एक अर्काको लागि बनेका उपहार
भोगाइ अनुसार जीवनका परिभाषाहरू बदलिदैं जान्छन् । यद्यपि जीवनलाई फूलजस्तै बनाउने वा काँडाबीच हिँडाउने त्यो व्यक्तिको कर्ममा निर्भर हुन्छ । उसको बुझाइ, भोगाइ र व्यवहारले जीवनको आकार निर्माण गर्दछ । जसरी भोजप्रसाद लम्साल र सरस्वती लम्साल मिलेर आफ्नो जीवनलाई आकार दिए । त्यही आकारमा उनीहरूको सुख र दुःखका रंग पोतिएको छ, जसमा भोजप्रसाद र सरस्वतीको बराबर हिस्सा छ । किनकी भोजप्रसाद र सरस्वती जीवनसाथी हुन्, उनीहरू एकले अर्कोलाई आफ्नै लागि भगवान्ले बनाएको उपहार मान्दछन् ।
…
पिता श्यामलाल लम्साल र माता देउकली लम्सालको कोखबाट वि.सं. २०२७ सालमा सुर्खेतको दशरथपुर जन्मिए, भोजप्रसाद । पाँच दाजुभाइ र तीन दिदीबहिनी मध्येका माइला छोरा हुन् । पढाइप्रति उनको बचपनदेखि नै विशेष रुचि थियो । जुनसुकै कुरा पनि सिक्नको लागि अघि बढ्ने स्वभाव थियो । अध्ययन भनेपछि उनी अरु सम्पूर्ण काम छोडेर पनि सुरु गरिहाल्थे ।
बाल्यकालदेखि नै उनको भविष्यको सपना शिक्षक बन्ने थियो । आफ्नो लक्ष्य पछ्याउँदै उनले कल्याणको विद्यालयमा प्राधानाध्यापकको रूपमा रहेर काम पनि
गरे । तर, समयले उनलाई निजामती कर्मचारीमा प्रवेश गरायो । उनी अहिले जिल्ला शिक्षा कार्यालय सुर्खेतका शाखा अधिकृत तथा सूचना अधिकारीको रूपमा काम गरिरहेका छन् ।
भोजप्रसादको उमेर २२ वर्षको थियो । घरमा ‘अब छोराको विवाह गरिदिनुपर्छ’ भन्ने कुरा चल्न थालेको थियो । त्यति बेला लम्सालले पढाइ बाहेक अरु कुरामा ध्यान दिएका थिएनन् । तर, पनि घरपरिवारले विवाहको कुरा चलाइसकेको कारण पनि उनले नाइनास्ती गर्न सकेनन् । ‘ठीकै छ, केटी हेरौं न’ भनेर परिवारसँग सहमति जनाए । ‘घरमा विवाहको कुरा चलेको हुँदा, मेरो पनि विवाह गर्ने उमेर भएको छ ठीकै छ केटी हेरौं न भन्ने भयो अनि केटी हेर्न गयौं’ उनी सम्झन्छन्, विगत ।
हरिद्वारको तीर्थ यात्राको बाहानामा केटी हेर्न लम्सालका परिवार भारत गयो । उनीहरू हेर्न गएको केटी सरस्वती पाण्डेय थिइन् । भोजप्रसाद सरस्वतीलाई हेर्नकै लागि भारत
पुगे । त्यहाँ उनीहरू दुवैको पहिलो भेट गंगा नदी किनारमा भएको थियो । भोजराजको आमा र सरस्वतीको माइजुबीचमा चिनजान पहिल्यै थियो । त्यसैले पनि उनीहरूबीच विवाहको कुरा चलेको हो । त्यतिबेलाको समयमा घरपरिवारले केटाकेटी हेरेर मन पराएपछि केटाकेटीको कुरा सुनिदैनथ्यो । तर, भोजराज र सरस्वती पढेलेखेका र जान्ने बुझ्ने भएका कारण उनीहरूले परिवारको कुरालाई मान राख्दै केटाकेटीको मन बुझ्न २ घण्टाको समय
मागे । उनीहरूले भने, ‘हामीले एकअर्काेलाई नबुझेरै घरपरिवारको कुरामा विवाह गर्ने सोच गरेनौं र एकअर्काेको आनी बानी बुझ्ने कोशिस ग¥यौं, त्यसैले हामीलाई सहज भयो ।’
