँको जलस्रोत र जडिबुटीमा लगानी आवश्यक रहेको बताए । यस्तै लगानी अभावमा नै पर्यटनको विकास हुन नसकेको भन्दै उनीहरूले यसमा लगानी गर्नसकेमा प्रदेशकै अर्थतन्त्र थेग्न सकिने उनीहरूको दाबी छ । भेलामा एमालेका केन्द्रीय उपाध्यक्ष युवराज ज्ञवालीले अन्य प्रदेशभन्दा प्रदेश ६ मा लगानीको सम्भावना धेरै रहेको बताए । उनले भने, ‘यहाँ जल, जमिन, जंगल र जडिबुटी प्रशस्त मात्रामा रहेको छ, तर यसमा आवश्यक लगानी भएको छैन । अब यहाँका व्यवसायीहरूले नै लगानी गर्ने आँट गर्नुस्, यसले प्रदेशकै अर्थतन्त्र थेग्नेछ ।’
प्राकृतिक स्रोत पर्याप्त मात्रामा भए पनि लगानी अभावमा खेर गइरहेको उनको भनाइ छ । पर्यटनमा लगानी गर्नसकेको खण्डमा मात्र यो प्रदेशको आर्थिक विकासले काँचुली फेर्ने उनको दाबी छ । प्रदेशको आर्थिक विकासका लागि यहाँको प्राकृतिक स्रोतलाई उपयोग गर्नुपर्ने उनको भनाइ छ । उनले भने, ‘हामी धेरै कुरामा परनिर्भर छौं, अब आयातमुखी होइन, निर्यातमुखी हुनु पर्दछ । यसले यहाँको समग्र विकासमा टेवा पुग्छ ।’ सो अवसरमा उद्योग तथा वाणिज्य महासंघका प्रमुख मुकुन्द न्यौपानेले प्रदेश नम्बर ६ लाई आर्थिक रूपमा सम्पन्न गराउन यहाँको पर्यटन तथा औद्योगिक क्षेत्रमा लगानी बढाउनुपर्ने बताए । उनले प्रदेश समृद्ध बनाउन हरेक क्षेत्रमा उत्पादन बढाउनुपर्ने र सम्पन्न समाजवादको विस्तार गर्नुपर्नेमा जोड दिए । राज्यको तर्फबाट लगानीको वातावरण भएमा व्यवसायीहरू लगानी गर्न आतुर रहेको उनको भनाइ छ ।
भेलालाई सम्बोधन गर्दै एमालेका पोलिटब्यूरो सदस्य तथा प्रदेश नम्बर ६ का सह–संयोजक यामलाल कँडेलले यो प्रदेशको समृद्धिको लागि व्यवसायीहरू अग्रसर हुनुपर्ने बताए । लगानी भएको खण्डमा पर्यटनको विकास हुने र त्यसले रोजगारी सिर्जना गर्ने उनको भनाइ छ । यसले आम्दानीमा वृद्धि हुने र यहाँको अर्थतन्त्र नै बलियो हुने उनको दाबी छ । यहाँको विकासका लागि व्यवसायीमुखी हुनुपर्नेमा जोड दिए । यस्तै अर्का पोलिटब्यूरो सदस्य प्रकाश ज्वालाले प्रदेशलाई समृद्ध बनाउन पहिला व्यक्ति र समाजलाई उद्योगसँग जोड्नुपर्ने बताए । साना तथा मझौला उद्योगको सम्भावना रहेको भन्दै उनले व्यवसायीहरूलाई उद्योगमा लगानी गर्न उनले आग्रह गरे । एमाले प्रदेशको आर्थिक विकासका लागि प्रतिबद्ध रहेको भन्दै उनले यसमा निजी क्षेत्रले पनि साथ दिनुपर्ने उनको भनाइ छ । भेलामा सहभागी व्यवसायीहरूले प्रदेश समृद्धको मुख्य आधार जलस्रोत र पर्यटन भएको निश्कर्ष निकालेका छन् । साथै उनीहरूले यसमा लगानी गर्न आफूहरू तयार रहेको समेत उल्लेख गरेका छन् ।
प्रकाशित मितिः १८ माघ २०७३, मंगलवार ११:४५
साझा बिसौनी ।