घरमै पुगेर नागरिकता प्रदान
सुर्खेत: शारीरिक रूपमा अशक्त व्यक्तिहरूलाई घरमै गएर नागरिकता दिन थालिएको छ । कार्यालयमै आउन नसक्ने अवस्थाका नागरिकलाई जिल्ला प्रशासन कार्यालयले पछिल्लो समय घरमै पुगेर नागरिकता प्रदान गर्न थालेको हो । बिहीवार पनि वीरेन्द्रनगर नगरपालिका वडा ११ पिपिराका १७ वर्षीया किशोरी शितला बोहरालाई घरमै पुगेर नागरिकता प्रदान गरिएको छ ।
जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत सूर्य थापाले शितला कार्यालयमा आउन नसक्ने हुँदा प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद सापकोटाको निर्देशनअनुसार घरमै पुगेर नागरिकता प्रदान गरिएको जानकारी दिए । प्रशासनले शारीरिक पूर्ण अशक्त र अपाङ्गता भएकाहरूलाई उमेर पुगेपछि खोजी–खोजी घरमै पुगेर नागरिकता प्रदान गर्ने गरेको उनले जनाए । पछिल्लो एक वर्षको अवधिमा तीन जना अशक्तहरूलाई घरमै पुगेर नागरिकता प्रदान गरिएको छ ।
शितला मस्तिष्क पक्षघातबाट अशक्त भएकी हुन् । दुई वर्ष अघिसम्म घरमै उभिन सक्ने शितला आजकल उभिन नसकी बसिरहने गरेको उनकी आमा भगवती बोहराले बताइन् । राष्ट्रिय अपाङ्ग महासंघको सहजीकरणमा शितलालाई नागरिक प्रदान गरिएको हो । महासंघका जीतलाल ढकालका अनुसार शितलाले ‘क’ श्रेणीको रातो अपाङ्गता परिचयपत्र प्राप्त गरेकी छिन् ।
प्रकाशित मितिः १ असार २०८०, शुक्रबार १५:२४
साझा बिसौनी ।