दुई घण्टाको समयमा उनीहरूबीच धेरै कुरा भए । आफ्नो भविष्यको बारेमा स्पष्टसँग कुरा गरे । त्यतिबेला सरस्वतीलाई नेपाली भाषा बोल्न आउँदैनथ्यो । नेपाली भाषा बोल्न नआए पनि अरुले बोलेको चाहिँ उनले बुझ्थिइन् । कुराकानीकै क्रममा सरस्वतीले भोजप्रसादलाई सोधिन्, ‘म नेपाली भाषा बोल्न जान्दिनँ, यदि मैले हजुरको बुबाआमालाई कहिल्यै तँ भन्दिएँ भने हजुर मसँग रिसाउनु हुन्छ कि हुन्न ?’ यसैमा भोजप्रसादले सरस्वतीलाई उत्तर दिएका थिए, ‘वनको पट्टुलाई त मान्छेको भाषा सिकायो भने मान्छेले जे भन्यो त्यही बोल्छ तिमी त मान्छे हौ म सिकाइहाल्छु नि ।’ यसैमा उनले सरस्वतीलाई फेरि भनेका थिए, ‘म जहाँ जान्छु तिमीलाई सँगै लान्छु, कहिल्यै एक्लै छोड्ने छैन ।’ यिनै दुई कुराले सरस्वतीको मन जितेको थियो ।
तर, पनि सरस्वतीलाई नेपाल कस्तो ठाउँ हो भन्ने मनमा खुलदुली लागि नै रह्यो । उनले पहिला केटाको घर नहेरेसम्म विवाह नगर्ने बताइन् । बुबालाई भोजप्रसादकोे घर हेर्ने नेपाल पठाइन् । सरस्वतीको बुबाको घर हेरेर भारत गए । उनले छोरीलाई सविस्तार लगाए, तर सबै उल्टो । त्यत्तिबेला भोजप्रसादको घरमा बत्ती थिएन । मोटर बाटो पनि पुगेको थिएन । तर, सरस्वतीका बुबाले बत्ती र मोटर बाटो सबै पुगेको छ भनेर झुट बोलिदिए । किनकी सरस्वतीका बुबालाई केटा मन परेको थियो । केटाको घरमा बत्ती र मोटर बाटो पुगेको छैन भनेपछि छोरीले विवाह गर्दिन भनेर उनका बुबाले झुट बोलेका थिए । सरस्वतीका तीन दिदीबहिनी उनका बुबाको सपना सबै छोरीलाई नेपालमा त्यसमा पनि शिक्षकसँग नै विवाह गरिदिने थियो । त्यतिबेला लम्साल सरस्वती माध्यमिक विद्यालय कल्याणको प्रधानाध्यापक थिए । सरस्वतीका बुबाले २२ वर्षको केटो यति कलिलो उमेरमा यति प्रगति गरेको देखेर र लम्सालले पाएको मान सम्मान देखेर छोरीको विवाह झुट बोलेरै भए पनि गराउने निर्णय गरेका थिए ।
सरस्वतीले पनि बुबाको कुरामा विश्वास गरेर विवाहको लागि राजी भइन् । नेपालबाट दुई दिन लगाएर जन्ती सरस्वतीलाई लिन भारत गयो । वि.सं. २०४९ साल चैत १९ गते उनीहरूको मागी विवाह भयो । जब सरस्वती विवाह गरेर नेपाल त्यसमा अझ दशरथपुरमा आइपुगिन् उनलाई माइतीघरको सम्झना झन्–झन् बढ्दै गयो । गमखोलाको उकालो हिँड्दा सरस्वतीलाई मनमा लागेको थियो कि, ‘बुबाले मलाई झुट बोलेर विवाह गरिदिनु भन्दा भारतमै गंगा नदीमा फालिदिएको भए हुन्थ्यो ।’ सरस्वतीका बुबाले भने जस्तो भोजराजको घरमा आउँदा न त बत्ती थियो न त मोटर बाटो नै थियो । त्यतिबेला सरस्वती
बेस्सरी रोइन् ।
भारतको सुविधामा हुर्किएकी उनलाई एक्कासी उकालो ओरालो हिँड्नु पर्दा, घर माटोले लिप्नु पर्दा, गोवर सोहोर्नु पर्दाको पीडा खपिनसक्नु भयो । तर उनलाई आफ्नी दिदीले भनेको कुरा याद आयो ‘बुबाआमाको इज्जतको लागि पनि घर गरेर खानुपर्छ ।’ त्यही कुराले सरस्वतीले संघर्ष गर्न सुरु गरिन् ।
