धाराको पानी पिउने सपना अधुरै
सुर्खेत, पहिले गाविस थियो । अहिले नगरपालिका बनेको छ । तर स्थानीय बासिन्दाका पीडा उस्तै छन् । पूर्वी सुर्खेतको मैनतडाका अधिकांश बासिन्दा खानेपानीको समस्या भोगिरहेका छन् । वर्षौंदेखि खानेपानीको समस्या भोग्दै आएका उनीहरू हिजोआज पनि भेरी नदी र खोलाको पानी पिउन बाध्य छन् । आँगनमै धारा जडान गरेर स्वच्छ पानी पिउने स्थानीयको सपना अझैं पूरा हुन सकेको छैन ।
‘जब चुनाव आउँछ, तब नेताहरू गाउँमा आएर धारा जडान गर्छौं, आँगनमै खानेपानी आउँछ भन्छन्’ मैनतडा झिंग्नी निवासी भावना रानाले भनिन्, ‘नेताहरूले हामीलाई केवल आश्वासन मात्र दिए, वर्षौ भयो हामी खोलाको पानी पिउन बाध्य छौं । आजसम्म कसैले वास्ता गरेका छैनन्, आँगनमै धारा जोडेर पानी पिउने हाम्रो सपना अधुरै भयो ।’ खानेपानीको समस्या हुँदा आफूहरूले खोलाको पानी प्रयोग गर्दै आएको उनको भनाइ छ । गाउँमा पानीको स्रोत नभएपछि स्थानीय बासिन्दा एक घण्टासम्म पैदल हिँडेर खोलाको पानी लिन जाने गरेका छन् । पानीको जोहो गर्नमै समय खर्च हुँदा अन्य काममा बाधा पुग्ने गरेको उनीहरूको दुखेसो छ ।
भेरीगंगा नगरपालिका अन्तर्गत पर्ने मैनतडामा अधिकांश टोलमा खानेपानीको समस्या छ । यहाँका अधिकांश बासिन्दा भेरी नदीको पानी पिउन बाध्य छन् । अर्कोतर्फ कतिपयले नजिकै रहेका खोलाको पानी प्रयोग गर्दै आएका छन् । झिंग्नीमा ८६ घरपरिवार खोलाको पानी पिउन बाध्य छन् । स्थानीय ओमकला बुढा भन्छिन्, ‘न गाउँमा खानेपानी छ, न त सिँचाइ नै । खाने अन्न त किनेर खाउँला, तर पानीको जोहो कसरी
गर्ने ?’ पानीको जोहो गर्नमै समय खर्च हुने गरेको भन्दै उनले महिलाहरूलाई बढी सास्ती भइरहेको उनको भनाइ छ । बिहान उठ्ने बित्तिकै आफूहरू खोलामा दौड्ने गरेको भन्दै उनले खोलामा पानी भर्न पनि पालो कुर्नुपर्ने बाध्यता रहेको उनले दुखेसो पोखिन् । वर्षौंदेखि गाउँमा खानेपानीको समस्या भए पनि हालसम्म कसैले यसतर्फ चासो नदिएको उनले उल्लेख
गरिन् । खानेपानी नभएकै कारण गाउँमा अन्य विकास निर्माणमा पनि बाधा पुगेको उनको भनाइ छ ।
गाउँमा खानेपानीको व्यवस्था नहुँदा स्थानीयले खडेरीको बेलामा निकै सास्ती बेर्होदै आएका छन् । खडेरीको समयमा खोलामा रहेको मुहान पनि सुक्ने भएकाले पानीको संकट नै हुने गरेको छ । स्थानीय बासिन्दाका अनुसार वर्षातको बेलामा भने गाउँमा मुल फुट्ने भएकाले राहत हुने गरेको छ । पानीको जोहो गर्न स्थानीयले गाउँमा कुवा समेत खनेका थिए । तर सबैको कुवामा पानी
आएन । जसको परिणाम उनीहरूले खानेपानीको सुविधा पाउन सकेका छैनन् । पानीको संकट भएको बेलामा गाउँलेहरू छिमेकीको घरमा पुगेर समेत पानीको जोहो गर्ने गर्दछन् । स्थानीय बासिन्दा गोल्मा बस्नेतले मैनतडाको साविकका वडाहरू ३, ४ र ७ मा खानेपानीको बढी समस्या रहेको जानकारी दिइन् । उनको अनुसार ती स्थानमा खानेपानीको सुविधा पुगेको छैन । गाउँमा खानेपानीको लागि स्थानीयले बारम्बार माग गर्दै आएका छन् । तर पनि हालसम्म उक्त स्थानमा खानेपानीको व्यवस्था उपलब्ध हुन सकेको छैन । सबैले पानीको आश्वासन मात्र दिने गरेको भन्दै स्थानीयले अब यसमा ठोस पहल चाल्न आग्रह गरेका छन् ।
स्थानीय महिलाहरूले गाउँमा पुग्ने सबै दलका नेता, सरकारी तथा गैरसरकारी निकायसँग खानेपानीको समस्या सुनाउने गरेका छन् । दलका नेताहरूले चुनावमा मात्र खानेपानीको धारा जडान गरिदिने प्रतिबद्धता जनाउने गरेका छन् । चुनावपछि फर्केर नआउने गरेको भन्दै स्थानीयले खानेपानी समस्यालाई केवल नेताहरूले भोट माग्ने हतियार बनाएको आरोप लगाएका छन् । गाउँ नजिकै मुहान नभएकाले पनि खानेपानीको आयोजनाका लागि लागत बढी लाग्ने भएकाले गैरसरकारी निकायले पनि आँट्न नसकेको स्थानीयको बुझाइ छ । राज्यले आँगनमै धारा जडान गरिदिने आशमा रहेका स्थानीयको धाराको पानी भरेर पिउने रहर अधुरै रहन पुगेको छ । खानेपानीकै समस्याका कारण आफूहरू हैरान भएको भन्दै स्थानीयले यसको व्यवस्था गरिदिन हारगुहार नै गरेका छन् ।
साझा बिसौनी संवाददाता ।