ठूला उद्योग सञ्चालनमा कठिनाइ

सुर्खेत: पश्चिम सुर्खेतको चौकुनेमा निर्माण थालिएको सूर्यतारा सिमेन्ट उद्योगको काम अहिले ठप्प छ । निर्माणको जिम्मा पाएको सूर्यतारा इन्भेष्टमेन्ट कम्पनी लगानीमैत्री वातावरण नभएको भन्दै हात झिक्ने अवस्थामा पुगेको छ ।
दुई वर्षभित्रै उत्पादन सुरु गर्ने लक्ष्यसहित २०७७ सालमा लगानी बोर्डबाट उद्योग सञ्चालनका लागि स्वीकृति पाएको कम्पनीले पूर्वाधार निर्माणका प्रारम्भिक कामसमेत सुरु गरिसकेको थियो । तर सरकारी तहबाट पर्याप्त सहयोग नभएपछि अहिले काम नै रोकिएको छ । उद्योग स्थापनास्थलसम्म पहुँच मार्ग र विद्युत विस्तार नहुँदा समस्या निम्तिएको हो । पूर्वाधार अभावका कारणले उद्योग सञ्चालन गर्न कठिनाइ भएको सूर्यतारा इन्भेष्टमेन्ट कम्पनीका अध्यक्ष मुकुन्दप्रसाद तिमिल्सेनाले बताए । पूर्वाधार अभावकाबिच उद्योग सञ्चालन गर्न नसकिने भन्दै सरकारले थप पहल नगरे आयोजनाबाटै हात झिक्ने अवस्था आउने उनको भनाइ छ । ‘उद्योग सञ्चालन गर्न अवरोध नै अवरोध भयो । काम गर्ने वातावरण भएन । सरकारले उद्योग सञ्चालनका निमित्त पूर्वाधारको व्यवस्था गरेन’ अध्यक्ष तिमिल्सेनाले भने ।
उद्योगका लागि जग्गा प्राप्ति, संरचना निर्माणलगायतका धेरै काम अघि बढिसकेको छ । तर समन्वयको अभावका कारण अन्य काम हुन सकिरहेको छैन । करिब १५ अर्ब रूपैयाँ बराबरको लगानीमा उद्योग सञ्चालन हुन लागेको थियो । उद्योग सञ्चालनका लागि लगानी बोर्डले १४ अर्ब २७ करोड ५० लाखको लगानी स्वीकृत गरिसकेको । अध्यक्ष तिमिल्सेनाका अनुसार बराहताल गाउँपालिका–७ स्थित लखरपाटामा ९५ हजार हेक्टर जमिनबाट चुनढुङ्गा उत्खनन् गर्ने र चौकुने गाउँपालिकामा उद्योग स्थापनाका लागि ४२ बिघा जमिन खरिद गरिएको छ । तर काम अघि बढ्नुपर्ने बेलामा आयोजनाबाट हात झिक्नुपर्ने अवस्था सिर्जना भएको उनले बताए ।
यस्तै चार दशकअघि नै अध्ययन गरिएको सुर्खेत सिमेन्ट (चौकुने) उद्योग पनि अलपत्र छ । उद्योग सञ्चालनका लागि २०६६ मा मुक्ति श्री प्रालिलाई जिम्मा दिइएको थियो । तर सरकारबाट अनुमति पाएको डेढ दशक बितिसक्दासम्म पनि उक्त उद्योग स्थापना हुन सकेको छैन । उद्योग स्थापनास्थलमा सम्पर्क कार्यालय राख्नेबाहेक निर्माणको कुनै काम अघि बढेको छैन ।
सिमेन्ट उद्योग मात्रै होइन कर्णालीमा यस्ता कुनै पनि ठूला उद्योग सञ्चालनमा आउन सकेको छैन । सूर्यतारा इन्भेष्टमेन्टका अध्यक्ष तिमिल्सेना कर्णालीमा लगानीमैत्री वातावरण नहुँदा समस्या भएको बताउँछन् । प्रदेश सरकारले आवश्यक ठोस नीति निर्माण गर्न सकेको छैन । पहुँच मार्गको अभाव छ । विद्युत विस्तार हुन सकेको छैन । यस्ता अनेक कारणले लगानीमैत्री वातावरण बन्न नसकेको उनको भनाइ छ ।
कर्णाली प्रदेश सरकारले पहुँच मार्ग निर्माण गरे उद्योगप्रतिको आकर्षण बढ्ने देखिन्छ । तर उद्योग सञ्चालनका लागि बाटो, विद्युत बाधक बनेको लगानीकर्ताहरूले बताउने गरेका छन् । अन्तरदेशीय तथा कर्णाली प्रदेशभरी सडकको सहज पहुँच छैन । जसले गर्दा यहाँ उत्पादित सामग्रीले बजार पाउन सकेको छैन । ठूला उद्योगका लागि आवश्यक कच्चा पदार्थ प्रशस्त भएपनि उद्योगीहरूले कर्णालीमा लगानी गर्न सकेका छैनन् । लगानी सुरक्षित नहुँदा ठूला उद्योग सञ्चालनमा समस्या हुने गरेको बताइएको छ ।
उद्योग सञ्चालनमा नीतिगत समस्या
नीतिगत समस्याले गर्दा पनि उद्योग सञ्चालनमा चुनौती रहेको सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष लक्ष्मण कँडेलले बताए । सरकारले नीतिगत बाधा नफुकाउने हो भने अधिकांश उद्योगहरू बन्द हुने अवस्थामा पुग्ने उनको भनाइ छ । सरकारले निजी क्षेत्रलाई असहयोग गर्ने, लगानीमैत्री वातावरण नबनाइदिने र खरिद ऐन अव्यवहारिक हुँदा उद्योग सञ्चालन हुन नसकेको उनको भनाइ छ । ‘लुम्बिनी प्रदेशको कोहलपुर र नेपालगञ्जमा ठूला उद्योगको आकर्षण बढ्ने, कर्णालीमा लगानी गर्न नआउने कारण पूर्वाधारको अभाव हो, यसैमा सरकारले ध्यान दिनुपर्छ’ कँडेलले भने ।
प्रदेश सरकार भने औद्योगिक विकासलाई प्राथमिकतामा राखिएको दाबी गर्दै आएको छ । उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री कृष्णकुमार बिसीले उद्योग स्थापनाका लागि प्रदेश सरकारले पूर्वाधार निर्माण गर्ने नीति तय गरेको बताए । उनले भने, ‘लगानीमैत्री वातावरणका लागि पहल थालिएको छ । पूर्वाधार निर्माण सरकारले नै गर्नेगरी नीति तयार पारेका छौँ ।’ ठूला उद्योग सञ्चालन र लगानी भिœयाउनलाई कर्णाली प्रदेश सरकारले प्रादेशिक व्यावसायिक ऐन जारी गरेको उनले जानकारी दिए ।
कर्णाली प्रदेश योजना आयोगका उपाध्यक्ष योगेन्द्रबहादुर शाहीले प्रदेशमा लगानी भिœयाउन लगानी सम्मेलन गरिने जानकारी दिए । उनका अनुसार अबको केही दिनमा सम्मेलनको मिति तोक्ने तयारी भएको छ । यसले ठूलो उद्योगमा लगानी भिœयाउन मद्यत पुग्ने अपेक्षा गरिएको छ ।
प्रकाशित मितिः २४ श्रावण २०८०, बुधबार १२:४३
रजनी याेगी ।