सर्पदंशका बिरामी बढे

सुर्खेत: सल्यानको बनगाड कुपिन्डे नगरपालिका वडा नं. ७ का ५५ वर्षीय नरेन्द्र परियारलाई सर्पले डस्यो । असार १३ गते बिहान करिब आठ बजेतिर घाँस काट्दै गर्दा उनलाई सर्पले डसेको थियो । उनी कर्णाली प्रदेश अस्पतालमा उपचार गरेर घर फर्किसकेका छन् ।

अस्पतालमा एक हप्ताको उपचारपछि घर फर्किएको नरेन्द्रले बताए । सर्पले डसेपछि तत्काल अस्पताल लैजानुको सट्टा उनलाई गाउँमै धामीझाँक्री बोलाएर झारफुक गरियो । तर निको भएन, झनै समस्या बढ्यो । उनको अवस्था बिगँ्रदै गएपछि भोलिपल्ट मात्रै प्रदेश अस्पताल सुर्खेतमा पु¥याइएको हो । नरेन्द्र भन्छन्, ‘अस्पतालमा पु¥याएकाले ज्यान जोगियो । गाउँघरमै झारफुक मात्र गरे ज्यानै जाने रहेछ ।’

उनीहरूलाई सर्पले टोकेको उपचार प्रदेश अस्पतालमा हुन्छ भन्ने नै जानकारी थिएन । ‘गाउँघरमा अझै पनि झारफुक गरेर निको हुन्छ भन्ने विश्वास छ’ नरेन्द्र भन्छन्, ‘अस्पतालमा पनि यसको उपचार हुने रहेछ, म निको भएर घर फर्केँ ।’ नरेन्द्रका दाई कालुराम परियार सर्पले टोकेको उपचार अस्पतालमा हुनेमा ढुक्क थिएनन् । उनले भने, ‘गाउँघरको करकापमा भाइलाई अस्पताल ल्याएका थियौँ । राम्रो उपचार हुने रहेछ । निकै खुसी लागेको छ ।’

यस्तै अछामको तुर्माखाँद गाउँपालिका वडा नं. १ का ३३ वर्षीय कमलेशसिंह कट्टारीलाई पनि असार २४ गते रातीको समयमा सर्पले डसेको थियो । शौचालय जाँदै गर्दा खुट्टामा सर्पले टोकेको हो । उनलाई तत्काल प्रदेश अस्पताल सुर्खेतमा ल्याइयो । उपचार गरेर उनी पनि फर्किसकेका छन् । ‘अस्पताल लैजानुको सट्टा गाउँमै धामीझाँक्री बोलाएर फुकफाक गर्नुप¥यो भन्ने थियो तर मेरो अवस्था जटिल हुँदा प्रदेश अस्पतालमा ल्याइयो । अस्पतालमा उपचार गर्दा मलाइ ढुक्क भयो’ उनले भने ।

दैलेखको दुल्लू नगरपालिका वडा नं. १० का ८ वर्षीय सविन थापालाई साउन २ गते खेल्दै गर्दा घरमै सर्पले टोक्यो । चार घण्टाभित्र सविनलाई आफन्तले प्रदेश अस्पताल सुर्खेतमा पु¥याए । समयमै उपचार गर्दा उनलाई थप समस्या भएन । उनलाई एक हप्ताको उपचारपछि घर लगिएको छ ।

पछिल्लो समय प्रदेश अस्पताल सुर्खेतमा सर्पदंशका बिरामी बढ्न थालेका छन् । सर्पले डसेर उपचार गर्न आउने बिरामीको संख्यामा उल्लेख्य वृद्धि हुन थालेको हो । कर्णाली प्रदेशका दश वटै जिल्ला र सुदूरपश्चिम प्रदेशबाट पनि सर्पदंशका बिरामी उपचारका लागि आउने गरेका छन् । ग्रामीण भेगका बिरामीलाई तत्काल अस्पताल ल्याउनुभन्दा अन्य उपचारमा भर पर्ने, धामीझाँक्रीकहाँ उपचार गर्दा ठीक हुन्छ भन्ने अन्धविश्वास थियो । तर अहिले सर्पदंशका बिरामी उपचारका लागि अस्पतालमा आउने गरेका हुन् । अस्पतालमा उपचार हुँदा कैयौंको ज्यान जोगिएको छ ।

कर्णाली प्रदेश अस्पतालका कन्सल्टेन्ट फिजिसियन डा.के.एन. पौडेलले अस्पतालमा सर्पदंशका बिरामी बढेको बताए । गतवर्ष यो समयमा फाटफूट मात्र बिरामी आउने गरेको भएपनि यो वर्ष उपचारका लागि आउनेको संख्या बढेको उनको भनाइ छ । डा. पौडेलले भने, ‘जिल्ला अस्पतालहरूबाट रेफर भएर आउनेको संख्या पनि उत्तिकै छ । उनीहरूलाई ‘एन्टी स्नेक भेनम’ दिनुपर्ने हुन्छ ।’ अस्पतालमा भ्याक्सिन, दक्ष जनशक्तिलगायतको व्यवस्था गरिएको र ‘एन्टी स्नेक भेनम’ पर्याप्त रहेको डा. पोडेलको भनाइ छ । सर्पको टोकाइबाट बच्न चेतनामूलक कार्यक्रमहरू पनि आवश्यक हुने भन्दै उनले सर्पले टोकेको भन्ने थाहा नहुँदा पनि जोखिम बढेको उनले बताए ।

अस्पतालका अनुसार यो वर्षको वैशाख महिनामा चार जना, जेठमा पाँच जना, असारमा १५ जना र साउनको १९ गतेसम्म २१ जना सर्पदंशका बिरामी उपचारका लागि आएका छन् । तीमध्ये आधालाई मात्र ‘एन्टी स्नेक भेनम’ दिइएको छ । यो महिना अस्पतालमा भर्ना भएका २१ मध्ये नौ जनालाई ‘एन्टी स्नेक भेनम’ दिइएको अस्पतालले जनाएको छ । उपचारमा आएकामध्ये ९० प्रतिशतमा उक्त रोगको लक्षण नदेखिने गरेको डा.के.एन. पौडेलले जनाए । जसले गर्दा थोरैलाई मात्र ‘एन्टी स्नेक भेनम’ दिनुपर्ने हुन्छ । बढेको चेतनास्तर तथा अस्पतालको सेवा प्रभावकारी हुँदा सर्पदंशका बिरामी बढेका हुन् ।

प्रकाशित मितिः   २० श्रावण २०८०, शनिबार ०८:०८