धुलियाविट–भेडाबारी सडक: एक हजार रुख काट्न अनुमति

सुर्खेत: मदन भण्डारी राजमार्ग अन्तर्गत सुर्खेतको धुलियाविटदेखि भेडाबारी जोड्ने सडक निर्माणमा रूख कटानको समस्या सुल्झिएको छ । डिभिजन वन कार्यालय सुर्खेतले सडक खण्डमा पर्ने रूख काट्न स्वीकृति दिएको छ ।

रूख कटानको अनुमति नपाउँदा ३५ किलोमिटर सडक निर्माणमा अवरोध भएको थियो । कटान अनुमति नपाए पनि सडक क्षेत्रका रूखमा चिनो लगाउन काम भने यसअघि नै सुरु गरिएको थियो । चिनो लगाउन थालिएको लामो समयपछि कटानका लागि स्वीकृति पाएको हो ।

धुलियाविट–भेडाबारी सडक खण्डअन्तरगर्त १८ किलोमिटर वनक्षेत्र पर्दछ । हालसम्म सात किलोमिटर क्षेत्रभित्रका रूखमा चिनो लगाइएको छ । एक हजार एक सय १४ वटा रूख कटानका लागि राजमार्गले वनसँग स्वीकृति मागेको थियो । तर स्थलगत अनुगमनपछि कटान गर्नुपर्ने रूखको संख्या घटाइएको छ । अनुगमनबाट एक हजार एक सय तीन वटा रूख मात्र काट्नुपर्ने देखिएको वन कार्यालयले जनाएको छ ।

अनुगमनपछि रूखको संख्या यकिन गरेर राजमार्गलाई कटानका लागि अनुमति दिइएको डिभिजन वन कार्यालय सुर्खेतका डिभिजन वन अधिकृत मुनबहादुर रावतले बताए । उनले भने, ‘एघार सय १४ रूख कटानका लागि माग गरिएको थियो । हामीले एघार सय तीन वटा रूखका लागि मात्र अनुमति दिएका छौँ ।’

आयोजनाले अब सम्बन्धित क्षेत्रको सामुदायिक वन उपभोक्ता समिति र सव–डिभिजन वन कार्यालयसँग साझेदारी गरेर मात्र रूख काट्न पाउनेछ । काटिएका काठहरू पुनः राजमार्गले डिभिजन वन कार्यालयलाई हस्तान्तरण गर्नुपर्ने रावतले जानकारी दिए ।

वन कार्यालयबाट स्वीकृति पाएसँगै सडक निर्माणको कामले पनि गति लिने भएको छ । रूख कटानको बाटो खुलेसँगै सडक निर्माणको कामले गति लिने मदन भण्डारी राजमार्ग योजना कार्यालय सुर्खेतका इन्जिनियर रामसागर हरिजनले बताए । उनले भने, ‘जग्गा विवाद र वनको कुरा सुल्झिएको छ । अब रफ्तारमा काम अघि बढ्छ ।’ धेरै काम गर्न बाँकी रहेको भन्दै उनले वनले त्यसको बाटो खोलिदिएको जनाए । ‘काम गर्न धेरै बाँकी छ’, हरिजनले भने, ‘अब कामले गति लिनेछ । काम गर्ने सबै बाटो खुल्ला भएको छ ।’

देखिएन प्रगति

सडक निर्माणमा हालसम्मको प्रगति भने सन्तोषजनक छैन । सम्झौता गरिएको अवधि सकिनै लाग्दासमेत धुलियाविट–भेडाबारी सडक खण्डको कामले गति लिन नसकेको हो ।

राजमार्गको स्तरोन्नतिका लागि २०७८ असार २८ गते ठेक्का सम्झौता गरिएको थियो । २०८० पुस २७ सम्ममा स्तरोन्नतिको काम सक्ने गरी कालिका (केएस) वेदान्सी जेभी कैलालीले ठेक्का पाएको हो । तर निर्माण सम्झौता सकिन केही महिना मात्र बाँकी रहँदा आधाभन्दा कम मात्र काम भएको छ । हालसम्म ४५ प्रतिशत भौतिक प्रगति भएको जनाइएको छ ।

पछिल्लो समय कामको गति पनि सुस्त भएको छ । बर्खाको समयमा कामदारहरू खेतिपातीमा व्यस्त हुँदा काम हुन नसकेको आयोजनाले जनाएको छ । यद्यपि, निर्माणको काम रोकिएको भने छैन । ३५ किलोमिटरमध्ये पाँच किलोमिटर सडक कालोपत्रे भइसकेको छ । म्याद थप गरेर काम अघि बढाउने तयारी राजमार्गको छ ।

सम्झौताअनुसार सडक स्तरोन्नति र कालोपत्र सँगै १२ वटा मोटरेवल पुल निर्माणको जिम्मा पनि सोही जेभीले पाएको छ । तीमध्ये तीन वटा पुल निर्माणको काम सकिएको छ । अन्य निर्माणाधिन अवस्थामा छन् । राजमार्ग स्तरोन्नति समयमै नहुँदा नागरिकले भने सास्ती बेहोर्दै आएका छन् । वर्षामा हिलाम्मे र हिउँदभर धुलाम्मे हुने सडकले नागरिकलाई सास्ती दिएको हो ।

यो सडकले वीरेन्द्रनगरस्थित धुलियाविटबाट भेरीपारिका बस्ती लेकवेशी हुँदै गुर्भाकोट नगरपालिकाको भेडाबारीसम्म जोड्नेछ । हालसम्म राजमार्गको पाँच किलोमिटर कालोपत्रे हुनुका साथै १५ किलोमिटर सडक ग्राभेल भइसकेको छ । अन्य काम चलिरहेको छ ।

प्रकाशित मितिः   १५ श्रावण २०८०, सोमबार १०:२८