वडाध्यक्ष विष्ट पुर्पक्षका लागि थुनामा

सुर्खेत: वीरेन्द्रनगर नगरपालिका–३ का वडाअध्यक्ष विनोदसिंह विष्ट पुर्पक्षका लागि कारागार चलान भएका छन् । प्रहरी हिरासतमा रहेका विष्टलाई जिल्ला अदालत सुर्खेतले कारागार पठाने फैसला गरेको हो ।

न्यायाधीश मनोज श्रेष्ठको एकल इजलाशले डाँका तथा चोरी मुद्दामा वडाध्यक्ष विष्टसहित तीन जनालाई कारागार चलान गर्न आदेश दिएको छ । विष्टसँगै सुशील गुरुङ र बलिराज शाही कारागार चलान भएका छन् ।

गत असार २४ मा वडाध्यक्ष विष्टसहित पाँच जनाको टोलीले खोर्केखोला तटबन्धन उपभोक्ता समितिको ६ लाख ५० हजार रूपैयाँ लुटेको भन्दै प्रहरीमा उजुरी परेको थियो । पाँच जनामध्ये दुई जना सन्तोष थापा र यामराज शाही भने दुई÷दुई लाख धरौटीमा रिहा भएका छन् ।

स्थानीय हर्कबहादुर शाहीसहित दुई जनाले उनीहरूविरूद्ध ‘डाँका चोरी’ गरेको भन्दै जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएका थिए । असार २४ गते प्रहरीले अदालतमा मुद्दा दर्ता गराएको थियो ।

प्रकाशित मितिः   २२ श्रावण २०८०, सोमबार ०८:३९