बुढ्यौलीको सहारा ज्येष्ठ नागरिक मिलन केन्द्र

सुर्खेत: ७६ वर्षीय गंगाराम भट्टराई ज्येष्ठ नागरिक मिलन केन्द्र धाउन थालेको एक दशकभन्दा बढी भइसक्यो । वृद्धावस्थामा दिनभर घरमा बसिरहन पनि पट्यार लाग्छ । के गर्ने ? उनी वीरेन्द्रनगर नगरपालिका वडा नं. ८ मा रहेको ज्येष्ठ नागरिक मिलन केन्द्रमा पुगेर भजन कीर्तनमा रमाउँछन् । २०६५ देखि उनको दैनिकी नै त्यहीँ केन्द्रमा बित्छ ।
सेवा केन्द्रमा आयोजना हुने भजन–कीर्तन, प्रवचन र देउडामा रमाउँदा दिन बितेको पत्तै हुँदैन । ‘दैनिक दिवा सेवा केन्द्रमा पुगेर गीत र भजन सुन्न पाउँदा रमाइलो लाग्छ’ भट्टराईले भने, ‘आफ्नै उमेरकाहरूसँग भलाकुसारी पनि गर्न पाइन्छ ।’ उनी छरछिमेकका अरू ज्येष्ठ नागरिकलाई पनि सँगै लिएर सेवा केन्द्रमा पुग्ने गरेका छन् । त्यहाँ पुग्दा मनमा शान्ति हुने र शारीरिक रूपमा तन्दुरुस्त बनेको उनको अनुभव छ ।
७२ वर्षीया खगिसरा अधिकारी पनि दिउँसोको समय दिवा सेवा केन्द्रमै बिताउँछिन् । ‘भजन–कीर्तन र देउडालगायतका गीत संगीतको धुन बज्दा उत्साह र उमङ्ग थपिन्छ’, उनले भनिन्, ‘आफ्नो दिनको साहारा नै यो सेवा केन्द्र बनेको छ । यहाँ आउँदा छुट्टै खालको आनन्द आउँछ दुःख पीर सबै भुल्छु ।’
दिवा सेवा केन्द्रमा भइरहने गतिविधिले मनमा शान्ति हुने गरेको ७३ वर्षीया विष्णु भट्टराईको अनुभव छ । उनले भनिन्, ‘जीवन ठीकै चलेको छ । घरमा पनि सबैले स्याहार र माया गरिरहन्छन् । दिवा सेवा केन्द्रमा आउन थालेको दश वर्ष पुग्यो यसैमा रमाइरहन्छु ।’ यहाँ आउँदा आफूलाई आनन्द आउने गरेको उनको भनाइ छ ।
ज्येष्ठ नागरिक मिलन केन्द्र उनीहरूका लागि तीर्थस्थलजस्तै भएको छ । केन्द्रमा दैनिक कम्तीमा ३० देखि ४५ जनासम्म ज्येष्ठ नागरिक पुग्ने गरेका छन् । त्यसक्रममा उनीहरूले जीवनमा भोगेका सुख दुःखका घटनाका बारेमा आपसमा भलाकुसारी पनि गर्छन् । वीरेन्द्रनगर नगरपालिका वडा नं. ८ को आवास क्षेत्र संगम टोलमा एउटा भवनमा सञ्चालनमा रहेको उक्त सेवा केन्द्रले वृद्धवृद्धाका लागि दिउँसोको समयमा भजन–कीर्तनसहितको गीतसँगीतको व्यवस्थापन गरेर मनोरञ्जन दिँदै आएको हो । भेला हुने ज्येष्ठ नागरिकका लागि खाजा र चियाको व्यवस्था गरिएको हुन्छ । सेवा केन्द्रमा व्यवस्थापनको जिम्मेवारीमा रहेकी डम्बर आचार्यले केन्द्रले दिइरहेको सेवाबाट ज्येष्ठ नागरिकका अलावा आफूलाई पनि सन्तुष्टि भइरहेको बताइन् । उनले भनिन्, ‘खाजा चियाको व्यवस्थासँगै मनोरञ्जन दिने व्यवस्थाले बुढेसकालमा उहाँहरूलाई राम्रै भएको छ । वीरेन्द्रनगर नगरपालिकाले खाजा खर्चको रकम उपलब्ध गराएकोे छ ।’
सेवा केन्द्रमा वीरेन्द्रनगर नगरपालिकाका सबै वडाका ज्येष्ठ नागरिक पायक पर्ने समयमा त्यहाँ पुग्छन । बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म साङ्गीतिक कार्यक्रम चल्छ । वीरेन्द्रनगर नगरपालिका वडा नं. ६ का प्रेम बुढा पनि दैनिक रूपमा दिवा सेवा केन्द्रमा पुग्छन् । वयस्क उमेरमा जस्तो बुढेसकालमा खाने, लाउने र बाँच्ने तरिका पनि फेरबदल आउने गर्दा ज्येष्ठ नागरिकलाई माया र सहाराको आवश्यक हुने उनी बताउँछन् । भन्छन्, ‘घरपरिवारबाट उचित व्यवहार र माया पाइरहेको छु । दिउँसोको समय बिताउन सेवा केन्द्रमा आउँछु ।’
वृद्ध सेवा केन्द्र सुर्खेतद्वारा सञ्चालित ज्येष्ठ नागरिक मिलन केन्द्र २०६५ सालबाट सुरु गरिएको हो । स्थानीय समाजसेवी युवाहरू मिलेर सेवा केन्द्रको स्थापना गरिएको हो । घरपरिवारमा मेलमिलापको काम, ज्येष्ठ नागरिकहरूलाई सेवा पु¥याउने उद्देश्य केन्द्रको छ । मिलन केन्द्रमा महिनामा दुई पटक स्वास्थ्य परीक्षण गरिन्छ । दुई तले भवनको पहिलो तल्लामा भजन कीर्तन र प्रवचनका कार्यक्रम भइरहन्छन् । दोस्रो तल्लामा कार्यालय सञ्चालन गरिएको छ । उक्त दिवा सेवा केन्द्रलाई तीन तहकै सरकारले आर्थिक सहयोग गरेका छन् ।
वृद्ध सेवा केन्द्रकी अध्यक्षसमेत रहेकी डम्बर आचार्यले समाजका पथप्रदर्शक ज्येष्ठ नागरिकलाई आफू एक्लिएको अनुभव र मानसिक चिन्ता महशुस हुन नदिनका लागि दिवा सेवा सञ्चालनमा ल्याइएको बताइन् । उनले भनिन्, ‘घरमा छोराबुहारी, नातिनातिना छाडेर एकान्त ठाउँ (वृद्धाश्रम) मा बस्नु पर्दा धेरै ज्येष्ठ नागरिकमा मानसिक पीडा र चिन्ता हुने गरेको स्थलगत अध्ययनका क्रममा देखिएकोले अब यसको विकल्प खोज्नुपर्ने देखिएको छ । जसले गर्दा हामीले दिवा सेवा केन्द्र सञ्चालन गरेका हौँ ।’ उक्त केन्द्रले वृद्धवृद्धालाई पटक–पटक तीर्थाटनमा समेत लैजाने गरेको छ । यसबाहेक रचनात्मक क्रियाकलाप पनि गर्ने गरिएको छ ।
प्रकाशित मितिः २ भाद्र २०८०, शनिबार १२:११
साझा बिसौनी ।