स्थानीय उत्पादन बढ्दै, आयातित तरकारी विस्थापित

पछिल्लो समय कालिकोटमा स्थानीयस्तरमै उत्पादित तरकारीले भारतीय बजारबाट आयातित तरकारी विस्थापित गर्दै गएको छ । यहाँका कृषकहरूले व्यवसायिक रूपमा तरकारी खेती गरी उत्पादन थालेपछि आयातित तरकारी विस्थापित हुँदै गएको हो ।

विगतमा मान्म बजारमा भारतको रूपैडिहा बजारबाट आउने गर्दथ्यो । चर्को भाडा तिरेर ल्याइने तरकारीको मूल्य पनि बढी नै हुँदा उपभोक्ताहरू महंगीको मारमा परेका थिए । अर्कोतर्फ बाहिरबाट आउने तरकारी विषादीयुक्त हुने हुँदा पनि स्थानीयको स्वास्थ्यमा नकारात्मक असर पर्ने गरेको थियो । तर पछिल्लो समय स्थानीयस्तरमै कृषकहरूले तरकारी खेती गरी आत्मनिर्भर हुँदै गएका छन् । आजभोलि आफ्नै बारीको आफ्नै माटोमा आफ्नै मेहेनतले उब्जाएको खान पाउँदा यहाँका स्थानीयवासी पनि हर्षित छन् । स्थानीयस्तरमै उत्पादित तरकारीको मूल्य पनि एकदमै न्यून भएको छ ।

मान्म बजारमा आजभोलि यहाँको अर्गानिक तरकारीले बजार भाउ पनि राम्रै लिइरहेको छ । साथ–साथै उक्त तरकारी खेतीबाट धेरै युवाले रोजगारी पनि पाइरहेका छन् । भारत लगायत अन्य खाडी मुलुकमा रोजगारीका लागि जाने युवाहरू हिजोआज आफ्नै जमिनमा तरकारी खेती गर्न थालेका छन् । कृषिमा व्यवसायीकरण र आधुनिकीकरण हुँदै गएको छ । यूएन र एफएओको आर्थिक सहयोगमा र हिमालयन सामुदायिक स्रोत विकास केन्द्र कालिकोटको सहजीकरणमा जोखिममा परेका कृषक परिवारको कृषि उत्पादन प्रवद्धन गर्न एवम् खाद्य तथा पोषण सुरक्षा सुनिश्चित गर्न कृषि सामग्री सहयोग कार्यक्रम सञ्चालित भएपछि कालिकोटका कृषकहरू पनि लाभान्वित भएका छन् ।

सोही कार्यक्रम अन्तर्गत जिल्लाको मान्म गाविसको वडा नं. ८ र ९ मा २५ वटा प्लाष्टिकसहितको फलामे टनेल घरहरू निर्माण भएका छन् । नयाँ १९ वटा र पुरानो ६ गरी जम्मा २५ गरीब घरधुरीमा फलामे टनेल घर निर्माण गरिएको हो । यसले जिल्लाको सदरमुकाम मान्म बजारलाई पर्याप्त मात्रामा तरकारी पुग्ने र लक्षित गरीब सुख्खा क्षेत्रका मानिसहरूको आय–आर्जनमा वृद्धि हुने अपेक्षा गरिएको छ । गरीब परिवारको जीविकोपार्जनमा सुधार ल्याउने कार्यक्रमको लक्ष्य रहेको छ ।

संस्थाका अध्यक्ष कर्णप्रसाद चौलागाईंले यो कार्यक्रमले परम्परागत कृषि प्रणालीमा सुधार ल्याउनुका साथै विपन्न समुदायको जीविकोपार्जनमा सघाउ पु¥याउने जनाए । उक्त कार्यक्रमबाट यहाँका तीन सय ५० भन्दा बढी नागरिक लाभान्वित भएका छन् । त्यसैगरी मान्म, रकु, सुकाटिया गाविसका ३२ वटा लक्षित गरीब सुख्खा क्षेत्रका मानिसहरूले प्लाष्टिक टनेल, बाँसका घर, थोपा सिँचाइ सेट, स्प्रेपर पितलको ट्यांकी ३८ थान, सिकेचर एक सय ८७ थान, किरेट तथा कालिकोट जिल्लाका मान्म, भर्ता, सुकाटिया, कालिका, लालु र रकु गाविसका चार हजार घरधुरीमा तरकारीको बीऊ वितरण गरिएको छ । त्यहाँका कृषकहरूले तरकारी खेतीलाई आम्दानीको प्रमुख स्रोत बनाएका छन् ।

प्रकाशित मितिः   १० माघ २०७३, सोमबार ११:४१