स्याकको २८ औँ साधारणसभा

सुर्खेत: समाज जागरण केन्द्र (स्याक) नेपालको २९औँ स्थापना दिवस तथा २८औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सोमवार कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णबहादुर जिसीले सभाका उद्घाटन गरेका हुन् । उद्घाटन सत्रमा शुभकामना दिँदै मन्त्री जिसीले स्याकले संस्थागत सुशासन, पारदर्शीता, सामाजिक परिचालयन लगायतका क्षेत्रमा उल्लेखनीय काम गरेको बताए ।

संस्थाका अध्यक्ष मिना तिवारी शर्माले महिला, बालबालिका र किशोरकिशोरीहरूको गुणस्तरीय जीवनका लागि सक्षम र समृद्ध समाज निर्माण गर्ने मूल ध्येयका साथ स्याकको स्थापना भएको बताउँदै संस्था अविचलित यात्रामा अनवरत रूपमा अघि बढिरहेको बताइन् ।

गत आर्थिक वर्ष २०७९/०८० मा कर्णाली र सुदूरपश्चिमका आठ वटा जिल्ला र ३२ वटा स्थानीय तहहरूमा स्याकले आफ्ना कार्यक्रम कार्यान्वयन गरेको संस्थाका कार्यकारी निर्देशक टिकाराम आचार्यले जानकारी दिए । उनका अनुसार संस्थाले शिक्षा, स्वास्थ्य, खानेपानी, सरसफाइ एवम् स्वच्छता, सुरक्षित मातृत्व, एचआइभी÷एड्स, खाद्य सुरक्षा, संस्थागत विकास, महिला अधिकार, बाल अधिकार, सिमान्तवर्गको अधिकार, विपद् व्यवस्थापन, मानव अधिकार, कोभिड–१९ प्रतिकार्य, संस्थागत विकास, जलवायु परिवर्तन, आयआर्जन तथा जीविकोपार्जन, मानवीय सहायता, किशोरकिशोरी प्रजनन स्वास्थ्यलगायतका क्षेत्रमा काम गरिरहेको छ ।

प्रकाशित मितिः   ३० श्रावण २०८०, मंगलवार ०८:३३