…
पिता नामराज पाण्डे र माता विष्णुदेवी पाण्डेको कोखबाट २०३० सालमा भारतको देहेरादुनमा जन्मिएकी सरस्वतीको बाल्यकाल सुखद् थियो । बाल्यकालमा कुनै कुराको अभाव सरस्वतीले झेल्नु परेन । उनको बाल्यकालदेखि नै संगीतमा रुचि थियो । कक्षा ६ देखि कक्षा १२ सम्म ऐच्छिक विषय नै संगीत लिएर पढेकी थिइन् । उनलाई विद्यालयमा शिक्षकहरूले पनि राम्रोसँग पढेर आफूले पढेको विद्यालयमा नै पढाउनुपर्छ भनेर हौसला दिने गर्थे । उनले भनिन्, ‘मेरो बाल्यकालदेखिको सपना संगीत सिकेर विद्यार्थीलाई संगीत पढाउने थियो तर, विवाहपछि त्यो कता हरायो हरायो, सपना पूरा हुन सकेन ।’
भोजप्रसाद र सरस्वती एकअर्काको जीवनसँग जोडिएको २५ वर्ष पुग्यो । यसबीच जीवनमा जे जति दुःखहरू आइपरे सँगसँगै भोगे । जे जति खुशीहरू आए सँगसँगै रमाए । सुख र दुःखमा सँगै हुने नै त हुन् जीवनसाथी । अहिले उनीहरू खुशीकासाथ जिन्दगी बिताइरहेका छन् । यद्यपि कहिले काहीं सामान्य झगडा भने हुने गरेको उनीहरू बताउँछन् । उनीहरू भन्छन्, ‘सम्बन्धमा झगडा भनेको तरकारीमा खुर्सानीको स्वाद जस्तै हो । धेरै हुनु हुँदैन पिरो हुन्छ, ठीक्कको खुर्सानी भयो भने तरकारी पनि मिठो हुन्छ । त्यस्तै सम्बन्धलाई पनि झगडाले मिठो बनाइदिन्छ ।’
यो जोडीका अनुसार जीवन भनेको भगवान्ले दिएको अमूल्य उपहार हो जुन जीवनलाई सही रूपमा सदुपयोग गर्नसक्नु पर्छ । उनीहरू भन्छन्, ‘जीवन सुख र दुःखको संगम हो, यसमा दम्पत्ती जोडीहरूले आफ्नो सम्बन्धलाई दिगो बनाउन दुवैले एकअर्काेको भावनाको कदर गर्नुपर्छ ।’ श्रीमान् श्रीमतीको सम्बन्ध भनेको प्रगाढ हुनुपर्छ कसैले छुटाउन टुटाउन नसकोस् । तब मात्र सम्बन्धलाई दिगो बनाउन सकिन्छ ।
भोजप्रसादका अनुसार जीवनको अन्त्यसम्म एक अर्काेलाई साथ दिनसक्ने साथी नै जीवनसाथी हो । एकले अर्काेको जीवन निमार्णका लागि महŒवपूर्ण भूमिका खेल्न सक्ने नै जीवनसाथी हो । विवाहदेखि जीवनको अन्त्य नहुने बेलासम्म हरेक दुःख सुखमा सँगसँगै साथ दिने साथी हो । सरस्वतीको विचारमा भने जीवनमा साथीहरू धेरै भेटिन्छन् धेरै साथी छुटिन्छन् तर, जीवनको अन्त्यसम्म साथ दिने साथी भगवान्ले दिएको उपहार हो । उनी ठान्छिन् भोजप्रसाद र आफू एक अर्काको लागि बनेका उपहार हुन् ।
यो जोडीले एकअर्काे जन्मदिन र विवाहको दिन आउँदा मन्दिरमा गएर पूजा गर्ने र एकअर्काेलाई गिफ्ट दिने गर्छन् । उनीहरूका दुई छोरा र एक छोरी छन् । सरस्वती आफ्ना सन्तानले राम्रोसँग पढेकोमा आफू खुशी भएको बताइन् । उनले घरमा कुखुरापालनको व्यवसाय गर्छिन् । यो जोडीका अनुसार विवाहपछि प्रेम हुनैपर्छ । विवाहले दुई मुटुलाई एक बनाउँछ भने प्रेमले आत्मीयता बढाउँछ ।
प्रस्तुतीः गीता थापा
प्रकाशित मितिः १५ माघ २०७३, शनिबार ११:५३
साझा बिसौनी संवाददाता ।