स्वास्थ्य सेवा लिन सास्ती
सुर्खेत: सुर्खेतस्थित प्रदेश अस्पतालमा बिरामीको चाप बढ्दो छ । अस्पतालमा अहिले दैनिक करिब एक हजार नौ सय बिरामी आउने गरेको अस्पतालले जनाएको छ । तर, बिरामीलाई भने स्वास्थ्य सेवा लिन सास्ती हुने गरेको छ ।
सरकारले उपलब्ध गराएको स्वास्थ्य बीमाको सेवा लिन प्रदेश अस्पताल पुगेकी वीरेन्द्रनगर नगरपालिका वडा नं. ९ की ३८ वर्षीया जानकी बुढाले स्वास्थ्य बीमा निकै झन्झटिलो लागेको बताइन् । बिहान ७ बजेबाट खुल्ने काउन्टरमा टिकट काट्न ६ बजे अस्पताल आइपुगेकी उनी दिउँसोको एक बजेसम्म कहिले यता त कहिले उता गर्दै थिइन् । उनले भनिन्, ‘बिहान ६ बजे पेटको उपचार गर्न भनि अस्पताल आएँ । अहिलेसम्म औषधी लिन पाएकी छैन । लामो लाइन बसेँ, सबै घर गए मेरो औषधी लिन झ्यालैमा पुग्दा कागज मिलेन फेरि आउनु भन्नुभयो ।’
अस्पतालमै उपचार गर्न आएका वीरेन्द्रनगर नगरपालिका वडा नं. ३ का ४१ वर्षीय जीवन शाहीले सरकारले ल्याएको कार्यक्रम राम्रो भएपनि प्रकृयाको झन्झट र व्यवस्थापनमा कमजोरी रहेको हुँदा सेवा लिन सास्ती भइरहेको बताए । उनले भने, ‘सरकारले उपलब्ध गराएको स्वास्थ्य बीमाको कार्यक्रम त राम्रो छ । तर कागजी प्रक्रिया झन्झटिलो र व्यवस्थापनमा कमजोरीका कारण दुःख पाइयो ।’
बीमाको सेवा लिने क्रममा निकै गाह्रो हुने गरेको सेवाग्राहीको भनाइ छ । सरकारले ल्याएको स्वास्थ्य बीमा कार्यक्रम राम्रो भएपनि यसको प्रक्रिया बारे बीमाकर्ताहरू नै स्पष्ट हुन नसकेकाले सेवा लिन नागरिक अलमलमा पर्ने गरेका हुन् । प्रदेश अस्पतालका स्वास्थ्य बीमा फोकल पर्सन रामप्रसाद भण्डारीले बीमाको प्रक्रिया झन्झटभन्दा पनि यसबारे बीमितहरूलाई बुझाउन नसक्दा समस्या भएको बताए । जनशक्तिको अभाव र नागरिकहरूमा प्रक्रियाको बारेमा ज्ञान नहुँदा सेवाप्रवाहमा समस्या हुनेगरेको उनको भनाइ छ ।
भण्डारीका अनुसार दैनिक पाँच सय देखि आठ सयको हाराहारीमा स्वास्थ्य बीमाका सेवाग्राहीहरू प्रदेश अस्पतालमा आउने गरेका छन् । तर, कर्मचारी अभावका कारण एक जना कर्मचारी बराबर दुईदेखि साढे दुई सय जना सेवाग्रहीलाई सेवा दिनुपर्ने अवस्था रहेको उनले बताए । बीमासम्बन्धी हेर्ने कर्मचारी तीन जना मात्र छन् । बीमाको सेवा प्रवाह गर्ने कार्यकक्ष साघुँरो हुँदा सेवा प्रवाह गर्न समस्या हुने गरेको छ । कतिपय अवस्थामा टिकट सीमित राखेर बीमाका ५० प्रतिशत सेवाग्राही फर्काउनुपर्ने अवस्थासमेत आएको पौडेलको भनाइ छ । बीमामा काम गर्दा सर्वरमा समस्या आउने, बत्तिको समस्या र अस्पतालको व्याकपको समस्या हुन्छ । फर्जी बीमित संख्या न्यून गर्न बीमाको नामदर्ताका लागि अनिवार्य परिचयपत्रको व्यवस्था गरिएको हो ।
अस्पतालको अनुगमन
बुधवार कर्णाली प्रदेश मामिला समितिले सुर्खेतस्थित प्रदेश अस्पतालको अनुगमन गरेको छ । सेवा प्रवाहको अवस्थाबारे अनुगमन गरिएको हो । समितिका सभापति कल्याणी खड्काको संयोजकत्वमा गएको अनुगमन टोलीले अस्पतालको भौतिक पूर्वाधार र सेवा प्रवाहको अवस्था अवलोकन गर्दै सेवाग्राहीसँग प्रतिक्रियासमेत दिइएको थियो । बिरामीहरूसँग भेटघाट र अस्पतालका निर्देशक डा. डम्बर खड्कासँग विविध विषयमा छलफल गरिएको थियो । जनशक्ति अभाव नै प्रमुख समस्या रहेको अस्पतालका निर्देशक डा. खड्काले बताए । प्रदेश लोक सेवा आयोगले अधिकृत तहको विज्ञापन गर्नुपर्ने र त्यसका लागि समितिले समन्वय गर्नुपर्ने उनको सुझाव छ ।
प्रदेश मामिला समितिकी सभापति कल्याणी खड्काले क्षेत्राअधिकारमा रहेर आवश्यक समन्वय गर्ने बताइन् । अस्पतालको सेवा सेवा प्रवाह सन्तोषजनक रहेपनि केही आवश्यक सुधारको खाँचो रहेको उनको भनाइ छ ।
प्रकाशित मितिः २८ असार २०८०, बिहीबार ०५:०१
साझा बिसौनी ।