सिप सिकेर स्वरोजगार

आफू आत्मनिर्भर, अरुलाई पनि रोजगारी

सुर्खेत: वीरेन्द्रनगर–४ कालागाउँकी चन्द्राकुमारी थापा मगरको दैनिकी लुगा सिलाएरै बित्छ । ७ कक्षा उत्र्तीण गरेकी मगरले २०७७ सालमा तीन महिना सिलाइकटाई तालिम लिएकी थिइन् । त्यही तालिम उनको परिवारका लागि दैनिक खर्च धान्ने आम्दानीको बाटो बनेको छ ।

केही समयअघि कपडा सिलाइकटाई गर्ने कामलाई जाती विशेषको रूपमा लिने गरिन्थ्यो । तर अहिले सबै समुदायका व्यक्तिले यो पेसा अंगाल्न थालेका छन् । विशेषगरी महिलाले सिलाइकटाई पेसालाई आफ्नो आम्दानीको माध्यम बनाउँदै आएका छन् । त्यसको उदाहरण बन्न पुगेकी छन्, चन्द्रा । ‘मैले यसरी सिलाइकटाई व्यवसायलाई अगाडि बढाउछु भनेर सोचेको समेत थिइन’ उनी भन्छिन्, ‘सिक्न नखोज्दासम्म केही जानिदैन । आफूले सिकेको सीपलाई निरन्तरता दिन सकियो भने सामान्य घरखर्च र कामका लागि अरुको भर पर्नु पर्दैन ।’

परिवारका सदस्यहरूले आफूले सिलाएको लुगा लगाएर हिँडेको देख्दा खुसी लाग्ने गरेको चन्द्रा बताउँछिन् । ‘मैले सिलाइकटाई पेसामा नै आफ्नो भविष्य देखेकी छु,’ उनले भनिन्, ‘आफ्नो मिहेनतको कमाइ परिवारलाई दिन पाउँदा खुसी लागेको छ ।’ बिहानदेखि साँझसम्म खाली बस्नु नपर्ने बताउँदै उनले यसबाट चित्तबुझ्दो आम्दानी हुने गरेको बताइन् ।

सिलाइकटाइ तालिम लिनभन्दा अघिसम्म घरायसी काममा सीमित थिइन् । यो पेसाले सबै सामु चिनाएको छ । लगनशील भएर सिलाइकटाई व्यवसायलाई निरन्तरता दिन सके राम्रो आम्दानी हुने उनको अनुभव रहेको छ । घरको चुलोचौकोमा मात्र सीमित हुने उनी अहिले सिलाइकटाई सम्बन्धी सिप सिक्दै त्यसलाई व्यावसायिक रूपमा सञ्चालन गरी आर्थिक रूपमा सक्षम हुँदै आएकी छन् ।

चन्द्रा आफू मात्रै आत्मनिर्भर भएकी छैनन्, थप एक जनालाई रोजगारीसमेत दिएकी छन् । सिप सिक्नु अघिसम्म परनिर्भर हुने थापा अहिले आफू आत्मनिर्भर बन्दै अरुको प्रेरणाको स्रोत बनेकी छन् । सिलाइकटाई पेसामा संलग्न भएर आफ्नो जीवन निर्वाह गरिरहेकी उनी व्यवसायलाई अझ बढाउने सोचमा छन् ।

राष्ट्रिय प्राविधिक शिक्षालय प्रा.लि. सुर्खेतबाट तालिम सिकेपछि कालागाउँमा सिलाइ सेन्टर खोलेर आर्थिक रूपमा आत्मनिर्भरताको बाटोमा लागेकी छन् । ३५ हजारदेखि लगानी गरेर सुरु गरेको उक्त पेसाले उनको दैनिक दुईदेखि तीन÷चार हजार रूपैयाँसम्म आम्दानी भइरहेको छ । तीन वर्षदेखि यो व्यवसाय सञ्चालन गर्दै आएकी छिन् । ‘मैले कपडा सिलाउने भनेको महिला दिदीबहिनीहरूका लागि हो । सिलाइकटाईमा मात्रै ध्यान दिने हो भने त दैनिक आठ जोर कुर्ता सुरुवाल सिलाउन सकिन्छ,’ उनले भनिन्, ‘घरमा खानपिन बनाउनु प¥यो, दुई छोरालाई विद्यालय पठाउने, खाजापानी यस्तैमा बढी समय बित्छ ।’ चाहेजति समय दिन नसके पनि सिलाइकटाई व्यवसायलाई पनि सँगसँगै अगाडि बढाउँदै लगेको उनले बताइन् ।

उनले महिलाका लागि सबैखाले कपडा सिलाउँछिन् । अब भने पुरुषका लागि पनि सबै खाले सिलाउन सक्ने गरी सिप सिक्ने इच्छा छ । सुरुआतमा थोरै लगानी गरेर व्यवसाय सञ्चालन गरेपनि आर्थिक जीविकोपार्जनमा सहज हुने देखेर यसमा लागेको उनी बताउँछिन् । खेतबारीको कामजस्तो गाह्रो महशुस पनि नहुने र घामपानीमा पनि निस्कन नपर्ने भएकाले यो पेसाबाट आफू सन्तुष्ट भएको उनको अनुभव छ । निरन्तरता दिएर काम गर्न सकियो भने घरखर्च टारेर बचत गर्न सकिने भन्दै उनी भन्छिन्, ‘मेसिनले म सिलाउँछु । फुर्सद भएको बेला श्रीमान्ले हातले टिप्ने काम गर्दिनुहुन्छ । एक जना सहयोगी पनि राखेको छु । परिवारको साथ भयो भने काम गर्ने उत्साह बढ्दै जान्छ ।’

दैलेखमा जन्मिएर सुर्खेतलाई कर्मभूमि बनाएकी उनी आगामी दिनमा अरुलाई पनि सिलाइकटाईको तालिम दिएर महिलालाई आत्मनिर्भर बनाउन सघाउने बताउँछिन् । उनले सिलाइकटाईको तालिम सिकाउने र आफ्नै व्यवसायमा अन्यलाई समेत रोजगारी दिने सोच बनाएकी छिन् ।

प्रकाशित मितिः   ८ असार २०८०, शुक्रबार ०५:०५