युवा लक्षित कार्यक्रम बनाउन जोड
सुर्खेत: स्थानीय सरकारले युवा लक्षित कार्यक्रम सञ्चालन गर्नुपर्नेमा एक कार्यक्रमका सहभागीहरूले जोड दिएका छन् । अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा आइतवार वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियाका सहभागीहरूले नीति कार्यान्वयनमा राज्यका तीनै तहका निकायले प्रभावकारी भूमिका खेल्न नसक्दा युवाका मुल मुद्दा ओझेलमा परेको गुनासो गरेका हुन् ।
गैर सरकारी संस्था महासंघ सुर्खेतका अध्यक्ष प्रकाश सारुले सरकारले युवासम्बन्धी नीति बनाए पनि कार्यान्वयन नगर्दा कागजमै सीमित रहेको बताए । उनले भने, ‘युवा लक्षित बजेट–कार्यक्रम बन्न सकेका छैनन् । बर्सेनि हजारौँ युवा विदेशीने गरेका छन् ।’ सुरुमा युवा नीति आउँदा युवाको अवस्था बदलिने तथा जिम्मेवारी बढ्ने अपेक्षा गरेको भएपनि त्यसो हुन नसकेको उनको भनाइ छ । राज्यले आफै नीति बनाउने कार्यन्वयन भने नगर्ने गरेको सारुको भनाइ थियो ।
गैसस महासंघ कर्णालीका सचिव घनश्याम केसीले युवाहरू नेतृत्वमा गएपनि उनीहरूले युवाका लागि काम गर्न नसकेको बताए । पहिलेको तुलनामा युवा शक्ति नेतृत्वदायी भूमिका पुगेको उनको भनाइ छ ।
२०७२ मा निर्माण भएको युवा नीतिले संघीयतालाई नचिन्दा प्रदेश, जिल्ला र स्थानीय तहमा युवा परिषद् गठन गर्न नसकिएको राष्ट्रिय युवा परिषद् सुर्खेतका अध्यक्ष निरज भट्टराईले बताए । आफू परिषद्को अध्यक्ष भएपनि नीतिगत र संरचनागत दुविधाका कारण अधिकार पहिचानमा समस्या रहेको उनको भनाइ छ ।
पत्रकार महासंघ सुर्खेतका अध्यक्ष ललित बसेलले युवालाई तीनै तहका सरकारले व्यवहारिक शिक्षासहितको सीप र रोजगारीमा जोड्ने खालका कार्यक्रम ल्याउनु पर्नेमा जोड दिए । शिक्षाका लागि राष्ट्रिय अभियान जिल्ला समन्वय समिति सुर्खेतद्वारा आयोजित कार्यक्रममा वीरेन्द्रनगर नगरपालिकाका शिक्षा शाखाका उपसचिव धिरेन्द्र शर्माले कार्यपत्र पेस गरेका थिए ।
प्रकाशित मितिः २९ श्रावण २०८०, सोमबार ०९:३२
साझा बिसौनी ।