१६ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा

सुर्खेत: वीरेन्द्रनगर औद्योगिक क्षेत्रस्थित शीत भण्डार (कोल्ड स्टोर) निर्माणमा भ्रष्टाचार भएको भन्दै १६ जनाविरुद्ध मुद्दा दर्ता भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कर्णाली प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका तत्कालिन सचिव राजेन्द्रप्रसाद भारीसहित १६ जनाविरुद्ध विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको हो ।

सचिव भारीविरुद्ध वास्तविक कार्यभन्दा बढी रकम भुक्तानी दिएको आरोप लागेको छ । अख्तियारले कर्णाली कोल्डचेन लजिष्टिक प्रा.लि. सुर्खेतलाई भुक्तानी दिइएको ९२ लाख ४३ हजार दुई सय ९८ रूपैयाँ बराबरको रकम हानी नोक्सानी भएकोले सोहीबमोजिमको बिगो माग दाबी गरेर भारीविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरेको हो ।

त्यसैगरी मन्त्रालयका तत्कालीन सबईन्जिनियर गणेश भण्डारीबाट १६ लाख २४ हजार आठ सय ८१, तत्कालीन वरिष्ठ कृषि अर्थ विज्ञ हरिप्रसाद पण्डित र लेखा अधिकृत हरिबहादुर थापाबाट तीन लाख २५ हजार पाँच सय ६७ रूपैयाँ, तत्कालीन निमित्त निर्देशक भक्तिराम शर्मा, योजना शाखाका कृषि अधिकृत गुरुप्रसाद अधिकारी र लेखा अधिकृत उत्तमकुमार बस्नेतबाट तीन लाख २५ हजार पाँच सय ६७ रूपैयाँ मागदाबी गरिएको छ ।

त्यसबाहेक तत्कालीन उच्च मूल्य कृषि वस्तु विकास आयोजना सुर्खेतका लेखा अधिकृत खिमलाल वलीबाट तीन लाख ५३ हजार दुई सय चार रूपैयाँ, कृषि अधिकृत सुरेशकुमार थापा र सहलेखापाल उषा ठाडाबाट सात लाख २६ हजार एक सय ८१ रूपैयाँ र आयोजनाका सबईन्जिनियर सुवर्णराज भारतीबाट ३५ लाख ३६ हजार ६८ रूपैयाँ मागदाबीसहित आरोपपत्र दायर गरिएको अख्तियारले जनाएको छ ।

यस्तै कर्णाली कोल्ड चेन लजिस्टिक प्रा.लि.को सञ्चालक समितिका तत्कालीन अध्यक्ष प्रकाश अधिकारी, वर्तमान अध्यक्ष कलाधर उपाध्याय र सदस्यहरु लक्ष्मण कँडेल र प्रवल शाहीबाट ९२ लाख ४३ हजार दुई सय ९८ रूपैयाँ बिगो दाबी गरेर मुद्दा दायर गरिएको हो । मुद्दा दर्ता हुनेहरूमध्ये इन्जिनियर महेश शर्माबाट ३५ लाख ३६ हजार ६८ रूपैयाँ मागदाबीसहित आरोपपत्र दायर गरिएको अख्तियारले जनाएको छ ।
यसैबीच सुर्खेतकै साझा भण्डार सहकारी संस्थाका तत्कालीन अध्यक्ष जयकुमार खड्कासहित नौ जनाविरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर गरेको छ । उनीहरुले सार्वजनिक सम्पत्ति हानी नोक्सानी गरेर भ्रष्टाचार गरेको आरोपमा अख्तियारले बिहीवार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

वीरेन्द्रनगर–८ स्थित दुई रोपनी जग्गा र बाँके कोहलपुरको दुई कठ्ठा १७ धुर जग्गा कम मूल्यमा बिक्री गरी आर्थिक हिनामिना गरेको आरोपमा अख्तियारले सहकारीका तत्कालीन अध्यक्ष खड्का, सदस्य सचिव तथा महाप्रबन्धक अमर थापा, सञ्चालक समिति सदस्यहरू आत्माराम राजवंशी, सूवर्ण मानन्धर, लक्ष्मण थापा र भोलाप्रसाद न्यौपाने लगायतका विरुद्ध मुद्दा दायर गरेको छ । उनीहरूले अत्यन्त कम मूल्यमा जग्गा बिक्री गर्ने निर्णय गरी संस्थालाई चार करोड चार लाख २४ हजार एक सय ८१ रूपैयाँ हानि नोक्सानी पु¥याएको अख्तियारको दाबी छ ।

आयोगले गीताकुमारी शाहीले बोलपत्रमा अरुको नामको प्रतिस्पर्धा र सहभागिता देखाई मिलेमतो गरी न्यून मूल्यमा जग्गा खरिद गरी संस्थालाई तीन लाख तीस हजार रूपैयाँ हानिनोक्सानी पु¥याएको पुष्टि भएको भन्दै सोहीबमोजिम मागदाबी समेत गरिएको छ ।

साझा भण्डार सहकारी संस्थाले विनाआधार र कारण हचुवाको भरमा अत्यन्त कम मूल्यमा व्यक्तिलाई जग्गा बिक्री गरी संस्थालाई करोडौँ हानी नोक्सानी पु¥याएको र व्यक्तिलाई फाइदा गराएको अख्तियारको दाबी छ ।

प्रकाशित मितिः   २६ श्रावण २०८०, शुक्रबार ०५:०१