सुर्खेतमा अल्लो प्रशोधन हुने

सुर्खेतमा अल्लो प्रशोधन केन्द्र बनाउने तयारी गरिएको छ । उद्योग मन्त्रालयले स्थानीय क्षेत्रमै अल्लो प्रशोधन गर्न सुर्खेतसहित २२ जिल्लामा मेसिन जडान गर्ने भएको छ ।

अल्लो प्रशोधन जडान गर्ने ११ जिल्लाको टुङ्गो लगाइसकेको छ भने ११ जिल्ला छनौटका क्रममा छन् । मन्त्रालयका अनुसार सुर्खेतसहित डडेलधुरा, दार्चुला, कालिकोट, रोल्पा, पर्वत, दाङ, रोल्पा, सोलुखुम्बु र संखुवासभामा अल्लो प्रशोधन मेसिन जडान गर्न लागिएको छ । यस्तो मेसिन एउटाको नौ लाख पर्छ । यसअघि ३० लाख खर्च लाग्ने बताइएको थियो ।

नेपाली इन्जिनियरहरूले नै अल्लो प्रशोधन मेसिन बनाएकाले लागत खर्च नौ लाखमा झरेको हो । आइतवार आयोजित पत्रकार सम्मेलनमा उद्योगमन्त्री नगेन्द्रराज जोशीले भने, ‘नेपाली इन्जिनियरहरूले नै अल्लो प्रशोधन मेसिन बनाएका छन्, जसका कारण हामीले नौ लाखको हाराहारीमा मेसिन जडान गर्ने भएका छौं ।’ अल्लोबाट उत्पादित कपडा तथा धागोका साथै गलैंचा विदेशमा निर्यात हुँदै आएको छ ।

लघु उद्यम विकास कार्यक्रमका प्रमुख डा. लक्ष्मण पुनका अनुसार अल्लोबाट उत्पादित कपडाहरू अमेरिका, जर्मनी, बेल्जियम, जापान, अष्ट्रेलिया र स्वीजरल्याडमा निर्यात हुने गरेको छ । पुन भन्छन् ‘प्रयोग नगरे पनि अल्लो कुहिएर जान्छ । त्यसैले यसलाई वातावरणलाई कुनै नराम्रा गर्दैन, जति काट्यो त्यति फैलिन्छ त्यसैले अब हामीले यसबाट निर्मित कपडाको निर्यात बढाउन पर्छ ।’

सुरुमा सरकार आफैंले यो मेसिन जडान गरिदिनेछ र समुदायलाई हस्तान्तरण गर्ने योजना छ । साथै सरकारले २२ जिल्लामा विभिन्न महिलाहरूलाई अल्लो प्रशोधन सम्बन्धी सीपमूलक तथा उद्यमशील तालिम दिने भएको छ । अल्लो प्रबद्र्धन गर्नका लागि सरकारले अल्लो दिवस मनाउने तयारी गरेको मन्त्री जोशीले जानकारी दिए ।

प्रकाशित मितिः   १० माघ २०७३, सोमबार ११:४२