आजदेखि मन्त्रालयगत बजेट छलफल

सुर्खेत: बुधवारदेखि कर्णाली प्रदेशसभामा मन्त्रालयगत बजेटमाथिको छलफल हुने भएको छ । प्रदेश सरकारले ल्याएको आर्थिक वर्ष २०८०÷०८१ को विनियोजन विधेयक अन्तर्गत मन्त्रालयगत विनियोजन गरिएको बजेटमाथिको छलफलका लागि सभामुख नन्दा गुरुङले कार्यतालिका सार्वजनिक गरेकी हुन् ।

मंगलवारको सभामार्फत सार्वजनिक कार्यसूचीअनुसार असार १३ र १४ गते दुई वटा मन्त्रालयको बजेटमाथिको छलफल हुनेछ । भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालय र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको विनियोजित बजेटमाथि छलफल हुने भएको हो ।

यसैगरी असार १५ र १६ गते आन्तरिक मामिला तथा कानुन मन्त्रालय, प्रदेशसभा सचिवालय र सामाजिक विकास मन्त्रालयको छलफल हुनेछ । असार १७ र १८ गते आर्थिक मामिला तथा योजना मन्त्रालय, जलस्रोत तथा ऊर्जा मन्त्रालय र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको बजेटमाथि दफावार छलफल हुनेछ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गतको बजेटबारे छलफल गर्न असार १९ र २० गतेको समय तोकिएको छ । सोही दिन प्रदेश योजना आयोग, लोकसेवा आयोग र मुख्य न्यायाधीवक्ताको कार्यालयका लागि विनियोजित बजेटबारे छलफल हुने सभामुख गुरुङ्गले जानकारी दिइन् । दफावार छलफल सकिएपछि छलफलमा उठेका प्रश्नहरूको जवाफ सम्बन्धित मन्त्रीहरूले दिनेछन् । मन्त्रालयगत छलफल सकिएपछि मात्रै विनियोजन विधेयक पारितका लागि सभाा पेस गरिनेछ ।

यसैबीच प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का नेता यामलाल कँडेलले प्रदेश सरकारले ल्याएको बजेट असन्तुलित रहेको भन्दै संशोधन गर्न माग गरेका छन् । मंगलवारको सभामा बोल्दै उनले असन्तुलित बजेटलाई संशोधन गरेर सन्तुलित बनाउनुपर्ने बताए । सरकार आफैले ल्याएको नीति तथा कार्यक्रमविपरीत बजेटमा टुक्रे योजना समावेश गरिएकोप्रति पनि उनले आपत्ति जनाएका छन् ।

‘बजेट किताबमा पाँच लाखका योजनासमेत देखिए, यसअघि नै भएका सहमतिको समते पालना गरिएन,’ उनले भने, ‘प्रदेशलाई बनाउने गरी भन्दा पनि बाँड्ने गरी बजेट विनियोजन गरियो, बाँड्ने बजेटमा छलफल गर्न एमाले तयार छैन ।’

प्रकाशित मितिः   १३ असार २०८०, बुधबार ०५:०१