करारको भरमा विश्वविद्यालय

स्वीकृत दरबन्दीभन्दा बढी करारका कर्मचारी

सुर्खेत: मध्यपश्चिम विश्वविद्यालयले करार सेवा अन्तर्गत १३ जना कर्मचारी नियुक्तिको प्रक्रिया अघि बढाएको छ । साउन १८ गते सूचना प्रकाशित गरेर उपप्राध्यापकदेखि सहायक तहसम्मका लागि आवेदन आह्वान गरेको हो । उक्त सूचना प्रकाशित भएसँगै विश्वविद्यालयमा विवाद सिर्जना भएको छ । विश्वविद्यालयमा कार्यरत कर्मचारीहरूले नै करार नियुक्तिको विरोध गरेका छन् ।

अधिकांश स्थायी दरबन्दी नै रिक्त राखेर विश्वविद्यालयले धमाधम करारमा कर्मचारी भर्ना गरिरहेको छ । यसरी करार र आंशिक कर्मचारी नियुक्त गर्दा विश्वविद्यालयको केन्द्रीय क्याम्पसमा स्वीकृत दरबन्दीभन्दा बढी कर्मचारी कार्यरत रहेको पाइएको छ । केन्द्रीय कार्यालयमा कर्मचारीतर्फ ९७ जनाको स्थायी दरबन्दी छ । तर अहिले कार्यरत विभिन्न तहका कर्मचारीको संख्या भने एक सय ३७ जना छन् । त्यसमा पनि अधिकांश करार र ज्यालादारीमा नियुक्त गरिएका कर्मचारी छन् । उदाहरणका लागि मुख्य सहायक पदमा २१ जनाको स्वीकृत दरबन्दी रहेकोमा ३३ जना कार्यरत छन् । कार्यरतमध्ये २० जना मात्रै स्थायी हुन् । बाँकी १० जना करार, दुई जना मासिक ज्यालादारी र एक जना दैनिक ज्यालादारीका हुन् ।

यस्तै क्षेणीविहीन कर्मचारीको दरबन्दी १९ जनाको हो । तर उक्त पदमा दोब्बरभन्दा बढी कार्यरत छन् । २७ जना स्थायी, १२ जना करार र १२ जना मासिक ज्यालादारीका गरेर ५१ जना कार्यरत रहेका छन् । यसबाहेक सहायक (खरिदार) पदमा २५ जना स्वीकृत दरबन्दी रहे पनि २६ जना कार्यरत छन् । अधिकृत (द्वितीय क्षेणी) को पद रिक्त छ भने अधिकृत (तृतीय क्षेणी) को स्वीकृत दरबन्दी ३१ रहेकोमा अहिले २७ जना कार्यरत रहेका छन् । जसमा २१ स्थायी, दुई जना करार र चार जना ज्यालादारीमा राखिएको हो ।

कर्मचारीतर्फ मात्रै होइन प्राध्यापकतर्फ पनि विश्वविद्यालयमा करारको संख्या ठूलो छ । प्राध्यापकतर्फ स्वीकृत दरबन्दी दश जनाको छ । जसमा दुई जना स्थायी र दुई जना करार गरी चार जना कार्यरत छन् भने ६ जनाको पद रिक्त रहेको छ ।

उपप्राध्यापकमा भने स्वीकृत दरबन्दीभन्दा दोब्बरले बढी छन् । विश्वविद्यालयले दिएको जानकारी अनुसार ४९ जनाको दरबन्दी रहेकोमा एक सय ६१ जना कार्यरत छन् । जसमा एक सय २२ जना स्थायी र ३९ जना करारका हुन् ।

त्यसैगरी सहप्राध्यापकमा ४२ जनाको स्वीकृत दरबन्दी छ । तर उक्त पदमा भने दरबन्दीअनुसार पदपूर्ति गरिएको छैन । हाल ११ जना मात्र कार्यरत छन् । ११ मध्ये एक जना करारका हुन् । शिक्षण सहायक/प्रशिक्षक पदमा ११ जना कार्यरत छन् । जसमा दुई जना स्थायी र बाँकी नौ जना करार सेवामा नियुक्त गरिएका हुन् ।

स्वीकृत दरबन्दी अनुसार विश्वविद्यालय सेवा आयोगबाट स्थायी पदपूर्ति गर्नुपर्नेमा करारमा कर्मचारी र प्राध्यापक नियुक्त गरिएको भन्दै विरोध हुन थालेको छ । पछिल्लो पटक विश्वविद्यालयमा सक्रिय प्राध्यापक–कर्मचारीका संघ–संगठनहरू नै यसको विरोधमा उत्रिएका छन् । सेवा आयोगमार्फत विज्ञापन गर्न माग गरिएको राष्ट्रिय कर्मचारी संगठनका अध्यक्ष दिनेश गौतमले बताए । उनले भने, ‘संगठन संरचना तथा दरबन्दी (ओएनएम) नगरेरै विज्ञापन गर्नु उपयुक्त होइन । उक्त सूचना रद्द गर्नुपर्छ भनेर हामीले माग गरेका छौँ ।’

ओएनएम सर्वेक्षण गरेर हालसम्मका करार सेवाका सम्पूर्ण विज्ञापनहरू रद्द गर्नुपर्ने, सेवा आयोगमार्फत् स्वीकृत दरबन्दीहरूको परिधिभित्र रहेर विज्ञापन गर्नुपर्ने लगायतका माग संगठनहरूको छ । आफूहरूको माग भनेकै सेवा आयोगमार्फत मात्र कर्मचारीहरू पदपूर्ति गर्नुपर्छ भन्ने रहेको प्रगतिशील कर्मचारी संगठनकी अध्यक्ष बसन्ता योगीले बताइन् । उनले भनिन्, ‘कर्मचारी पदपूर्ति गर्ने काम सेवा आयोगको हो । सेवा आयोग हुँदाहुँदै नियमगत रूपमा नगई बाहिरबाट कर्मचारी नियुक्ति गर्नु गलत छ ।’

विश्वविद्यालयका रजिस्ट्रार प्रा.डा. नारायणप्रसाद पौडेलले भने आवश्यकताको आधारमा दरबन्दी थपघट हुनेगरेको बताउँछन् । उनले भने, ‘विद्यार्थीको चाप बढ्यो त्यसैले आन्तरिक स्रोतबाट पनि शिक्षक नियुक्त भएका छन् ।’ विश्वविद्यालयमा शिक्षक नहुँदा विद्यार्थी आन्दोलित हुने, शिक्षकका लागि विज्ञापन खुलाउँदा शिक्षक आन्दोलित हुनेगरेको भन्दै उनले नियमगत रूपमा विज्ञापन खुलाइएको जनाए । ‘अहिलेको आवश्यकता र नियमअनुरूप नै विज्ञापन खोलिएको छ । सोही अनुरूप पदपूर्ति हुन्छ’ पौडेलले भने ।

प्रकाशित मितिः   २५ श्रावण २०८०, बिहीबार ०५:०५