भदौ ४ गते सार्वजनिक बिदा

सुर्खेत: कर्णाली सरकारले आगामी भदौ ४ गतेका लागि प्रदेशमा सार्वजनिक बिदा दिएको छ । कर्णाली प्रदेशको स्थापना, सहिद दिवस र नाग पञ्चमीका अवसरमा प्रदेश सरकारले बिदा दिएको हो ।

प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले शुक्रवार एक विज्ञप्ति जारी गर्दै कर्णाली प्रदेश प्राप्तिको आन्दोलनमा सहिद भएका व्यक्तिको सम्झनामा भदौ ४ गते प्रदेशमा सहिद दिवससमेत मनाइने जनाएको छ । कर्णाली प्रदेश स्थापनाको आन्दोलनका क्रममा सुर्खेतका यामबहादुर विसी, गोपालसिंह रजवार, टीकाराम गौतम र जुम्लाका हरिबहादुर कुवँरले ज्यान गुमाएका थिए ।

सोमवार प्रदेशका सबै सरकारी तथा सार्वजनिक संस्थानहरूमा सार्वजनिक बिदा दिइने छ । भदौ ४ लाई कर्णाली प्रदेश स्थापना दिवस मानेर सार्वजानिक बिदा दिने २० चैत्र २०७९ मा बसेको प्रदेश मन्त्रीपरिषद्को बैठकले निर्णय गरेको थियो । सोही निर्णयअनुसार बिदा दिइएको मन्त्रालयकी शाखा अधिकृत निर्माला रेग्मीले जानकारी दिइन् ।

प्रकाशित मितिः   २ भाद्र २०८०, शनिबार १२:०८