डीपीआरमै बित्यो सात वर्ष
सुर्खेत: सम्झौताअनुसार नलगाड जलविद्युत आयोजनाको विस्तृत परियोजना प्रतिवेदन(डीपीआर) २०७६ मै तयार भइसक्नुपर्ने हो । तर थप चार वर्ष बितिसक्दासम्म पनि डीपीआर बनेको छैन । सात वर्ष लगाएर प्रतिवेदन निर्माणको काम अन्तिम चरणमा पुगेको छ ।
तीन वर्षभित्र डीपीआर तयार गर्नेगरी २०७३ मा सम्झौता गरिएको थियो । अष्ट्रेलियन कम्पनी स्मेक, अष्ट्रेलियाको एमडब्लुएच र नेपालको उदय जेभीले (संयुक्त उपक्रम) ले विस्तृत अध्ययन, टेण्डर डकुमेन्ट तयारी र डीपीआर बनाउने ठेक्का पाएको थियो । निर्धारित म्यादभित्र काम नभएपछि पटक–पटक म्याद थप भइसकेको छ । अब भने अन्तिम चरणको पुगे र असार मसान्तभित्रै सम्पन्न हुने नलगाड हाइड्रोपावर कम्पनी लिमिटेडको कार्यकारी निर्देशक सुनिल पौडेलले जानकारी दिए ।
डीपीआर मात्रै होइन वातावरणीय प्रभाव मूल्याङ्कन(इआइए) ले पनि पूर्णता पाएको छैन । निर्देशक पौडेलका अनुसार इआइए स्वीकृतका लागि मन्त्रालयमा पेस गरिएको छ । ऊर्जा तथा जलस्रोत मन्त्रालयबाट वन तथा वातावरण मन्त्रालयमा पठाइएको पौडेलले जनाए । ‘डीपीआर बनिसकेपछि अन्य बाँकी काम सुरु हुन्छ’ उनले भने, ‘अहिले निर्माणपूर्वका काम भइरहेका छन् ।’ प्रतिवेदन तयार भइरहँदा आयोजना निर्माणपूर्वका तयारीका काम भने धमाधम चलिरहेको छ ।
चार सय १७ मेगावाट क्षमताको जलाशययुक्त जलविद्युत आयोजना जाजरकोटको नलगाड नगरपालिका र बारेकोट गाउँपालिकामा निर्माण हुनेछ । नलगाड नगरपालिका–७ दल्लीमा विद्युत गृह र बारेकोट गाउँपालिका–८ अँधेरीखोलामा आयोजनाको बाँधस्थल हुनेछ । आयोजनाबाट नलगाड नगरपालिका वडा नं. ५ र ७, बारेकोट गाउँपालिकाका वडा नं. १, २, ४, ६, ७, ८ र ९ वडा प्रभावित हुनेछन् ।
आयोजना निर्माणका लागि पाँच हजार रोपनी जग्गा अधिग्रहण गरिएको छ । प्रभावित हुने पाँच सय तीन घरटहराको क्षतिपूर्ति दिइनेछ । मुआब्जा वितरणको प्रक्रिया पनि अन्तिम चरणमा पुगेको आयोजनाका निर्देशक पौडेलले जानकारी दिए ।
आयोजनास्थलमा अन्य पूर्वाधार निर्माणको काम भने भइरहेको छ । आयोजनाका इन्जिनियर पदमबहादुर थापाले निर्माणपूर्वका कामहरू चलिरहेको जानकारी दिए । बाधस्थलसम्म पुग्ने दुईवटा सडक निर्माण गरिएको छ । उनका अनुसार कार्यालय स्थापना, आर्मी क्याम्प स्थापना, टनेल निर्माणलगायतका काम सम्पन्न भएको छ ।
यस्तै प्रभावित क्षेत्रमा ७.१ मेगावट विद्युत उत्पादनका लागि पासगार्ड हाइड्रोपावरको काम पनि अघि बढेको छ । विद्युत उत्पादन गृह नलगाड नगरपालिकाको वडा नं. ७ मा एउटा सुरूङ निर्माण गरिएको छ । आयोजनाको बाँध निर्माणस्थल बारेकोट गाउँपालिकाको अधेरीखोलामा चार वटा सुरूङ निर्माण गरिएको छ । त्यसैगरी नलगाड खोला र ठूलीगढीको दोभान नजिकै भूमिगत दुई वटा पावर हाउस निर्माण गरिएको छ ।
आयोजना अन्तर्गत बारेकोटको अँधेरीखोलादेखि दल्लीसम्म ८.५ किलोमिटर लामो मुख्य सुरुङ र दुईदेखि तीन किलोमिटरसम्मका तीनवटा सहायक सुरुङ बन्नेछन् । पाँच सय मिटर लम्बाई र दुई सय ४८ मिटर अग्लो ड्याम बन्नेछ । जलासयमा ४७ करोड ४० घनमिटर पानी जम्मा हुने जनाइएको छ ।
आयोजनामा चार वटा टरवाइन हुनेछन् । प्रत्येक टरवाइनबाट १०४.२५ मेगावाट विद्युत उत्पादन हुनेछ । आयोजनाबाट उत्पादित विद्युत चार केभी डबल सर्किट प्रसारण लाइनमार्फत् कोहलपुर सवस्टेशनमा जोड्ने योजना रहेको पौडेलले बताए । आयोजनास्थलबाट कोहलपुरसम्म एक सय १२ किलोमिटर लामो प्रसारण लाइन निर्माण गरिनेछ ।
डीपीआरमा उल्लेख भएअनुसार आयोजना सम्पन्न गर्न प्रसारण लाइनबाहेक करिब एक खर्ब ६७ अर्ब लाग्ने अनुमान गरिएको छ । आयोजना निर्माणमा प्रसारण लाइनबाहेक प्रतिमेगावाट ३१ करोड र प्रसारण लाइनसहित ३५ करोड खर्च हुने देखिएको आयोजनाका कार्यकारी निर्देशक पौडेलले जानकारी दिए । जलासययुक्त आयोजना भएका कारण जलासय निर्माणमा बढी खर्च हुने भएकाले अन्य आयोजनामा भन्दा लागत बढी लाग्ने उनको भनाइ छ । यसअघि आयोजनाको अनुमानित लागत एक खर्ब आठ अर्ब २६ करोड रूपैयाँ थियिो । तर समयमै काम सुरु नहुँदा लागत पनि बढ्ने भएको छ ।
रजनी याेगी ।