हवाई सेवा सहज बनाउन पहल

सुर्खेत: हिमाली जिल्लामा दिउँसो १२ बजेपछि हवाई उडानमा लगाइएको प्रतिबन्ध हटाउन पहल थालिएको छ । कर्णालीका जनप्रतिनिधिहरूले प्रधानमन्त्री र पर्यटन तथा नागरिक उड्ययनमन्त्रीलाई भेटेर उक्त प्रतिबन्ध हटाउन पहल गरेका हुन् ।

पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले तीन दिनभित्र समस्या समाधान गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन् । ‘मैले सबै कुरा बुझेको छु, अब तीन दिनभित्र समस्याको समाधान गर्नेछु’ कर्णालीबाट डेलिगेसनका लागि पुगेको टोलीसँग मन्त्री किराँतीले भने, ‘कर्णालीबासीको समस्यालाई सरकारले महशुस गरेको छ ।’

नेपाल नागरिक उड्डयन प्राधिकरणले साढे १२ बजेपछि नियमित यात्रु चार्टर उडान र कार्गो उडामा बन्देज लगाउने निर्णय गरेका करण एक सातदेखि कर्णाली क्षेत्रमा हवाई सेवा ठप्प भएको छ । अस्पतालले रिफर गरेर पनि हवाइजहाज र हेलिकप्टर नजाँदा हुम्लामा चार बालबालिकाको मृत्यु भएको छ । बुधवार सिंहदरबारस्थित मन्त्रालयमा कर्णालीबाट प्रतिनिधित्व गर्ने सांसद, राजनीतिक दलका नेता, नागरिक समाजका प्रतिनिधि र पर्यटन व्यवसायीले मन्त्री किरातीलाई भेटेर समस्या अवगत गराएका थिए । प्रतिनिधिसभा सदस्य छिरिङ लामा, प्रदेशसभा सदस्य कलबहादुर हमाल, पूर्वमन्त्रीहरू मोहन बानिया, छक्कबहादुर लामा, दल रावललगायतको टोलीले मन्त्रीको ध्यानाकर्षण गराएको हो ।

पूर्वमन्त्री बानियाले प्राधिकरणको नेतृत्वले सनकको भरमा लगाएको नयाँ नियम खारेज नगरेमा कडा आन्दोलन गर्ने चेतावनी दिएका थिए । ‘सडक यातायातसमेत नपुगेको कर्णालीमा जहाज र हेलिकप्टरले जनतालाई सेवा दिइरहेका छन्, अहिले त्यसैलाई हतोत्साही गर्ने गरी नियम ल्याइएको छ’ उनले भने, ‘यदि यो नियम सच्चिएन भने हामी जस्तोसुकै कठोर आन्दोलन गर्न बाध्य हुनेछौँ ।’

नागरिक उड्डयन प्राधिकरणले साउन १५ बाट दुर्गमका २९ वटा विमानस्थलमा दिउँसो १२ बजेपछि व्यावसायिक तथा चार्टर उडानमा रोक लगाएको थियो । यो नियमका कारण कर्णालीका दुर्गम तथा हिमाली जिल्लाले नाकाबन्दी खेपिरहेका छन् । प्रतिबन्धका कारण कर्णालीका हुम्ला, डोल्पा, मुगु, जुम्ला र रुकुमपश्चिममा रहेका विमानस्थलमा दिउँसो समयमा हवाई उडान हुन सकिरहेको छैन ।

हवाई उडानमा प्रतिबन्ध लगाइँदा नागरिकले अकालमा ज्यान गुमाउनुपर्ने अवस्था आएको भन्दै उक्त निर्णय सच्याउन दबाब दिइएको हो । यही विषयलाई लिएर नेकपा(एमाले)ले मंगलवार कर्णाली प्रदेशसभाको बेठक समेत अवरुद्ध पारेको थियो ।

प्रकाशित मितिः   ३२ श्रावण २०८०, बिहीबार ०५:०१