‘ममाथि पनि छानबिन होस्’
सुर्खेत: पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा आफूमाथि छानबिन गर्न तयार रहेको बताएका छन् । शनिवार सुर्खेतमा पत्रकारहरूसँग कुरा गर्दै नेपाल समाजवादी पार्टीका अध्यक्ष भट्टराईले ललिता निवासका विषयमा छानबिन हुनुपर्ने बताउँदै त्यसका लागि आफू तयार रहेको बताएका हुन् । ‘ललिता निवासको सन्दर्भमा छानबिन हुनुपर्छ’, उनले भने, ‘मैले विगतदेखिनै भन्दै आएको छु छानबिन गरौँ भनेर, म तयार नै छु ।’
उनले आफू प्रधानमन्त्री रहेका बेला सानो निर्णय भएको र त्यो नियतवश नभएको जिकिर पनि गरे । तर पनि आफू छानबिनका लागि आफू तयारै रहेको दोहो¥याए । ‘ललिता निवासको विषयमा मेरो पालनामा सानो निर्णय भएको हो, ३÷४ रोपनी जग्गाको विषय मेरो पालामा भएको हो’, उनले भने, ‘त्यो मेरो नियतवश नभइ मन्त्रिपरिषद्को निर्णय हो । म छानबिनका लागि तयार छु ।’
डा. भट्टराईले गणतन्त्रपछि भ्रष्टाचार घट्नुको साटो बढिरहेको भन्दै भ्रष्टाचारका घटनाहरू उच्चस्तरीय आयोगमार्फत छानबिन गरिनुपर्ने तर्क राखे । वर्तमान सरकारको भविष्यबारे बोल्दै उनले सत्ता परिवर्तनको खेल खेल्नुभन्दा संविधान नै संशोधन गर्नुपर्ने धारणा राखे । ‘कुनै पनि दलको बहुमत नहुने, कसैले चाहे जतिबेला पनि गठबन्धन परिवर्तन हुने हुँदा हाम्रो निर्वाचन प्रणाली बदल्नुपर्छ,’ उनले भने, ‘गठजोडको खेलमा लाग्नुभन्दा संविधान नै संशोधन गरौँ, निर्वाचन प्रणाली बदलौँ भन्ने हाम्रो आग्रह हो ।’ साथै उनले आन्तरिक एकता कायम गर्नेतर्फ अहिलेका मुख्य राजनीति दलहरू अग्रसर नभएको प्रतिक्रिया समेत दिए ।
प्रकाशित मितिः २८ श्रावण २०८०, आईतवार ०९:२४
साझा बिसौनी ।