कर्णालीमा ‘राष्ट्रिय कचहरी’

सुर्खेत: वीरेन्द्रनगर बिहीवारदेखि ‘राष्ट्रिय कचहरी’सुरु भएको छ । कर्णाली प्रदेश सरकारका भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री मङ्गलबहादुर शाहीले कचहरीको उद्घाटन गरेका हुन् ।

उद्घाटन समारोहमा मन्त्री शाहीले मुलुक संघीयतामा गइसकेपछि जनताका माग बढेको बताए । सरकारले जनतासँग प्रत्यक्ष जोडिएर काम गरिरहेको भन्दै उनले नागरिकको आवश्यकता र देशको परिस्थिति अनुसार अघि बढेको जानकारी दिए । तीन तहकै सरकारले जनताका भावनाको कदर गरेर नीति, योजना र कार्यक्रम ल्याएको उनको भनाइ छ ।

लुम्बिनी प्रदेशसभा सदस्य सञ्जु चौधरीले संघीयता कार्यान्वयनमा आएको लामो समय भएपनि अपेक्षित प्रतिफल नदेखिएको बताइन् । यसका लागि तीन तहका सरकारको कार्यलाई समीक्षा गर्नुपर्ने उनको भनाइ छ । उनले भनिन्, ‘पछिल्लो समय तीन तहका सरकारका छुट्टाछुट्टै योजना र कार्यक्रम आउने गरेका छन् । जसले गर्दा डुब्लीकेसन हुने गरेको छ ।’

वीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहनमाया ढकालले बजेट विनियोजन हुँदा पञ्चवर्षीय योजनाको सिद्धान्त, उद्देश्य र मार्गनिर्देशन अनुसार आउनेमा आशंका व्यक्त गरिन् । आवश्यकताका आधारमा बजेट विनियोजन नहुँदा काम गर्न असहज भइरहेको उनको भनाइ छ । ढकालले तीन तहका सरकारबीच आपसी समन्वय, सहकार्य र सहअस्तित्व कायम हुन नसकेको दाबी गरिन् । उनले भनिन्, ‘अधिकार जति संघीय सरकारलाई छ । दोष जति स्थानीय सरकारको टाउँकोमा आउँछ । क्षेत्राअधिकार नहुँदा काम गर्न असहज भइरहेको छ ।’

राष्ट्रिय योजना आयोगका पूर्वसदस्य तथा अर्थविद डा. पोषणराज पाण्डेले समावेशी विकास आजको आवश्यकता भएको बताए । वैदेशिक रोजगारका लागि दैनिक औसत दुई हजार नागरिक देश बाहिर जाने अवस्थाले मुलुकको कूल ग्राहस्थ्य उत्पादनमा असर परेको उनको टिप्पणी छ । उनी भन्छन्, ‘यो विषयमा तीन तहकै सरकारले उत्तिकै सोच्नुपर्ने बेला आएको छ ।’

संयुक्त राष्ट्रसंघ खाद्य तथा कृषि संगठन नेपाल तथा भुटानका देशीय प्रतिनिधि केन शिमिजुले विश्वमा बढ्दै गएको असमानता, कोभिड र रुस–युक्रेन युद्धको असर, राजनीतिक संकट र वातारणीय असरले कर्णालीजस्ता क्षेत्रलाई असर पारेको बताए । यस विषयमा बहुपक्षीय सवाल उठान भएको र यसमा खाद्य तथा कृषि संगठनको आवश्यक सहयोग हुने जानकारी दिए । जलवायु परिवर्तनको उच्च चपेटामा कर्णाली रहेको भन्दै उनले अव्यवस्थित रूपमा निर्माण गरिएका संरचनाले नै जोखिम भइरहेको बताए ।

स्थानीय सरकार सवलीकरण, द एसिया फाउन्डेसन, अष्ट्रेलियन एड, सेभ द चिल्ड्रेन, गुड नेइबर्स इन्टरनेसनल, वल्र्डभिजन, प्लान इन्टरनेसनल, एक्सन एड, मिसन इष्ट र प्राक्टिकल एक्सनको सहकार्य र कर्णाली एकीकृत ग्रामीण विकास तथा अनुसन्धान केन्द्र (किर्डाक) नेपालको आयोजनामा सुरु राष्ट्रि«य कचहरी दुई दिनसम्म चल्नेछ ।

प्रकाशित मितिः   १५ असार २०८०, शुक्रबार ०५:०१